कहिले खुल्छ लामो दुरीका यातायात ?

सरकारले लामो दुरीको सार्वजनिक यातायात संचालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीको संक्रमण अझै कायमै रहेको भन्दै अहिलेसम्म बन्द अवस्थामा रहेका सार्वजनिक यातायात खोल्ने तयारी गरेको हो ।

कोरोना संक्रमणदर घट्दै गएको छ तर सरकारले जनश्वास्थ्यका मापदण्ड लागू गर्दै लामो दूरिको यातायात सञ्चालनको तयारी गरेको हो ।

त्यसो त आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाभित्र छोटो दुरिको सार्वजनिक यातायात जोरविजोरका आधारमा संचालन गर्ने निर्णय गरिसकेको छ । नेपालमा गत वर्षको फागुनदेखि फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न सरकारले अघिल्लो चैत ११ गतेदेखि नै मुलुकैभरी लकडाउन गरेको थियो । लकडाउन भएको लामो समयसम्म पनि सार्वजनिक यातायात सांचालन हुन सकेका थिएनन् ।

त्यतिबेलादेखि नै मारमा परेको यातायात क्षेत्रले राम्रोसँग शिर उठाउन नपाउँदै पुनः दोस्रो लहर सुरु भएकाले सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गते देखि निषेधाज्ञा गर्ने घोषणा गर्‍यो । सो निषेधाज्ञा पटक पटक गरी थपिएको छ । पछिल्लो पटक थपेको निषेधाज्ञा असार २१ गतेसम्मका लागि कायम गरिएको छ। सरकारले छोटो दुरिको सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपनि लामो दुरिको भने संचालन गर्ने निर्णय गरेको छैन । यतिबेला सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुको बैठक चलिरहेको छ । सो बैठकले लामो दुरिको यातायात संचालन गर्ने विषयमा निर्णय गर्नेछ ।

यसअघि छोटो दुरीका सार्वजनिक यातायात संचालन नभइरहेका बेला लामो दुरीको सार्वजनिक यातायात पनि तत्काल संचालन नगर्ने पक्षमा सरकार थियो । तर एकातिर यातायात मजदुरको दवाब र अर्कातिर कोरोनाको संक्रमण पनि विस्तारै घट्दै गएपछि सरकारले लामो दुरिको सार्वजनिक सवारी पनि संचालन गर्ने तयारी गरेको हो । एक साताअघि सरकारले थप गरेको निषेधाज्ञाले जनजीवनलाई केही खुकुलो बनाएको थियो । जसले गर्दा अहिले अधिकांश प्रकारका पसलहरुलाई समय र बार अनुसार खुला भइरहेका छन् । होटेल तथा रेष्टुराँहरुलाई पनि टेक अवे शुरु गर्न अनुमती दिइएको छ । निजी सवारी साधन पनि जोरविजोरका आधारमा खुला गरिएको छ ।

तर सिनेमा हल, मठ मन्दिर, स्कुल कलेज,सपिङ मल, लगायत मानिसको धेरै भिडभाड हुने ठाउँहरु अझै खुल्न सकेका छैन । बढी भीडभाड हुने सार्वजनिक यातायातलाई खोल्नुपर्ने विषयमा संबन्धीत निकायबीच छलफल चलिरहेको थियो । लामो दुरिको सार्वजनिक यातायात कहिले खुल्छ भन्ने यकिन नभए पनि खोल्ने तयारीमा सरकारले जुटेको छ ।

संचालनको वातावरण बनाउन व्यवसायीको हारगुहार

लामो समयसम्म यातायताका सवारी साधान संचालन नहुँदा कुहिने, खिया लाग्ने तथा नष्ट हुने भएका छन् । त्यसैले आजको भोली निर्णय गरेर सवारी साधन सडकमा निकाल्न मिल्ने अवस्था नभएको व्यवसायीको भर्नाइ रहेको छ ।

यस क्षेत्रमा कार्यरत हजारौँ मजदुर तथा व्यवसायीहरुको जीवन दयनीय भइरहेको छ । त्यसैले पनि सार्वजनिक यातायात संचालनको विकल्प छैन । तर सरकारले संचालनको वातावरण बनाइदिन व्यवसायीले माग गरिरहेका छन् । ‘‘आजको भोली निर्णय गरेर गाडी निकाल्न सकिन्न,सरकारले वातावरण बनाइदिनुपर्छ ।’’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासंचिव सरोज सिटौलाले भने । व्यवसायी स्वास्थस व्यवस्थी मापदण्ड पूरा गरेर मात्रै सार्वजनिक यातायात संचालनको व्यवस्था गर्नुपर्ने सिटौलाले बताए । प्रभावकारी ढंकले व्यवस्था गर्न आग्रह गरे । कोरोनाको संक्रमण बढे पुनः बन्द गर्न तयार रहेको भन्दै सरकारले यस क्षेत्रमा आवद्ध मजदुरलाई राहत प्याकेजको व्यस्था गर्न आग्रह गरे । आन्तरिक उडान खुरिहेका बेला सार्वजनिक सवारी नखोलेर विभेद गरिरहेको उनको भनाई छ । ‘‘रातो प्लेटको होइन कालो प्लेटको सवारीलाई प्रथामिबता दिनुपथ्र्यो । तर सरकारले त्यसो गरेन । यहाँनेर नै विभेद भयो ।’’ सिटौलाले भने । निजी सवारी साधनहरुले सर्वसाधारणलाई १० हजार रुपैयाँ लिएर ठगी गरिरहेका छन् । त्यसको न्युनिकरणका लागि पनि सबै प्रकारका सार्वजनिक यातायात खोल्नुपर्ने व्यवसायीको माग छ ।”

जनताको १० खर्बको जिम्मा कसले लिने ?

यातायात क्षेत्रमा १० खर्ब भन्दा बढीको लगानी छ । जसमा ८० प्रतिशत बैंकको र २० प्रतिशत व्यवसायीको लगानी छ । यदि सरकारले यातायत क्षेत्रका लागि तत्काल केही व्यवस्था नगर्ने हो भने सर्वसाधारणको लगानी डुब्ने निश्चित भएको व्यवसायीको गुनासो छ । ८० प्रतिशत लगानी गरेका बैंकहरुमा सर्वसाधारणको लगानी छ । यदि बैंकको लगानी डुब्यो भने स्वतः सर्वसाधारणको लगानी डुब्ने व्यवसायीको भनाई छ । त्यसैले यस क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेर राहत प्याकेजको व्यवस्था गर्नुपर्ने महासचिव सिटौला बताउँछन् ।

यस क्षेत्रमा १० लाख भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । लामो तथा छोटो दूरीका गरी करिब ४ लाखभन्दा बढी साना तथा ठूला सार्वजनिक यातायातका छन् । यी सवारी लामो समय ग्यारेजमा थन्किदा खिया लाग्ने, बिग्रिने, चुहिने भएका छन् । सवारी साधनहरु अब कौडीको भाउमा जाने अवस्था भइसकेकाले त्यसतर्फ सरकारको ध्यान जानु जरुरी भएको व्यवसायीको भनाई छ ।

यसो भन्छ सरकार

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएसमी) ले सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ । सार्वजनिक यातायात संचालन गर्ने विषयमा छलफल भइरहेको र त्यसको जिम्मा गृह मन्त्रालयलाई दिएको सीसीएमसीका प्रवक्ता कृष्णहरी पुष्करले बताए ।

कोरोनाको संक्रमणको दर घट्दै गए पनि जोखिम अझै रहेकाले तत्काल सार्वजनिक यातायात संचालन गर्न समस्या हुने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । तर सबैको सहमति भयो भने खुल्न सक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?