संघीय संसदमा चैत १५ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ, १२ चैत । मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ ।यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सञ्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले सो विषयले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश नपाएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?