के हुँदैछ पूर्व पञ्चहरुको पार्टीमा ?

२०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएपछि ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो । पञ्चायतको अन्त्य पछि १५ जेठ २०४७ मा पूर्व पञ्चहरु मिलेर अलग्गै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गरे । गठन भएको ३० वर्षको अवधिमा यो पार्टी धेरैपटक फुट्यो । फुट र जुट राप्रपाको नियति नै बन्यो ।

पछिल्लो पटक २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भयो । उनीहरुले गीताको पुस्तक छोएर पार्टी नफुटाउने प्रतिवद्धता जनाए । एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने बताइयो त्यतिबेला ।

राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ । राप्रपाको एजेण्डा हिन्दु धर्म र संवैधानिक राजसंस्था छ । यो ३० वर्षको अवधिमा राप्रपा पटक–पटक सरकारमा पनि गयो । तर राप्रपाका नेताहरुलाई एजेण्डाभन्दा पनि ब्यक्तिगत स्वार्थ बोकेर सरकारमा जाने गरेको आरोप लाग्यो । उसले आफ्नो एजेण्डा स्थापित गर्न अझै पनि सकेको छैन् ।

राप्रपामा पार्टीलाई लाभ हानी भन्दा पनि नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थका आधारमा अगाडि बढाउने गरेको आरोप लाग्ने गरेको छ । कांग्रेस र कम्यूनिष्ट नेतृत्वमा पनि राप्रपा सरकारमा गइसकेको छ । थापा,राणा र लोहनीबीच पार्टी एकिकरणपछि अहिले राप्रपामा तीनैजना अध्यक्ष छन् ।

पार्टी एकीकरणका बेला गरिएको प्रतिवद्धता अनुसार २०७८ बैशाख २५ देखि २८ सम्म महाधिवेशन गरिने भनिएको थियो । तर त्यतिबेला तयारी नपुगेको,सक्रिय सदस्यता वितरणमा प्रभावकारी काम हुन नसकेको भन्दै  जेठ अन्तिम साता महाधिवेशन गर्ने भनेर सारियो । कोरोना लगायतका कारण जेठमा पनि महाधिवेशन हुन सकेन् । अव महाधिवेशन कहिले हुने हो भन्ने अनिश्चित छ ।

महाधिवेशन हुन नसकेपछि असार ४ मा राप्रपामा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । यद्यपि यसमा राप्रपामा चर्चा कमाएका नेताहरु राजेन्द्र लिङदेन धवल शमशेर राणा जस्ता नेताहरु छुटेका छन् । राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार उक्त समितिको बैठक काठमाडौंमा जारी छ । बैठकले महाधिवेशनको मिति पार्टीको संगठन विस्तार लगायत महत्वपूर्ण निर्णय गर्ने श्रेष्ठ बताउँछन् ।

बेला बखत देशका ठूला राजनीतिक पार्टीप्रति आम नागरिकको वितृष्णा बढेका बेला राप्रपालाई  वैकल्पिक  शक्तिका रुपमा हेरिएको थियो । तर नेताहरुको व्यक्तिगत स्वार्थका कारण उसले मौकाको फाइदा उठाउन सकेन । नेता श्रेष्ठका अनुसार राप्रपा सही ठाउँमा उभिएको भए यो देशको पहिलो या दोस्रो राजनीतिक शक्तिका रुपमा उदाउन सक्थ्यो । उनी भन्छन् “अहिले पनि केही बिग्रिएको छैन विगतका कमी कमजोरी सुधारेर अघि बढ्न सके राप्रपा पहिलो या दोस्रो शक्तिका रुपमा उदाउन सक्छ,नत्र अस्तित्व जोगाउन पनि मुस्किल छ ।”

राप्रपामा खासगरी अध्यक्ष कमल थापालाई पार्टी भन्दा पनि ब्यक्तिगत लाभ हानी हेरेर अघि बढ्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय राणा र लोहनीसँग थापाको मन मिल्न नसकेको बताइएको छ । गत हप्ता उनले ट्वीटमा ‘लोभी पापी र अवसरवादीलाई बोकेर हिड्दा सन्तोष नहुने र गन्तब्यमा नपुगिने रहेछ,बरु एक्लै हिड्छु’ भनेर उल्लेख गरेका थिए । उक्त ट्वीट राणा र लोहनीप्रति लक्षित रहेको कतिपय राप्रपा नेताको भनाई छ । राप्रपाका नेता तारानाथ लुइँटेल राप्रपाको नेतृत्वले आफूलाई नसुधारे राप्रपा संकटमा पर्ने बताउँछन् ।

बिगतमा पनि थापामाथि पार्टीमा मनोमानी गरेको,अवसरवादी राजनीति गरेको आरोप लाग्ने गरेको थियो ।
संघीयता विरोधी थापाले पछिल्लोपटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७३ फागुनमा उपप्रधानमन्त्री सहित संघीय मामिला तथा समान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि २०७२ मा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थिए । २०७४ मा शेरबहादुर देउवा नेतृत्व सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।

राप्रपाका अर्का नेता मोहन श्रेष्ठ राप्रपा आफ्नो सिद्धान्तमा प्रतिबद्ध भएर अघि बढेको छ,तर चुस्तता र गतिशीलताको समस्या भने रहेको स्वीकार्छन् । राप्रपा आफ्नो सिद्धान्तमा प्रतिवद्ध भएर अघि बढेको उनको दावी  छ ।

राप्रपाको सांगठनिक धरातल कमजोर र जनतालाई बैकल्पिक शक्तिको रुपमा विश्वास दिलाउन नसक्दा उसले २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एक सिटमात्रै हात पारेको थियो । समानुपातिकमा भने एक सिट पनि पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?