धानमा गयो धन : नारा होइन नतिजा आवश्यक (भिडियोसहित)

आज अठारौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव । यो वर्षको नारा छ, ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि ।’ नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाइँदै आएको छ।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले हरेक वर्ष धान दिवस मनाउदै आएको छ भने कृषकहरुले पनि आ आप्mनै परम्परा अनुसार यो दिवस मनाउँदै आएका छन् । असार १५ का दिन एकपटक भएपनि हिलो टेक्नुपर्छ भन्ने मान्यता छ । हिलो खेतमा धान रोप्दै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर रमाइलो गर्ने गर्छन् । त्यसो त समूदायपिच्छे असारका विभिन्न गीतहरु उपलब्ध छ ।

यसका साथै असार १५ का दिन दही चिउरा र अचारको खाजा खाने चलन पनि छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन्।

उत्पादन कति ?

आर्थिक बर्ष २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यसबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागको तथ्यांक छ।

विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको बताइन् । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उनले जानकारी दिइन्।

आर्थिक वर्ष २०७२/७३ मा एक हेक्टरमा ३.१५ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो भने चालु वर्षमा ३.८२ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ। विश्वमा धेरै धान उत्पादन गर्ने २० देशभित्र नेपाल पनि पर्छ।
नेपालमा धान उत्पादन बृद्धिका लागि कृषकलाई प्रोत्साहन र सहुलियत दिनुपर्ने बताउँछन्, कृषिविद् डा. कृष्ण पौडेल । माटोमा प्राङगरिक शक्ति क्षिण हुँदै गएकाले उत्पादन ह्रास हुँदै गएको उनको भनाइ छ। यस्तै विउ र प्रविधिमा अनुसन्धान गरेर, युवा शक्तिलाई कृषि पेशामा आकर्षण बढाउने हो भने नेपालमा खाद्य उत्पादन बढ्ने डा. पौडेलको भनाइ छ।

नेपालमा मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती गरिन्छ। झापा एउटा जिल्लामा मात्र धेरै ठूलो मात्रामा धान उत्पादन गर्न सकिन्छ । त्यहाँ उत्पादन हुने धानलाई हेर्ने हो भने नेपालका अरू २२ वटा पहाडी जिल्लाको भन्दा बढी हुने गर्छ । अब नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरोे) गरी वर्षैभरि धान खेती गर्न सकिने प्रविधिको विकाससमेत भइसकेको छ।

उहिले निर्यात, अहिले आयात

कुनै बेला छिमेकी मुलुक भारतको भोकमरी हटाउँन नेपालले धान निर्यात गर्नु पर्थ्यो ।

सन् १९४३-४४ मा ब्रिटिस इण्डियाको तत्कालीन बंगाल प्रान्तमा भोकमरीले करिव ३० लाख संकटमा परे । १६ नोभेम्बर १९४३ को इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार तत्कालीन प्रधानमन्त्री महाराज जुद्धशमशेर जबराले तत्कालै एक लाख टन खाद्यान्न भारत सरकारलाई नेपालले उपलब्ध गराउने घोषणा गरे । त्यतिवेला नेपालले ब्रिटिस इण्डियालाई एकलाख टनभन्दा बढी धान निर्यात गरेको थियो । यसरी पठाइएको धान भारतमा हारालुछ हुन्थ्यो । भारतमा अनिकाल आउनासाथ भारतीयहरु नेपाल आउने गर्दथे।

यस्तै सन् १९४४ को अन्त्यमा ‘खरिफ प्लान’ अन्तर्गत उपलब्ध प्रतिवेदन अनुसार नेपालबाट दुई चरणमा क्रमशः ८८ हजार र ४५ हजार टन गरी कुल एक लाख ३३ हजार टन धान भारतले आयात गरेको देखिन्छ।

सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धानचामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । जसको त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको तथ्यांक छ।

नब्बेको दशकको सुरुवातसँगै नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । सन् २०१५ मा भारतले ६ अर्ब ३८ करोड अमेरिकी डलर बराबरको एक करोड ९ लाख मेट्रिक टन चामल निर्यात गरेको छ भने नेपालले २१ करोड ५४ लाख डलर बराबरको ५ लाख ३१ हजार मेट्रिक टन धानचामल आयात गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालले २४ अर्ब रुपैयाँ बराबरको धान-चामल आयात गरेको थियो । तर बितेको पाँच वर्षको अवधिमा दोब्बर वृद्धि भएर ४८ अर्बमाथि पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा धान र चामल गरेर १ अर्ब २६ करोड ६४ लाख ८२ हजार २ सय ८३ किलो आयात भएको छ । यस अवधिमा धान-चामल किन्नका लागि मात्रै नेपालीले ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँ बराबर रकम विदेशमा पठाएका छन्।

 


तस्विर/भिडियो : राजेश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?