कुमारीलाई ‘किस्ता कल’ को कहर (भिडियोसहित)

काठमाडौं- “घरमा खानलाई धौ-धौ छ, बैंकबाट बारम्वार फोन आइरहेको छ । सरकारले न राहत दियो न काम गर्न दियो । बसमा कोरोना नलाग्ने टेम्पुमा लाग्ने हो ! हामी आत्महत्या गरेर मर्नुपर्ने अवस्थामा पुगिसक्यौं ।”

टेम्पुचालक कुमारी लामाको यो आक्रोश र पीडाभित्र अधिकांश सवारी चालकको व्यथा लुकेको छ।

धादिङकी उनी विगत १८ वर्षदेखि टेम्पोलाई नै सारथी बनाएर जिविको पार्जन गर्दै आईरहेकी छिन् । यो पेशामा लागेपछि उनले अरु कुनै पनि पेशामा हात हालिनन्।

साहुको टेम्पु चलाएर बचेको रकममा ऋण थपथाप गरेर उनले केही वर्ष अगाडि एउटा टेम्पु किनेकी थिइन् । टेम्पु चलाएर उनको दैनिक सरदर २५ सय रुपैंयासम्म बचत हुने गर्दथ्यो । यसले उनको ५ जनाको परिवार जेनतेन चलिरहेको थियो।

जब कोरोना भाइरस रोकथाप तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्‍यो त्यसपछि कुमारी लामाको परिवारमा पीडा थपिँदै गयो । गत वर्ष मुस्किलले चार महिना टेम्पो चलाएकी उनी भन्छिन्, “यो वर्ष २ महिनादेखि टेम्पु ग्यारेजमा थन्किएको छ, हामीलाई खानलाई नै धौ—धौ को अवस्था छ ।”

परिवारको हातमुख जोर्ने समस्या त छदँैछ । त्यतिमात्रै कहाँ हो र बैंकबाट आउने तारन्तारको ‘किस्ता कल’ ले उनलाई निकै पिरोल्ने गरेको छ । गत वर्षकै झण्डै ३ लाख ऋण तिर्न बाँकी छ, उनको । अब फेरि दुई महिनाको ऋण थपिने चिन्ताले निन्द्रा हराउन थालेको उनी बताउँछिन्।

 

उपत्यकामा झण्डै साढे तीन सय टेम्पोका चालक महिला छन् । यीमध्ये धेरैजसो एकल महिला छन् । “पुरुष सहितको परिवारलाई त अहिले जीविकोपार्जन गर्न सकस परिरहेको छ भने एकल महिलाले कसरी घर धानिरहेका होलान् ?” कुमारीको यो प्रश्न अलिक कडा सुनिन्छ । अखिल यातायात मजदुर संघले दिएको सहयोगबाट केही राहत मिले पनि त्यसले धेरै दिन घर नधान्ने कुमारीको कथन छ।

२५ सिट भन्दा बढी क्षमताको सार्वजनिक सवारीसाधन संचालन गर्न दिए पनि साना सवारी संचालन अनुमति नदिएकोमा सरोकारवाला सँग उनको दुखेसो छ । स्वास्थ्य मापदण्ड र सरकारी नियम अनुसार सवारी चलाउन तयार रहेको कुमारीको कथन छ । सरोकारवालासँग उनको एउटा जिज्ञासा छ, “ठूलो सवारीमा कोरोना नलाग्ने सानोमा लाग्ने हो र ?”

गत वर्ष पनि आफूहरुले ६ जना मात्रै यात्रु राखेर टेम्पु चलाएको स्मरण गर्दै कुमारी अब पनि त्यसरी नै संचालन गर्न सकिने बताउछिन् ।

काम गर्ने वातावरण मिलाउन नसके सरकारले राहत दिनुपर्ने उनको माग छ । “राहत पनि नदिने,काम पनि गर्न नदिने, अब त आत्महत्या गरेर मर्नुपर्ने अवस्था आइसक्यो,” कुमारी अलिक आक्रोशित सुनिइन्, “अबको केही दिनभित्र काम गर्ने वातावरण नदिए सबै टेम्पु चालकले सरकारलाई साँचो बुझाउने हो ।”

काम गर्ने वातावरण नदिएर आफूहरुलाई सडकमा आउन बाध्य पारेको भन्दै कुमारीले मलिन स्वरमा भनिन्,“त्यसपछिको सबै जिम्मेवार सरकारले लिनुपर्छ ।”

महिला चालकमाथिको सोच विस्तारै बदलिँदै गएको उनको अनुभव छ । विदेशमा बेचिनु भन्दा स्वदेशमा काम गरेर खान चाहने चेलीबेटीको पीडा पुरुष चालकहरुले पनि बुझिदिए सुनमा सौन्दर्यता थपिने उनको विश्वास छ । भन्छिन्, “महिला चालक भएकै कारण यात्रु, ट्राफिक प्रहरी र पुरुष चालकहरुबाट हेपिनु पर्दा निकै पीडावोध हुन्छ।”

कहिले कोरोना,कहिले सरकार त कहिले समाज । महिला टेम्पु चालकलाई पीडा दिन कसैले कसर बाँकी नराख्ने । त्यसमाथि सुको आम्दानी नहुँदा बैंकले तारन्तार गर्ने ‘किस्ता-कल’ झनै कहाली लाग्दो । कोरोनासँग त कुमारी जसोतसो जोगिइन । अबका दिनमा बैंकलाई तिर्नुपर्ने किस्ता उनको अगाडि बडेमाको पहाड बनेर उभिएको छ।

हो । हुँदा खानेको आफ्नै दुख्ख छ,कसले पो बुझ्छ र †

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?