एकाराम सिं : अब एकादेशको कथा बनेका सांस्कृतिक धरोहर

बरिष्ठ चित्रकार तथा संस्कृतिविद् एकाराम सिंको गत जेठ २४ मा निधन भयो । कोरोना भाइरस (कोभिड १९)को संक्रमणपछि काठमाडौंको करुणा अस्पतालमा भर्ना भएका ५७ वर्षिय सिंको उपचारको क्रममा निधन भएको हो।

उनको बिदाइले नेपाली कला, इतिहास र सांस्कृतिक क्षेत्रमा अपूर्ण क्षति पुगेको छ । २०२१ माघ २९ मा काठमाडौंमा जन्मिएका उनले  जीवनकालको अमूल्य समय खोज अनुसन्धानमै बिताए । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिवसमेत रहेका सिं नेपाल बाल साहित्य समाजका सदस्य पनि थिए।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गरेका सिंले नेपाली इतिहास र पुरातत्व विषयमा स्नात्तकोत्तर गरेका थिए । चर्चित तिब्बती कलाकार दोर्जे लामाबाट परम्परागत चित्रकारिता सिकेका उनले सन् १९८५ देखि चित्र कोर्न थालेका थिए ।

थुप्रै सामाजिक संघसस्थाहरुमा आवद्ध उनले बाल साहित्य, चित्रकला र ऐतिहासिक खोज अनुसन्धान सम्बन्धी थुप्रै पुस्तकहरु प्रकाशन गरेका छन् । उनले पछिल्लो पटक ‘मूर्ति बनायो, हात गुमायो’ नामक चित्रकथा प्रकाशन गरेका थिए।

जसले चिनाए नेवा संस्कृति र दर्शन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य,सिं ‘प्रतिभाशाली एवं सिद्धहस्त’ ब्यक्तित्व भएको बताउँछन् । भन्छन्, “उनी एक प्रतिभाशाली एवं सिद्धहस्त, मेरो धेरै कार्यमा साथ सहयोग दिइरहेका, मेरो प्रिय विद्यार्थी, सालिन, सरल र परिश्रमी, मिलनसार र इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील एबं बाल साहित्यमा सक्रिय रहेका वरिष्ठ चित्रकार ।”

सिं नेवा सांस्कृतिक अभियन्ता तथा नेवार कला र परम्पराका ज्ञाता समेत हुन् । उनले नेवारी कला, लिपी, संस्कृति, रहनसहन र परम्पराका विषयमा विशेष खोज अनुसन्धान गरेका छन् । सिंले नेवार संस्कृति र दर्शन झल्काउने थुप्रै चित्रहरु बनाएका छन्।

सिंले पछिल्लो पटक काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमका लागि काठमाडौंको कला, संस्कृति र परम्परा झल्कने चित्रहरु बनाएका थिए । काठमाडौं महानगरभित्रका विद्यालयमा नेपालभाषा अध्ययन शुरु हुनुमा उनको योगदान महत्वपूर्ण मानिन्छ । सिं को निधनले नेवार समूदाय मात्रै नभएर नेपालको कला, संस्कृतिमा नै ठूलो क्षति पुगेको बताउँछन्, ज्यापु महागूठीका अध्यक्ष राजभाइ जकमी ।
सिंसँग २० वर्ष सँगै काम गरेका सौभाग्य प्रधानांग उनलाई सहकर्मी मात्रै नभई सल्लाहकार, अभिभावक, शालिन ब्यक्तित्वका खानी मान्छिन् । भन्छिन्, “निकै सरल र सालिन स्वभावका उहाँ मेरो सहकर्मी मात्रै नभएर सल्लाहकार र अभिभावक पनि हुनुहुन्थ्यो ।”

मकवानपुरको थाहानगरपालिका ६ का प्रमोद जोशी पनि सिंको निधनले टिष्टुङलाई अपुरणीय क्षति पुगेको बताउँछन् । भन्छन्, “यो क्षेत्रमा जे जति ऐतिहासिक तथ्य फेला परेका छन्, त्यसमा उहाँको योगदान अमूल्य छ । टिष्टुङमा पर्यटन विकास र त्यहाँका महिलाहरुको सशक्तिकरणका लागि उनको योगदान अविष्मरणीय रहेको बताउँछन् जोशी ।

सिं नेपाल आँखा दान समाजका सदस्य पनि हुन् । नेपालमा आँखा दानको अभियान सुरुआत हुनुमा उनको महत्वपूर्ण भुमिका रहेको बताउँछन् उनका सहकर्मी निर्मल बज्राचार्य । यस्तै नेवा देया दवुका अध्यक्ष नरेश ताम्राकार नेवार समूदायभित्रको जातीय भेदभाव अन्त्य गरी एकताबद्ध गर्न सिंले चालेको कदम निकै महत्वपूर्ण रहेको बताउँछन् ।

जसले गरे, शखधर साख्वाको परिकल्पना

सिं चित्रकार र संस्कृतिका अनुसन्धानकर्ता मात्रै नभएर परिकल्पनाकार पनि हुन् । गहिरो खोजअनुसन्धान गर्ने र त्यसका तथ्यमा रहेर चित्रमा परिकल्पना गर्न माहिर थिए, सिं ।

उनले नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक शंखधर साख्वाको परिकल्पना समेत गरेका थिए । यस्तै उनले भग्नावशेषमा परिणत भएको टिष्टुङ दरवारको गहन खोज अनुसन्धान गरी परिकल्पना समेत गरेका थिए । सिंले परिकल्पना गरी बनाएको चित्र नै नयाँ पुस्ताका लागि अमूल्य ज्ञान हुने बताउँछन् टिष्टुङका प्रमोद जोशी।

यस्तै सिंले चालेको अर्काे महत्पूर्ण कदम हो, हराएका ऐतिहासिक चित्रहरुको खोज अनुसन्धान । सन् २०१४ मा उनले ‘रिक्रियशन पेन्टिङ अफ आर्ट एण्ड आर्कीटेक्चर’ नामक तीन दिने चित्रकला प्रदशर्न गरेका थिए । काष्ठमण्डपभित्र ती मूर्तिहरुको चित्र प्रदर्शन गरेका थिए । जसमा २५ वटा चित्र समावेश थिए । सिं विश्वका विभिन्न सग्रहालयमा रहेका चित्रहरुको अवलोकन र खोज अनुसन्धान गरी त्यसलाई चित्रमा उतारेका थिए । साथै उनले उक्त चित्रको ऐतिहासिक महत्व, वस्तुस्थिती समेटेर पुस्तक पनि तयार पारेका थिए ।

विश्वका कुनाकाप्चामा रहेका चित्रहरुको अवलोकन सम्भव नहुनेहरुका लागि सिंको चित्र महत्वपूर्ण खुराक भएको बताउँछिन् उनका सहकर्मी सौभाग्य प्रधानांग ।

उनले नेपालको कला संस्कृतिका विषयमा थुप्रै डकुमेन्ट्रीहरु समेत बनाएका छन् । नारायणहिटी संग्रहालयका सहिदहरुको मूर्ति बनाउनेदेखि नेपाल राष्ट्रिय जातीय संग्रहालयका लागि ११ जनाको मूर्ति बनाउने काममा नेतृत्वदायी भूमिका निभाएका थिए ।

थुप्रै चित्रकार जन्माएका सिंले दर्जनौ संघसंस्थाका लोगोहरु रचना गरेका छन् । नेपालमा पुस्तकको कभरमा चित्र बनाउन उनी चर्चित थिए । अहिले बजारमा उपलब्ध नेवारी संस्कृति झल्किने चित्रहरुको श्रेय उनलाई नै जान्छ ।

अधुरै रहयो त्यो इच्छा

निकै सरल, शालिन स्वभाव ब्यक्ति थिए, सिं । उनका लागि टिष्टुङ पानी पधेरो जस्तै । त्यसो त उनकै पहलमा टिष्टुङ मिसा खल र मकवानपुर जनजाती अध्ययन समूह स्थापना भएको थियो ।

यस्तै गोपाली समुदायको खोज अनुसन्धान र उत्थानका लागि पनि उनको योगदान अतुलनीय छ । उनले ढुंगेधाराको संरक्षण, बुद्धको मूर्ति स्थापना, वनजंगल संरक्षण सम्बन्धी डकुमेन्ट्री निर्माण, टिष्टुङ दर्पण पुस्तक प्रकाशन, बाजा संरक्षणको लागि अभियान संचालन, टिष्टुङ संग्रहालय सञ्चालन जस्ता महत्वपूर्ण कदमहरु चालेका थिए।

सहकर्मी निर्मल बज्राचार्यका अनुसार सिं राति ९ बजे सुतिसक्थे भने बिहान २ बजे उठिसक्थे । बिहानको २ बजेदेखि चित्रकलाको काम गर्ने र दिउँसोको समयमा विभिन्न समूदायमा घुमफिर गरी खोज अनुसन्धान गर्ने उनको कार्यशैलीबाट पाठ सिक्नुपर्ने बताउँछन्, बज्राचार्य ।

सिंले छोटो समयमा ठूलो योगदान दिएर छाप छोडेको नेवा देया दवुका अध्यक्ष नरेश ताम्राकारको भनाइ छ । सिंले भक्तपुरस्थित  निजी जग्गामा नेवा संस्कृति संग्रहालय बनाउने प्रस्ताव राखेको ताम्राकार बताउँछन् । सिंको अधुरो इच्छाहरु कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरी निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ । यस्तै सिं को अर्काे सपना थियो, चित्रकला संग्रहालय बनाउने ।

यस्तै उनीसँग थुप्रै खोज अनुसन्धानका पाण्डुलिपी तयारी अवस्थामा रहेको धेरैको अनुमान छ । त्यसलाई मूर्तरुप दिनुपनि उनको सपना साकार पार्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?