बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध

RSS
42
Shares

काठमाडौं । बनेपा महाभारत गाउँपालिका-५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पुर्‍याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउछन्  । डाँडापारि क्षेत्रमा सडक सञ्जालले जोडेदेखि नै त्यही क्षेत्रमा बोलेरो चलाएर जीविका चलाउँदै आएका उनि यसपालिको बर्खामा पनि त्यही समस्याले पिरोल्ने गरेको बताउछन् ।

ग्रामीण क्षेत्रमा जसोतसो सडकको पहुँच पुगेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न र खाद्यान्न ढुवानीका लागि सहज भए पनि बर्खायाममा भने बोकेर नै लानुपर्ने बाध्यता छ ।

भएको सडकको पनि उचित व्यवस्थापन नगर्दा सो क्षेत्रमा गाडी चलाएर जीवन गुजारा गर्दै आएका चालकले त्यस्तो समस्या बेहोर्नुपरेको बताउछन् ।

थिङले भने, “यस क्षेत्रमा सडक पुगेदेखि नै यतै गाडी चलाउँदै आएको छु, अहिले पनि बाटो खन्ने कामका लागि तेल ढुवानी गर्छु ।

” यद्यपि त्यसरी बाटो खनेपछि नाली व्यवस्थित नगर्दा र ठाउँठाउँमा जाने पहिरोका बारेमा समयमै नसोच्दा आफूजस्ता चालकले बढी हैरानी बेहोर्नुपरेको उनको भनाइ छ ।

बर्खायाम शुरु भएसँगै जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको लगातारको वर्षाले अधिकांश ग्रामीण सडकमा पहिरो जाने, हिलो हुने र ढिस्को खस्ने गरेका कारण यस क्षेत्रमा यातायात चल्न सकेको छैन ।

वर्षाका कारण काभे्रपलाञ्चोकको विकट डाँडापारिका दुई खानीखोला र महाभारत गाउँपालिकाको केन्द्रसम्म पुग्ने यातायात ठप्प भएको छ । सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा सवारी साधन गुड्न छाडेको हो ।

स्थानीय तहहरूले बजेटको अधिकांश रकम सडकमा हालेको भए पनि त्यसको उचित सदुपयोग र गुणस्तरीय काम नहुँदा समस्या भएको हो ।

सडकको ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका सडक अहिले जताजतै हिलाम्य हुने, माथिबाट ढिस्को झरेर पुर्ने र भत्केको अवस्थामा छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पालिका सदरमुकाम जोड्ने पक्की मोटरबाटो बनाउन नसकेका कारण त्यहाँका बासिन्दाले समस्या भोग्नुपरेको बताउछन् ।

मुख्य राजमार्गदेखि पालिका केन्द्रसम्म पक्की मोटरबाटो जोड्नका लागि रु दुई अर्ब १४ करोड बजेट आवश्यक भएको र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा बर्खायाम लागेसँगै कामको सिलसिलामा पैदल हिँडेर सेवा लिन बाध्य भएको उनले बताए । त्यसका लागि विस्तारै काम भइरहेको उनले बताए ।

अहिले रु ६६ करोडको ठेक्का भइसकेको र बाँकी कामका लागि पनि प्रदेश र सङ्घ सरकारसँग माग गरिरहेको उनले बताए । स्थानीय सरकारले ट्र्याक खुलाएपछि अहिले वाग्मती प्रदेश सरकारले स्तरोन्नतिको काम गरिरहेको छ ।

विपी राजमार्गको पिन्थलीबेँसी हुँदै रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार सडकखण्ड र विपी राजमार्गको चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार–तीनखुट्टे–देवीटार सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ ।

उता खानीखोला गाउँपालिका–६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मानबहादुर गोलेले बर्खायाम शुरु भएसँगै पालिका केन्द्र जोड्ने सडक अवरुद्ध भएको बताएका छन्। सडक अवरुद्ध भएसँगै पालिका केन्द्र जानलाई हिँडेरै जानुपर्ने बाध्यता छ ।

गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि ती मापदण्डानुसारका नहुँदा हरेक बर्खायाममा सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने तर समयमा मर्मत नगरिँदा हरेक बर्खायाममा ती क्षेत्रका सडक अवरुद्ध हुँदै आएको हो । ग्रामीण भेगको यातायात प्रभावित भएसँगै सरदमुकाम र डाँडापारिको दूरी बढेको छ ।

नेपाल सरकारले प्रत्येक पालिका केन्द्र जोड्ने पक्की मोटरबाटो निर्माण गर्ने नीति तथा कार्यक्रम घोषणा गरेको चार वर्ष बितिसकेको भए पनि ती कामलाई प्राथमिकतामा राखेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?