‘प्रतिस्पर्धा गर्दा बुढा वा युवा जसले पनि जित्न सक्छन्’ (भिडियोसहित)

लोकपथ
4.1k
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने तय भएको छ । महाधिवेशन नजिकिएसँगै कांग्रेस भित्रको आन्तरिक राजनीति तात्न थालिसकेको छ । नेताहरु आ–आफ्ना गुटलाई कसरी मिलाउने र आफ्नो राजनीति पार्टीमा कसरी सुरक्षित बनाउने रणनीतिमा लागेका छन् । कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले कांग्रेस नेता डा.मिनेन्द्र रिजालसँग गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसको १४ औँ  महाधिवेशन नजिकिदै छ ? तयारी के भइरहेको छ ?

क्रियाशिल सदस्यता बाड्ने काम प्राय सकियो । केही ठाउँमा बाँकी छ । क्रियाशील सदस्यता नवीकरणको काम पनि केही ठाउँको बाँकी छ । सदस्यता नपाउनेले पायो र पाउनै पर्ने व्यक्तिले पाएन भन्ने गुनासो छ । त्यसमा उजुरी परेका र उजुरीको छानबिन गर्न कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले काम गरिरहेको छ । समितिले काम सक्ने बित्तिकै कांग्रेसको मतदाता नामावली तयार हुन्छ ।

कांग्रेसको क्रियाशिल सदस्यतामा किन सधै विवाद भइरहन्छ ?

विवाद छैन । त्यो त प्रक्रिया हो नि । जस्तै निर्वाचनका लागि देशभरका मतदाताको नामावली आयो भने नाम छुट भयो, नाम र ठेगाना मिलेन भने त्यसमा उजुरी तथा दावी गर्ने अवसर र समय भए जस्तै कांग्रेसमा पनि त्यस्तै भएको हो । कांग्रेसको महाधिवेशनमा सबैभन्दा पहिला ६ हजार ७ सय ४३ जना पार्टीका वडा अध्यक्ष चुनिन्छन् त्यसमा कार्यसमिति सदस्य,समावेशिताका जस्ता कुरा पनि छन् । यो अवस्थामा सबैले निर्वाचनमा भाग लिएर आफूले जित्ने चाहना राखेका हुन्छन् । कांग्रेसको महाधिवेशन आउँदा देशैभर हरेक चोक–चोकमा त्यसको चर्चा हुन्छ । यो अवस्थामा क्रियाशील सदस्यका निकै महत्व हुन्छ । बाहिर हल्ला गरेजस्तो क्रियाशिल सदस्यता बिवाद भन्ने होइन । नयाँ वितरण र नवीकरणमा देखिएका समस्या सुल्झाउने हो । यो हरेक महाधिवेशनमा हुने नियमित काम हो ।

१४ औँ  महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्ने सम्भावना छ ?

सम्भावना तपाईहरुले आँकलन गर्ने हो । हाम्रो काम सम्भावनाको हैन, परिवर्तन गर्न चाहे उम्मेदवार खडा गर्ने हो । हामीले परिणाम निकाल्ने हो । हामीले गरेको कामबाट त्यो पार लाग्न पनि सक्छ,नलाग्न पनि सक्छ ।

कांग्रेस बुढाहरुकै हातमा रहयो, युवापुस्ताले कहिले पाउला त नेतृत्व भन्ने आम चासोबारे तपाईको टिप्पणी ?

नेतृत्व प्रतिस्पर्धा गरेर लिने हो । प्रतिस्पर्धा नगरी त नेतृत्व पाइदैन । प्रतिस्पर्धा नगरी नेतृत्व लिने त राजतन्त्र भएको मुलुकमा उसको सन्तानले गर्छ । तर राजनीतिक दलमा त्यस्तो हुदैन । प्रतिस्पर्धा गर्दा बुढाले नि जित्न सक्छन् । युवाले पनि जित्न सक्छन् । बुढाले ‘ल म त बुढो भँए’ भनेर दिदैनन् । युवाले पनि ‘ओहो तपाई त बुढो हुनुभएछ,तपाइनै गर्नुस म चुप बस्छु’ पनि भन्दैनन् । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । सबैले आ–आफ्नो क्षमता अनुसार पार्टीमा योगदान गर्ने हो ।

पार्टी नेतृत्वको लागि मापदण्ड बनाउन सकिदैन र ? यो उमेरसम्म नेतृत्व गर्ने भनेर ?

मापदण्ड बनाएर नेता छानिदैन । प्रतिस्पर्धाबाट जो पनि अघि आउन सक्छ । मापदण्डको कुरा गर्नु निरर्थक हो ।

कांग्रेसमा पार्टी सभापतिका आकांक्षी थुप्रै देखिएका छन त ?

प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धाका लागि उम्मेदवार जति भए पनि केही फरक पर्दैन । अन्तिममा प्रतिस्पर्धा मार्फत जित्ने भनेको एक जनाले हो । कांग्रेस विधानको सुन्दर पक्ष भनेकै त्यहाँ उल्लेखित प्रक्रिया अनुसार धेरै उम्मेदवार भएता पनि उनीहरुले आवश्यक मत प्राप्त गर्न सकेनन् भने बढी मत ल्याउने दुईजनाबीच प्रतिस्पर्धा हुन्छ । जसले तोकिएको प्रावधान अनुसार मत प्राप्त गर्छ त्यही नै कांग्रेस सभापति बन्छ । धेरै उम्मेदवार हुँदा बढी भोट ल्याउनेले जित्छ भन्ने हैन । एउटा सिंगो कांग्रेस पार्टीभित्र कांग्रेसका नेताबीच नै स्वस्थ प्रतिस्पर्धा हुने हो ।

कांग्रेस एकजुट छ भन्नु हुन्छ तर कांग्रेसभित्र गुट उपगुट छन नि त ? कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुत छैन भन्ने गुनासो पनि बारम्बार सुनिन्छ ?

हाम्रो पार्टीमा सुन्दर पक्ष भनेकै मज्जाले प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा गर्दा मैले जित्छु भन्ने हो । जिते भने सहयोग लिने हो । हारेको खण्डमा सहयोग गर्ने हो । कम्यूनिष्टको जस्तो हाम्रो पार्टीमा हुँदैन ।

कांग्रेस आफै गुट उपगुटमा विभाजित भएका बेला आम जनताका समस्या कसरी उठाउन सक्ला त ?

जनताले कोरोनाको महामारीबाट राहत खोजेका छन् । सबैले खोप लाउन पाएका छैनन् । सरकारका कारण बेथिति बढेको छ । प्रतिनिधि सभा बिघटन भएको छ । हामीले जनताका आवाज उठाउने थलो प्रतिनिधि सभा विघटन हुँदा ती आवाजहरु उठाउन सकेका छैनौ । प्रतिनिधि सभा रहेको भए जनताका समस्या तत्काल सम्बोधन गर भनेर कांग्रेसले सरकारलाई कराउन सक्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा प्रतिनिधि सभा विघटन हुँदा जनताका आवाज उठाउने ठाउँ बन्द भएको छ । तर त्यसका बाबजुद पनि हामीले कसरी हुन्छ आम जनताका समस्यामा ध्यान दिन भनेर सरकारलाई झकझक्याउने काम गरेका छौ । ओलीले जसरी पनि आफू सत्तामा चाहि बसिरहने तर जनताका समस्यामा ध्यान नदिएकै कारण देशमा संकट आइलागेको छ । यो अवस्थामा कांग्रेस माथि जनताको ठूलो जिम्मेवारी छ ।

मलाई विश्वास छ सर्वाेच्च अदालतले संविधानको रक्षा गरेर प्रतिनिधि सभा पुनस्र्थापना गर्छ, शेरबहादर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि महाधिवेशन पनि सम्पन्न गरेर हामी देश र जनताका समस्यालाई समाधान गर्दै अघि बढ्ने छौ र कांग्रेसलाई आम जनताको भरोसाको केन्द्र बनाउने अभियानमा अझ बढी केन्द्रित हुनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?