धरासायी होटल क्षेत्र : लयमा फर्किन अझै पाँच वर्ष !

कोरोना प्रभावले १४ महिनामा साढे २५ अर्ब रुपैयाँ क्षति

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको होटल क्षेत्र पूर्ण रुपमा प्रभावित भएका छन् ।

पर्यटक लक्षित होटलहरु पर्यटक नै नआउँदा आर्थिक रुपमा अपठ्यारो अवस्थामा पुगेका हुन् । सरकारले कोरोना संक्रमणका कारण २०७६ चैत ११ देखि मुलुकभरी लकडाउन गरेको थियो ।

गत असोज महिनादेखि सरकारले पर्यटन क्षेत्र खोल्ने निर्णय गरेको थियो । केही समय खुल्ला गरेको थियो । तर पर्यटक नै नभएपछि होटल क्षेत्र लयमा फर्कनै सकेन ।

असोजपछि होटल क्षेत्र केही मात्रामा आफुलाई चलायमान बनाउने प्रयास गर्दै थिए । तर कोरोनाको पहिलो लहरबाट माथि उठ्न नपाउँदै पुनः दोस्रो लहर शुरु भएकाले होटलहरुको अवस्था दयनीय बनेको छ । व्यवसाय थला परेसँगै ५ तारे लगायतका साना–ठुला होटलहरुले न आम्दानी गर्न पाएका छन् न घर भाडा तिर्न नै ।

आउँदैनन् पर्यटक

वर्तमान अवस्थामा एकातिर कोरोना संक्रमणको त्रास अर्कोतिर आन्तरिक तथा बाह्य उडानहरु बन्द भएपछि पर्यटक नेपाल आउनै छाडे । विगतका वर्षहरुमा पर्यटकको आगमनको तुलनामा गत वर्षदेखि यता पर्यटक आगमनको ग्राफ हेर्ने हो भने निकै दयानीय छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्ने हो भने गत जनवरीदेखि पर्यटकको संख्या दिनानुदिन घट्दै गइरहेको देखिन्छ । बोर्डका अनुसार गत जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार एक सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५० तथा मे मा एक हजार ४ सय ६८ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटकको कुल आगमनमध्ये सबैभन्दा बढी भारतीय पर्यटक ५३.१० प्रतिशत नेपाल आएको बोर्डको तथ्यांकले देखाएको छ ।

बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार पछिल्लो समय निकै कम मात्रामा पर्यटक आएकाले मुलुकको होटल क्षेत्रले अर्बाै रुपैँया आम्दानी गुमाएका छन् । होटल क्षेत्रको आम्दानी घटेसँगै पर्यटन क्षेत्र प्रभावित भएको प्रवक्ता लामिछानेको भनाई छ ।

जनशक्ति व्यवस्थापन मुख्य चुनौती

कोरोना संक्रमणका कारण होटल क्षेत्र धरासायी भएसँगै यस क्षेत्रसँग सम्बन्धित मजदुरहरु सबैभन्दा मारमा परेका छन् । आम्दानी नै नभएपछि कर्मचारी व्यवस्थापन गर्नै समस्या भएपछि होटल एशोसियशन (हान) र मजदुर संगठनबीच काम नगर्ने कर्मचारीलाई मासिक ५ हजार रुपैँया दिने गरेको हानका महासचिव साजन शाक्य बताउँछन् ।

पर्यटन क्षेत्रमा मुलुकभरी झण्डै १२ लाख श्रमिक आवद्ध छन् । जसमा होटल क्षेत्रमा मात्रै २ लाख भन्दा बढी श्रमिकले काम गरिरहेका छन् । यस क्षेत्रमा १० खर्ब भन्दा बढीको लगानी छ । होटलमा पाहुना नभएपछि लगानी जोखिममा परेको छ ।

मुलुकभरी ३८ वटा तारे होटलहरु, ३ हजार ३ सय पर्यटक स्तरीय, ३ हजार ३ सय ठुला लगानीका होटल तथा रेस्टुरेन्ट र ३ सय २४ सामुदायिक होमस्टेहरु रहेका छन् । यी सबै कोरोनाका कारण पूर्ण रुपमा ठप्प छन् । यति ठुलो संख्यामा होटल तथा रेष्टुरेन्टहरु बन्द हुँदा लाखौँ मजदुर बेरोजगार बनेका छन् ।

मासिक लाखौँ नाफा कमाउने होटलहरुले आफ्नै खर्च समेत धान्न नसक्ने अवस्थामा भएको महासचिव शाक्यको भनाई छ ।
कोरोनाका कारण पर्यटन क्षेत्र पूर्ण रुपमा प्रभावित भएपछि पर्यटन वर्ष २०२० पनि पूर्ण रुपमा प्रभावित भएको छ । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । कोरोनाको संक्रमणसँगै यो लक्ष्य पूरा भएन ।

व्यवसायीका पनि कम छैनन् पिडा

होटल क्षेत्रमा काम गर्ने मजदुर मात्रै होइनन्, व्यवसायीहरु पनि उत्तिकै समस्यामा छन् । कर्मचारीलाई दिने तलब, सरकारलाई तिर्ने कर, व्यवस्थापन खर्च लगायत धान्न व्यवसायीलाई धौ–धौ परेको छ ।

हेर्दा ठुलो होटल छ तर आम्दानी छैन । खर्च व्यवस्थापन गर्न नसकेर व्यवसायीहरु पनि मानसिक तनावमा परेका छन् । ‘‘खर्च धान्न सक्ने अवस्था नै छैन,’’महासचिव शाक्यले भने । व्यवसायीले लाखौँ रुपैयाँ घरभाडा बुझाउनुपर्ने हुन्छ । तर आम्दानी नभएपछि घरभाडा पनि तिर्न सकेका छैनन् । घरभाडा तिर्न नसकेर ठमेल लगायतका कयौँ होटल तथा अन्य व्यवसायीहरु पलायन भइसकेका छन् ।

घट्दो व्यापार बढ्दो घाटा

कोरोनाका कारण होटल क्षेत्रले मासिक रुपमा एक अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति भोग्दै आएको छ । अघिल्लो चैतदेखि भएको लकडाउनदेखि हालसम्म होटल व्यवसाय लयमा फर्कन सकेको छैन । कारोनाको संक्रमण सुरु भएको १४ महिना पूरा भएको छ । यस अवधिसम्म होटल क्षेत्रले कुल २५ अर्ब ३४ करोड रुपैँया बराबरको क्षति भोगेको छ ।

३ सय होटल क्वारेन्टाइनका लागि

सरकारले विदेशबाट आउने नेपाली कामदार तथा पर्यटक जो कोहीलाई पनि १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेपछि होटलहरु विस्तारै क्वारेन्टानमा परिणत भइरहेका छन् ।

हानका अनुसार अहिले ९२ वटा होटलहरु क्वारेन्टाइनमा परिणत भएका छन् । क्वारेन्टाइनको माग बढेसँगै ३ सयको हाराहारीमा क्वारेन्टाइन बनाइने हानले जनाएको छ । पछिल्लो समय क्वारेन्टाइन बनाइएकाले होटलहरुले केही आम्दानी गर्न सकेका छन् । जसले उनीहरुलाई केही मात्रामा भए पनि राहत मिलेको छ ।

सानालाई विभेद

कोरोना संक्रमणका कारण साना ठुला सबै होटल प्रभावित भएका छन् । तर सरकारले ठुला होटललाई राहतको व्यवस्था गरेको तर साना होटल तथा रेष्टुरेन्टहरुलाई विभेद गरेको हानको ठहर छ ।

हानका अनुसार साना लगानीमा खुलेका तथा भाडामा संचालन हुने होटलहरुलाई पनि सरकारले राहत दिनुपर्छ । ‘‘साना व्यवसायीलाई पनि १५ लाखदेखि ५ करोड रुपैयाँसम्म ऋण दिनुपर्छ,’’महासचिव शाक्यले भने । सरकारले त्यस्ता साना होटलहरुलाई पहिले ऋण दिएको छैन । त्यसैले उनीहरुलाई राहत दिलाउन हानले माग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने प्रक्रिया पु-याएर आउने पर्यटन तथा होटल व्यवसायीलाई पुर्नकर्जा उपलबध गराएको दावी गर्छन ।

मौद्रिक नीति मार्फत होटललाई राहत

राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई प्रभावित क्षेत्रका रुपमा सूचिकृत गरेकोे छ । त्यसै अनुसार यस क्षेत्रलाई राहतको व्यवस्था समेत गरेको छ ।
कोरोना प्रभावित पर्यटन तथा होटल व्यवसायीले न्यूनतम २ करोड देखि २० करोड रूपैयाँसम्म पुनकर्जा लिएका छन् । महासचिव शाक्यले अधिकांश ठुला होटलले २० करोड रुपैँया पुर्नकर्जा लिएको बताए । अहिले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तर्जुमाको तयारी गर्दैछ । मौद्रिक नीतिले २० करोडको सीमालाई ५० करोड पु-याउन हानले माग गरेको छ ।

सरकारले दिएको राहत प्याकेजले होटल क्षेत्रले पनि ठुलो राहतको महसुश गरेको भन्दै राहतको सीमा बढाउन माग गरेको छ । आगामी मौद्रिक नीतिमा यस क्षेत्रका लागि थप राहतको व्यवस्था गरिँदैछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चाल आर्थिक वर्षको वैशाखसम्मको तथ्यांक अनुसार कुल एक खर्ब २८ अर्ब ४४ करोड रुपैँया पुर्नकर्जा प्रवाह भएको छ । यस बाहेक करिव २० अर्ब पुर्नकर्जा स्वीकृत भई प्रवाह हुने क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै,राष्ट्र बैंकले ग्राहक ऋणी अन्र्तगत ४५ अर्ब रुपैयाँ पुर्नकर्जा प्रवाह गरेको छ । जसमध्ये २१ अर्ब ८० करोड रुपैँया पर्यटन व्यवसायीले लगेका छन् । यो पुर्नकर्जा ४५ अर्व को ४७.५५ प्रतिशत हो । जसमा यसअघि ९२ वटा ठुला होटलहरुले पुर्नकर्जा लिएको हानले जनाएको छ ।

हानमा ३ हजार ५ सय वटा होटलहरु आवद्ध छन् । ती सबैलाई राहतको व्यवस्था गर्न हानले माग गरेको छ । सरकारले पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराएको छ ।

लयमा फर्किन पाँच वर्ष

कोरोनाले सबैभन्दा बढी क्षति पु¥याएको क्षेत्र हो,पर्यटन तथा होटल क्षेत्र । सरकारले पनि त्यसैका आधारमा राहत प्याकेजको व्यवस्था गरेको छ । सरकारले पनि अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको यो क्षेत्रलाई बचाउने प्रयास गरिरहेको छ । तर होटल तथा पर्यटन क्षेत्र यसरी थपिएको छ कि अब यसलाई लयमा फर्कन पाँच वर्ष लाग्छ । ‘‘पाँच वर्ष भन्दा यता होटल क्षेत्रमा सुधार आउला जस्तो लाग्दैन,’’ शाक्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?