थला पर्यो पर्यटन : तुरुन्त तँग्रिएला ?

यो १४ महिनामा पर्यटन क्षेत्रले एक खर्ब ४० अर्ब रुपैयाँ क्षति ब्यहोरेको छ

कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्र सहजै उकास्न नसकिने देखिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सरकारले अघिल्लो वर्ष चैत ११ देखि पटक पटक गरी मुलुकैभरी लकडाउन गरेको थियो । त्यस यता मुलुकभरीका उद्योग,कलकारखाना, व्यवसाय सबै पूर्ण रुपमा बन्द भए । त्यसका साथै आन्तरिक तथा बाह्य यातायात तथा उडान सबै पूर्ण रुपमा ठप्प भए । जसले गर्दा आन्तरिक तथा बाह्य रुपमा न त कुनै व्यवसाय हुन पायो न त पर्यटन क्षेत्रले कुनै आम्दानी नै गर्न पायो । मानिसको आगमन र आवजावतले संचालन हुने पर्यटन क्षेत्र आन्तरिक तथा बाह्य रुपमा पूर्ण ठप्प भएपछि यो क्षेत्र पूर्ण रुपमा धारासायी भयो । जसले गर्दा यो क्षेत्रमा ठूलो क्षति भएको छ ।

अहिले यो क्षेत्रका व्यवसायीलाई कसरी आफ्नो व्यवसाय माथि उठाउने भन्ने चिन्ताले सताएको छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल तथा तारे तथा पर्यटकीय होटलहरु प्रशस्त भएकाले बाग्मती प्रदेश पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छ । त्यस्तै,पोखरा,चितवन लगायत हिमाली क्षेत्रका विभिन्न स्थानहरु पनि पर्यटकिय क्षेत्रका लागि निकै महत्वपूर्ण क्षेत्रहरु हुन् ।

मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्र पूर्ण रुपमा प्रभावित हुँदा यस व्यवसायसँग संलग्न व्यवसायी तथा मजदुर मात्रै होेइन,सरकारको आम्दानीमा पनि ठुलो क्षति पुगेको छ । सरकारले बजेट तथा मौद्रिक नीतिका माध्यमबाट यस क्षेत्रलाई प्रशस्त राहत प्याकेजको व्यवस्था गरेको भए पनि तत्काल तंग्रिन सक्ने अवस्थामा छैन,पर्यटन क्षेत्र ।

घट्दै छ पर्यटक आगमन

कोरोनाका कारण आन्तरिक तथा बाह्य उडानहरु बन्द भएपछि पर्यटक आगमनमा निकै ह्रास आयो । नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्ने हो भने गत जनवरी महिनादेखि पर्यटकको संख्या दिनानुदिन घट्दै गइरहेको छ । बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार गत जनवरीमा ८ हजार ८ सय ७४,फेब्रुअरीमा ९ हजार १ सय ४६,मार्चमा १४ हजार ९ सय ७७,अप्रिलमा २२ हजार ४ सय ५० तथा मे मा १ हजार ४ सय ६८ जना पर्यटक नेपाल भित्रिएका थिए । मार्च र अप्रिलमा केही मात्रामा पर्यटक आगमन बढेको देखिन्छ । अन्य समयमा घटेको बोर्डको तथ्यांकले देखाएको छ,जसमा सबैभन्दा बढी भारतीय पर्यटक ५३.१० प्रतिशत नेपाल आएका छन् ।

पर्यटन वर्षलाई धक्का

कोरोनका कारण पर्यटन क्षेत्र लामो समयसम्म उठ्नै नसक्ने गरी थला प-यो । सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने तयारी गरेको थियो । पर्यटन वर्षका लागि सरकारले आन्तरिक तथा बाह्य तयारी पनि गरिरहेको थियो । २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर कोरोनाको संक्रमणका कारण सरकारको योजनामा तुषारापात भयो ।

कोरोनाका संक्रमणका कारण विश्व नै आक्रान्त बनेका बेला सरकारले प्रशस्त मात्रामा प्रचारप्रसार गर्न पाएन । साथै आन्तरिक तथा बाह्य उठान बन्द भएपछि पर्यटक आमगमन नै ठप्प भयो । जसले गर्दा सरकारले पर्यटन वर्ष नै सार्नुप¥यो । यसबीचमा ४ सय ७३ वटा साना ठुला होटल बन्द भए । जसले गर्दा होटल व्यवसायको आन्दानी पूर्ण रुपमा ठप्प भयो ।

पर्यटन विभागका अनुसार ३ हजार ७ सय ४३ ट्राभल एजेन्सी,२ हजार ७ सय ९७ ट्रेकिङ एजेन्सी,४ हजार २ सय ४१ टुर अपरेटर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइड लगायत पूर्ण रुपमा ठप्प भए । जसले गर्दा पर्यटन क्षेत्र धरासायी हुनुका साथै पर्यटन वर्षमा गम्भिर धक्का लाग्यो ।

धान्नै नसक्ने क्षति

कोरोनाका कारण मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंग मानिएको पर्यटन क्षेत्रले अर्बाै क्षति भोग्न बाध्य भएको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पर्यटनसँग सम्बन्धित क्षेत्र होटल,रेष्टुराँ,विमान सेवा,ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतका क्षेत्रबाट मासिक १० अर्ब रूपैयाँ घाटा भइरहेको उल्लेख गरेको छ । यस आधारमा हेर्ने हो भने अघिल्लो चैतदेखि हालसम्म पनि पर्यटन क्षेत्र राम्रोसँग संचालन भएको छैन । त्यो बेलादेखि जेठसम्म कुल १ वर्ष २ महिना पूरा भएको छ । मासिक १० अर्बका हिसावले यो १४ महिनामा कुल १ खर्ब ४० अर्ब रुपैयाँ पर्यटन क्षेत्रले क्षति बेहारेको छ । त्यस्तै,पाँच तारे होटलहरुमा मात्रै मासिक ३ अर्ब रुपैँया हाराहारीमा घाटा बेहोर्दै आएको होटल संघका महासचिव साजन शाक्य बताउँछन् ।

पर्यटन क्षेत्रलाई पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई कोरोनाका कारण अति प्रभावित क्षेत्रका रुपमा सूचिकृत गरेकोे छ । त्यसै अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यस क्षेत्रका लागि राहत प्याकेजको व्यवस्था गरेको थियो । अहिले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तर्जुमाको तयारी गरिरहेको छ । उक्त मौद्रिक नीतिमा पनि अति प्रभावित यस क्षेत्रका लागि थप राहतको व्यवस्था गरिँदैछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्यांक अनुसार कुल एक खर्ब २८ अर्ब ४४ करोड रुपैँया पुर्नकर्जा प्रवाह भएको छ । यस बाहेक करिव २० अर्ब पुर्नकर्जा स्वीकृत भई प्रवाह हुने क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै,राष्ट्र बैंकले ग्राहक ऋणी अन्र्तगत ४५ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ । जसमध्ये २१ अर्ब ८० करोड रुपैँया पर्यटन व्यवसायीले लगेका छन् । यो पुनर्कर्जा ४५ अर्व को ४७.५५ प्रतिशत हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले प्रक्रिया पु¥याएर आउने पर्यटन व्यवसायीलाई पुर्नकर्जा उपलब्ध गराएको बताए । सरकारले पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराएको छ । कोरोनाको महामारीबाट प्रभावित पर्यटन तथा होटल व्यवसायीले न्यूनतम २ करोड २० करोड रूपैयाँसम्म पुनकर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । होटल संघका महासचिव शाक्यले अधिकांश ठुला होटलले २० करोड रुपैँया पुर्नकर्जा लिएको बताए । साना तथा पर्यटकिय स्तरका होटलहरुलाई पनि पुर्नकर्जा दिनुपर्ने महासचिव शाक्यको माग छ ।

पुनर्जीवनको आश

सरकारले अघिल्लो बर्ष चैत ११ देखि मुलुकभरी लकडाउन गरी ठप्प पारेको थियो । सरकारले भदौदेखि मात्रै बाह्य उठान गर्ने निर्णय गरेको थियो । यातायात खुलेपछि केही मात्रामा चहलपहल बढ्न थालेको थियो । त्यसैबिचमा कतार तथा बहराइनका राजकुमारलाई हिमाल आरोहण गरेका थिए । राजकुमारहरुको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रका बारेमा विश्वभरी सकारात्मक सन्देश दिएको थियो । त्यसँगै सरकारले गत कात्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा खुला समेत गर्‍यो।

गत मंसिर १ देखि पर्यटन क्षेत्रका सबै गतिविधि खुला गरेपछि पर्यटन क्षेत्रले पुर्नजीवन पाउने आशा गरिएको पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने बताउँछन् । कोरोनाको पहिलो लहर सकिन नपाउँदै दोस्रो लहर सुरु भएकाले पर्यटन क्षेत्र थप प्रभावित भएको बोर्डको भनाई छ ।

अबको केही समयमा कोरोना संक्रमण घट्दै जाने हो भने पर्यटन क्षेत्रले केही मात्रामा भएपनि राहत हुने पर्यटन व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?