‘पैसा होईन पाईलैपिच्छे अप्ठेरो छ परदेशमा, आउनुहोस् नेपालमा पसिना बगाऔँ’

विदेशमा पाईएका अनेकन अप्ठेरो, दुख पीडाका देखे सुने भोगेका कारण पछिल्लो समय स्वदेशभित्रै व्यवसाय गर्न केहि युवाहरु तत्पर भएका छन्। विदेशमा गएर पसिना र रगत बगाउनुको साटो नेपालमै केहि लगानी गरेर आफ्नै देशमा, आफ्नो माटोमा, आफ्नो शानले व्यवसाय गर्छु भन्ने युवाहरु पनि दिनानुदिन बढ्दै गइरहेका छन्।

विशेषगरी खाडि मुलुकमा गएर रात दिन नभनि रगत पसिना बगाउँदा समेत भने जस्तो कमाई पनि नहुने, अनर्गल दुख पाउने भएपछि नेपालमा नै यति दुख गर्‍यो भने केहि सम्भावना र उपलब्धी कसो नहोला भनेर युवाहरुले विभिन्न व्यवसाय शुरु गर्ने गरेका छन्। केहिले विदेशबाट फर्केपछि कुखुरापालन, कृषी उत्पादन, कसैले बाख्रापालन भने कसैले गाँउबाट सस्तो मुल्यमा खसि मगाएर काठमाडौं ल्याएर काठमाडौंको मुल्यमा बिक्रि गर्दै आइरहेका छन्।

यो फोटोमा देखिएका यु्वा आनन्द कुमार श्रेष्ठ हुन् । उमेर ३९ वर्ष । स्थायी ठेगाना उदयपुरको बेलटार वडा नं १. हाल भक्तपुरकै ठिमि नगरपालिका कौशलटारमा ‘शक्तिदेवी ट्रेडर्स’ खसी फर्म सञ्चालन गरेर खरीद बिक्री वितरण गर्दै आइरहेका छन् । एक छोरा र एक छोरी र श्रीमती उदयपुरस्थित आफ्नै गाउँमा आमासँग बस्दै आइरहेका छन्। आनन्दले यो व्यवसाय सुरु गरेको ५ वर्ष भयो, तर उनका मामाले २३ वर्ष अगाडी देखि नै खसी किनबेच गर्ने काम गर्दै आएका रहेछन् । अहिले उनको फर्ममा करीब ७० वटा खसी छ । अवस्था सामान्य भएको बेलामा १७० वटा सम्म पनि हुने गरेको उनले बताए।

अहिले आनन्दको खसी किनबेच गर्नै व्यवसायमा ३ जनाको टिम् छ । भर्खर सुरु गरेको समयमा उनिहरुले उरयपुरबाट मात्र खसी खपत गर्थे तर विस्तारै सबैसँग चिनजान र सम्पर्क हुन थालेपछि नेपालभरीको जुनसुकै ठाँउबाट पनि ल्याउने गरेको उनले जानकारी गराए ।

उनले दुखसुखले गरिरहेको खसी व्यवसायलाई पनि कोरोना जोखिमबाट बच्न सरकारले लागू गरेको लकडाउनले धेरै असर गर्यो । तर ठप्प भने भएको थिएन। ठाँउ ठाँउमा सबै प्रक्रिया पुर्‍याएर आएको हुन्छ । अनलाईन बिल काटेको हुन्छ, भेटनरि बनाएको हुन्छ तर पनि धैरै ठाँउमा २ ३ घन्टासम्म होल्ड गर्ने झुलाउने गरिन्छ । बाटोमा अनेकन नाममा खर्च दिनुपर्ने हुन्छ । हिँडेदेखिको १००/५० गर्दा पनि ४/५ हजार सक्किछ उनले भने।


आनन्दले नेपालभरी सबै ठाँउबाट खसी ल्याउने गरेका छन् भने पश्चीम दाङको सल्यानबाट सबै भन्दा धेरै खसी ल्याउने गरेका छन्। लकडाउनमा पनि उनको व्यवसाय ठप्प भने भएन खाद्यान्नलाई छुट भएको कारण खसी खरीद बिक्रिमा रोकतोक थिएन। अहिले झन् खसीको मुल्य बढ्दै गइरहेको छ।


खसी फर्ममा आइपुगेको ३/४ दिनमा बिक्री भईसक्छ हामीले पहिलादेखि नै खसी व्यवसायीहरुसँग सम्पर्कमा रहन्छौँ बिक्री नै नहुने भन्ने चाहीँ अहिलेसम्म भएको छैन ।शुरुमा आनन्दका मामाले उदयपुरबाट नै ५ वटा खसी काठमाडौं ल्याएर बेच्दा उनलाई राम्रो फाइदा भएको थियो त्यतिबेला देखि नै यो व्यवसायलाई निरन्तरता दिएको उनले बताए।

आनन्द रोजगारीको सिलसिलामा साउदि अरब पुगेका थिए। उनि करीब त्यहाँ १० वर्ष बसे । साउदिमा उनले ट्याक्सि चलाउँथे कमाइ ठिकै थियो । त्यसपछि मामाले आफ्नै व्यवसाय सम्हालेर बस भनेपछि आएको हुँ। अहिलेसम्म राम्रै भइरहेको छ । पछि पनि राम्रै होला भन्ने सोचेको छु।

उनले जग्गा भाडामा लिएका छन्। जहाँ गोठ बनाएर खसीहरु राख्ने गरेका छन् त्यसको पछाडि पट्टी आफूलाई खाने र सुत्ने ठाँउ बनाएका छन् । उनी घरमा बस्दैनन् । महिनामा जग्गा भाडा ७० हजार तिर्दै आएका रहेछन् । भाडा तिरेर पनि सन्तोषजनक कमाई हुने गरेको छ । एक जनाको भागमा महिनामा ४० देखि ५० हजार मज्जाले कमाई हुन्छ। विदेशमा पनि आनन्दको कमाई राम्रै हुन्थ्यो तर पैसा मात्र सब थोक होईन भन्ने सोच भएका उनी परीवारसँग बस्न पाएर यो कमाईबाट खुसी साथ जीवन चलाइरहेका छन् ।

खसीलाई खुवाउने घाँसको लागी अर्डर गर्नुपर्छ तारेभिरतिरबाट लिएर आइदिनु हुन्छ । हामीले यहाँ घाँस र पानी मात्र खुवाउँने गरेका छौँ । ३।४ दिनमा त बिक्रि भइहाल्छ। ३ जनामा कसैले घाँस पानी खुवाउने कसैले अर्डर अनुसार ठाँउठाँउमा पु्याउने काम पालैपालो गर्ने गरेका छौँ । एउटा खसीबाट नै ठूलो छ भने राम्रै नाफा हुने रहेछ।
प्रश्न स्वभाविक थियो, उनले जवाफमा भने :

‘विदेश र नेपालको काम गराईमा धेरै फरक छ विदेशमा अरुको अन्डरमा काम गर्नुपर्ने हुन्छ कति गाली खाइन्छ तर आफैले व्यवसाय सुरु गर्यो भने अरुको अन्डरमा बस्नु नपर्ने अल्छि लागेको दिनमा आज काम गर्दीन भन्न पनि सकिने । बिसन्चो हुँदा उपचार गर्न पाईने, मिठोमसिनो परिवारसँग खान पाईने, दुखसुख साटफेर, सप्ठेरोअप्ठेरो मिलाउन सकिने कारण आफ्नो व्यवसायमा निकै सहज लाग्यो । सन्तुष्टि पनि । तर विश्वास गर्नुहोस् आफ्नो भएर होला अल्छि लागेर काम नगरेको भन्ने चाहिँ छैन । झनै जिम्मेवारी बोध हुन्छ ।’

विदेशमा अरुकोमा दुख गर्नुभनदा सबै पौरखी युवाहरु स्वदेश फर्कनुपर्ने उनको आग्रह छ । उनी सुझाव दिन्छन्, ‘विदेशमा गएर दुख गरीरहनु भएको नेपाली दाजुभाई तथा दिदिबहिनि हुनुहुन्छ नेपालमा नै थोरै भए पनि लगानी गरेर केहि व्यवसाय पशुपालन, कृषीजस्तो बजारमा के को माग धेरै छ । त्यही लगानी गरेर विदेशमा बगाउने पसिनालाई नेपालमै बगाउनु भयो भने आफू, परिवार र सिंगो राष्ट्रलाई फाइदा हुन्छ । अरुकोमा पसिनासँग पैसामात्रै साटिन्छ । यहाँ देशको मायासमेत जोडिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?