यातायात व्यवसायीका दुःख : बैंकको फोन आतंकले हैरान

काठमाडौं । लामो समय व्यवसाय गर्न नपाएका यातायात व्यवसायी यतिबेला बैंकको फोनले आतंकित हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको साँवा ब्याज तिर्न व्यवसायीलाई फोन गर्न थालेपछि व्यवसायीहरु आतंकित बन्न थालेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म सार्वजनिक यातायात संचालन हुन सकेका छैनन् । यस्तो अवस्थामा पनि बैंकहरुले फोन गरेर दुःख दिन थालेको व्यवसायीले गुनासो गरेका छन् । गत वर्षको चैतदेखि सरकारले गरेको लामो लकडाउनमा यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो ।

कोरोनाको पहिलो लहरको प्रभावबाट माथि उठ्न नपाउँदै पुनः दोसो लहर सुरु भएका कारण यातायात व्यसाय चौपट भएको छ । आफ्नो घरपरिवार पनि चलाउनै समस्या भएका बेला बैंकले फोन गरेर तनाव दिने गरेको व्यवसायीले गुनासो गर्न थालेका छन् ।

गोपाल श्रेष्ठ पश्चिम नेपाल यातायात क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनी त्यस क्षेत्रका व्यवसायी हुन् । उनले एनएमबी बैंकबाट ऋण लिएर बुटवल देखि काठमाडौंसम्म चल्ने लामो दुरीका दुई वटा बस निकाले । यातायात संचालन हुँदा त उनलाई बैंकको किस्ता तिर्न समस्या भएको थिएन । तर गत वर्षदेखि यता पटक पटकको बन्दका कारण बसले आम्दानी नै नगरेका कारण बैंकको ऋण तिर्न समस्या भएको उनी बताउँछन् । यातायात संचालन नभएका बेला पनि बैंकले फोन गरेर दुःख दिइरहेको उनको गुनासो छ । ‘‘अहिले बैंकले दिनदिनै फोन गरेर हैरान बनाइसके ।’’ व्यवसायी श्रेष्ठले भने । आम्दानी नभएर घर खर्च चलाउन पनि गाह्रो भइरकेका बेला बैंकले फोन गर्दा यातायात व्यवसायीहरु मानसिक तनावमा परेको उनले बताए ।

बुटवल–काठमाडौं रुटको लामो दुरीको यातायात सांचालन गर्ने अर्का व्यवसायी हुन् ,भक्तिराम शर्मा । उनलाई पनि बैंकले फोन गरेर हैरान पारेका छन् । ‘‘बैंकको फोन आउँदा पनि मन झसंग हुन्छ ।’’ उनले भने । नेपाल बंगलादेश बैंक,हिमालयन बैंक तथा एनएमबी बैंकबाट उनले गाडी निकालेका छन् । यी सबै बैंकले आलोपालो फोन गर्दा उनलाई मानसिक तनाव भएको छ । ‘‘कहिले कुन बैंकले त कहिले कुन बैंकले फोन गर्छन् ।’ व्यवसायी शर्माले भने । व्यवसायीले लगातार कर तिर्दै आइरहे पनि सरकारले यस्तो संकटका बेला कुनै सहयोग नगरेको उनले गुनासो गरे । अव यातायात व्यवसायीसँग कुनै विकल्प नभएको र बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्ने अवस्थामा पुगेको व्यवसायी शर्मा बताउँछन् ।

सरकारले गत वर्ष को चैत ११ गतेदेखि गरेको लकडाउनका कारण यातायात क्षेत्र उठ्नै नसक्ने गरी थला परेको थियो । व्यवसायीहरुले ग्यारेजमा गाडी थन्क्याएर राखे । जसले गर्दा गाडी राखिएको ठाउँमै कुहिए, खिया लाग्ने भएर बिग्रिए । जसका कारण यो क्षेत्रको अर्वौ रुपैँया लगानी संकटमा पर्‍यो। त्यसैले यो क्षेत्र टाँट पल्टिने अवस्थामा पुगेको यातायात व्यवसायीको गुनासो छ । यस्तो बेलामा पनि बैंकले फोन गर्न नछोडेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘‘ बैंकले अटोम्याटिक म्यासेज राखेको छ ,महिना पुग्ने वित्तिकै सबैलाई म्याजेज आउँछ ।’’ उनले भने । बैंकले ऋण तिर्न फोन तथा एसमएएस दुबै माध्यमबाट व्यवसायीलाई दुःख दिइरहेको महासचिव सिटौला बताउँछन् ।

अब बैंकलाई ताला चाबी बुझाउँछौँ : 

बैंकको ऋण तिर्ने अवस्था नभएपछि व्यवसायीले बैंकलाई गाडीको तालाचाबी बुझाउनुको विकल्प नभएको बताएका छन् । आम्दानी नभएका बेला बैंकको ऋण तिर्न नसक्ने भन्दै बैंकलाई तालाचाबी बुझाउनुको विकल्प नभएको सिटौला बताउँछन् । व्यवसायी भक्तिराम शर्माले बैंकहरुले जताजतैबाट फोन गरेका कारण अब गाडीको ताला चाबी बुझाइदिने बताए ।

नयाँ भाडादर कायम गर्न माग :

व्यवसायीहरुले लामो समयदेखी वैज्ञानिक भाडादरको समायोजना नगरेको व्यवसायीको गुनासो छ । सरकारले नीजि सवारी संचालन गर्ने निर्णसँगै सार्वजनिक सवारी पनि संचालन गर्ने तयार गरिरहेको छ । यससँगै व्यवसायीहरुले नयाँ भाडादर कामय गर्न माग गरिरहेका छन् । २०६९ देखि वैज्ञानिक भाडा समायोजन नभएको व्यवसायीको गुनासो छ । वैज्ञानिक भाडा दर समायोजन गर्न यातायात व्यवस्था विभागले सिफारिस गरेर पठाएको भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल थन्किएको भन्दै तत्काल नयाँ भाडादर लागु गर्न समेत व्यवसायीको माग छ ।

१० खर्ब लगानी संकटमा : 

सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्व रुपैँया भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी छ । जसमा ८० प्रतिशत बैंक र २० प्रतिशत व्यवसायीको लगानी छ । व्यवसायीहरुको लगानी त डुब्यो डुब्यो । बैंकको लगानी पनि डुब्ने अवस्थामा पुगेको छ । यस क्षेत्रमा ११ लाख भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यी मजदुर तथा यिनका परिवार गरी ४५-४६ लाख यस क्षेत्रसँग आक्षित छन् । उनीहरुको दैनिकी विचल्ली भएको छ । लामो तथा छोटो दूरीका गरी करिब ४ लाखभन्दा बढी साना तथा ठूला सार्वजनिक यातायातका छन् । यी सवारी लामो समय ग्यारेजमा थन्किन्दा खिया लाग्ने,विग्रिने,चुइने भएका छन् । सवारी साधनहरु अव कौडीको भाउमा जाने अवस्था भइसकेको छ । जसले गर्दा यस क्षेत्रमा भएको लगानी जोखिममा परेको छ । यातायात क्षेत्रमा मध्यमस्तरका लगानीकर्ताहरुले मात्रै थोरै थोरै लगानी गर्ने भएकाले सरकारको सहयोग विना उठ्न नसक्ने महासचिव सिटौलाको भनाई छ ।

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने देखिएकोे छ । कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसयता लामो समय सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भए । केही समय सञ्चालन हुन थालेका सार्वजनिक यातायात कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा भएपछि पुनः प्रभावित भए । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बौ रुपैँया जोखिममा परेको हो ।

के भन्छन् बैंकर्स :

असार मसान्त नजिंकिँदै गर्दा बैंकहरुले व्यवसायीलाई ऋण तिर्न फोन गर्नु स्वभाविक भएको बैंकर्सको भर्ना छ । सक्नेजतिले ऋण तिर्न भन्नु स्वभाविक हो भन्छन्,बैंकर्स । बैंकले आम जनताको सानो सानो पूँजी संकलन गरेकाले उनीको पूँजीको सुरक्षा र उनीहरुलाई त्यसको प्रतिफल दिन पनि समयमा ऋण उठाउनु बैंकको जिम्मेवारी भएको बैंकर्सको भनाई छ । ‘‘ बैंकले ऋण तिर्न अनुरोध मात्रै गरेका हुन्,त्यो स्वभाविक पनि हो ।’ नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले भने । तर कुनै पनि व्यवसायीलाई ऋण नतिरेको भनेर कारवाही नगरेको उनको दाबी छ ।

व्यवसाय राम्रोसँग संचालन भएको छैन भन्ने भएर नै व्यवसायीलाई कारवाही नगरेको उनको भनाई छ । ‘कारवाही गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।’ उपाध्यक्ष उपाध्यायले भने । नेपाल राष्ट्र बैंकले व्यवसाय राम्रोसँग संचालन हुन नसकेका बेला व्यवसायीलाई कारवाही नगर्नु भन्ने निर्देशन दिएकाले कारवाही नगरेको उनले दाबी गरे । व्यवसायिक संबन्धका लागि संबन्ध पनि फोन गर्नु समान्य भएकाले त्यसलाई अस्वभाविक रुपमा दिन नहुने उपाध्यायको भर्ना छ । ऋण तिर्नै नसक्ले पुर्नतालिकीकरण गरिदिनुप¥यो ,हजर्ना नलाग्ने व्यवस्था गरिदिनुपर्‍यो भनेर निवेदन दिन सक्ने पनि उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?