‘लञ्च मिटिङ’ को सन्देश : अबको कांग्रेस नेतृत्व विरासतबाटै !

कांग्रेसको १४ औं महाधिवेशन नजिकिदैँ गर्दा नेताहरुको आन्तरिक कसरत बढ्न थालेको छ । महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

महाधिवेशन आउँदै गर्दा कांग्रेस नेताहरु आफ्नो पार्टीमा आफ्नो राजनीति कसरी सुरक्षित बनाउने भन्ने रणनीतिमा लागेका छन् । नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरु दौडधुपदेखि लिएर लञ्च मिटिङ गर्न थालेका छन् । कांग्रेसमा पुराना गुट उपगुट ब्यूताउने र नयाँ समिकरण बनाउने कसरतमा नेताहरु लागेका छन् । संस्थापन र इतरका नेताहरु आ-आफ्नो आन्तरिक राजनीति जोगाइराख्न क्रियाशील भएका छन् । खास गरी सभापति शेरबहादुर देउवाले आफू सभापतिमा पुन दोहोरिने आकांक्षा सार्वजनिक गरेपछि देउवालाई कसरी रोक्न सकिन्छ भन्ने जोडघटाउमा संस्थापन र संस्थापन इतरका नेताहरु लागेका छन् ।

देउवालाई काउन्टर दिन कांग्रेस राजनीतिमा ऐतिहासिक पारिवारिक लिगेसी बोकेका बीपी कोइराला पुत्र डा.शशांक कोइराला, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधि रणनीति बनाउन लागिपरेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल आफू अझै पनि प्रधानमन्त्री र पार्टी सभापति बन्न नपाएको भन्दै आफूले कांग्रेस सभापति बन्न पाउनु पर्ने बताउँदै आएका छन् ।

यस अतिरिक्त गिरिजा प्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइराला,यस अघि देउवा गुटमै रहेका कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठ र कल्याण गुरुङले पनि सभापतिमा दाबी गरेका छन् । सभापतिमै कांग्रेसमा आकांक्षी धेरै रहेका छन् । यो उनीहरुको बार्गेनिङ हो या पछिसम्मै टिकिरहन्छन भन्ने कुरा महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने समयसम्म थाहा हुने नै छ ।

कांग्रेस नेता डा.मिनेन्द्र रिजाल नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा धेरै जनाले प्रतिस्पर्धा गर्न खोज्नु सुन्दर पक्ष भएको र त्यसले कांग्रेसको आन्तरिक राजनीतिलाई झन बलियो बनाउने बताउँछन् ।

लञ्च मिटिङले उब्जियो शंका

हाल कांग्रेस उपसभापति रहेका विमलेन्द्र निधि,शशांक कोइराला र प्रकाशमान सिंहबीच पछिल्लो समय हुने गरेको लञ्च मिटिङले सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षमा शंका उत्पन्न गराएको छ । तीन जनाको यो नयाँ समीकरण नै हो वा देउवालाई डर देखाउन मात्रै हो भन्ने आशंका छ । देउवाका विश्वास पात्र र उनलाई लामो समयदेखि साथ दिदै आएका विमलेन्द्रले नै उनलाई सभापतिमा चुनौती दिँदा देउवाको जितमा असर पर्ने हो कि भन्ने आंकलन गर्न थालिएको छ ।

ग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार, पार्टीको आन्तरिक राजनीतिमा अघिल्लो महाधिवेशनमा सघाउनेले यसपटक नसघाउने र अघिल्लो महाधिवेशनमा नसघाउनेले यो महाधिवेशनमा सघाउने सम्भावना हुन्छ । पार्टीको आन्तरिक राजनीतिमा यस्ता कुरा सामान्य रहेको घिमिरेको भनाई छ ।

पौडेल गुटमा रहेका प्रकाशमान र पार्टी महामन्त्री समेत रहेका शशांकको विमलेन्द्रसँगको निरन्तर लञ्च मिटिङले पौडेल गुटमा पनि भुइँचालो गएको छ ।

विमलेन्द्रको घरबाट असार ७ देखि शुरु भएको लञ्च मिटिङ ११ गते शशांकको घर हुँदै आज प्रकाशमानकोमा आइपुगेको छ । तीनै वटा मिटिङमा वरिष्ठ नेता पौडेललाई सहभागी गराइएको छैन । उनीहरुले पौडेललाई बाइपास गरेका हुन कि भन्ने शंका उब्जाएको छ ।

कांग्रेस नेता रामकृष्ण यादव पार्टीमा आन्तरिक छलफल, एक अर्कालाई मनाउन खोज्नु र नेताहरुको भेटघाट हुनुलाई अन्यथा रुपमा विश्लेषण गर्न नहुने बताउँछन् । तर अब आउने पार्टी नेतृत्वले देशका जल्दा बल्दा समस्यालाई समाधान गर्न सक्नु पर्ने यादवको भनाई छ ।

नेता त्रय नै अलमलमा

उपसभापति विमलेन्द्र, महामन्त्री डा. शशांक र पूर्वमहामन्त्री समेत रहेका प्रकाशमानबीच पटक–पटक छलफल भएपनि उनीहरुबीच सभापतिको साझा उम्मेदवार को हो भन्ने निर्णय हुन सकेको छैन् । पार्टीको सर्वसम्मत नेतृत्व चयनबारे उनीहरुले कुनै खाका पनि ल्याउन सकेका छैनन् । उनीहरु तीनैजनामा कसले कसलाई सहयोग गर्ने भन्ने कुरा पनि बाहिर आएको छैन् । उनीहरु बीचको साझा उम्मेदवार को हुने र त्यसमा सहमति जुट्ला कि नजुट्ला भन्ने कुराको एकिन भएको छैन् । देउवालाई सभापतिमा चुनौती दिने विमलेन्द्र र गोपालमान मात्रै भएपनि वरिष्ठ नेता पौडेलतिर सभापतिका उम्मेदवार धेरै छन् ।

प्रकाशमान, शशांक, सुजाता, कल्याण, डा.शेखर कोइराला लगायतका पौडेल पक्षका नेताले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । यदि उनीहरुबीच साझा उम्मेदवार टुंगो लागेन र सबैजना सभापतिमा उठे भने त्यसको फाइदा देउवालाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?