खेल पत्रकारको नाममा

काठमाडौं । जुलाइ २ अर्थात आजको दिन अन्तराष्ट्रिय खेल पत्रकारको दिन ।

संसारभर विभिन्न विधाका खेलकुद लोकप्रिय छन् । र खेल पत्रकारले विश्वका करोडौं मानिसलाई खेलबारे जानकारी प्रदान गर्दै आएका छन् ।

खेल पत्रकारले पत्रकारिताको माध्यमद्वारा विश्वभरि विभिन्न खेलकुदको विकासमा ठूलो टेवा पुर्याउदै यसलाई खेल दर्शक/स्रोता र पाठकमाझ पुर्याएर यसको लोकप्रियता पनि बढाउँदै आएका छन्।

खेल पत्रकारको व्यावसायिक स्तर कायम राख्न विभिन्न संघहरू स्थापना गरिएको छ। ती मध्ये अन्तराष्ट्रिय खेल पत्रकार महासंघ (एआइपीएस) विश्वभरिका पत्रकारको अभिभावक संगठन हो । ‘एआइपीएस’ सन् १९२४ जुलाइ २ का दिन पेरिस ओलम्पिकमा स्थापना भएको थियो । सोही दिनलाई सन् १९९४ देखि अन्तराष्ट्रिय खेल पत्रकारिता दिवसको रूपमा मनाउन थालिएको हो ।

यस दिनमा खेल पत्रकारले दिएको योगदानको पहिचान गरी उनीहरूको कदर गर्ने चलन छ । यो उत्सवले विश्वभरिका खेल पत्रकारलाई नयाँ ऊर्जा तथा हौसला प्रदान गर्दै आएको छ ।

यस्तो छ इतिहास

अन्तराष्ट्रिय खेल पत्रकारिता दिवस ‘एआइपीएस’ले सन् १९९४ मा पहिलो पटक आयोजना गरेको थियो। आफ्नो ७०औं बार्षिकोत्सवको अवसर पारेर ‘एआइपीएस’ले जुलाई २ लाई अन्तराष्ट्रिय खेल पत्रकारिता दिवसको रूपमा स्थापित गरेको हो ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी, फिफा, आइएएएफ जस्ता संगठनहरू ‘एआइपीएस’का साझेदार संगठन हुन् । विश्वभरिका पत्रकारको छाता संगठन ‘एआइपीएस’ले पत्रकारको सम्बन्ध सुदृढ बनाउन मद्दत पुर्याउँदै आएको छ । खेल पत्रकारको कार्यको कदर गर्नु नै यस दिनको प्रमुख उद्देश्य हो ।

‘एआइपीएस’ले विभिन्न कार्यक्रम आयोजना गर्दै सारा संसारमाझ यस दिनको महत्व दर्शाउन चाहन्छ । ‘एआइपीएस’ले आफ्नो मातहतमा रहेका विभिन्न राष्ट्रको खेल संगठनलाई भव्य रूपमा यस दिवस मनाउन आग्रह पनि गर्दै आएको छ । खेल पत्रकारले पुर्याएको सेवा र टेवाको कदर गर्दै उनीहरूको पहिचान गराउनु ‘एआइपीएस’को मनसाय रहेको छ ।

खेल पत्रकारितामा लागिपरेका सम्पूर्ण पत्रकारको मनोबल उच्च बनाउँदै उनीहरूलाई अझै इमान्दारिता पूर्वक खेलमा निस्वार्थ भावनाले काम गर्न प्रेरित गर्नु यस संगठनको लक्ष्य रहेको छ ।

नेपालमा पनि कार्यक्रम

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सन् २००५ मा ‘एआइपीएस’को सदस्यता प्राप्त गरेको थियो । ‘एआइपीएस’को सदस्य भएसँगै ‘एनएसजेएफ’ ‘एआईपीएस’ एसिया क्षेत्रको पनि स्वत सदस्य हुन पुग्यो । त्यस यता ‘एनएसजेएफ’ले हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

‘एनएसजेएफ’का अध्यक्ष दुर्गानाथ सुवेदीले लोकपथसँग कुरा गर्दै यस वर्षको अन्तराष्ट्रिय खेलकुद पत्रकारिता दिवस भर्चुअल माध्यमबाट छलफल कार्यक्रम गरेर मनाउने जानकारी दिएका छन् । अध्यक्ष सुवेदीका अनुसार आज ‘कोभिड क्राइसिस इन स्पोर्ट्स एण्ड रोड टू ओलम्पिक २०२०’ नामक छलफल भएको छ ।

“कोरोना महामारीका बिच आयोजना हुन लागिएको टोकियो ओलम्पिकमा यसले पर्ने प्रभाव बारेमा पनि आज छलफल भयो” अध्यक्ष सुवेदी भन्छन,“यस कोभिडको बेला हुन लागेको ओलम्पिकमा नेपाल तथा सबै राष्ट्रले गर्नु पर्ने फोकस र खेल पत्रकारले अपनाउनु पर्ने सावधानी,सचेतना अनि कर्तव्य आजको अन्र्तक्रियाको मुख्य विषय थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?