सार्वजनिक यातायातमा छैनन् महिला सुरक्षित : उजुरी गर्नै मान्दैनन्

काठमाडौं – महिलामाथि हुने गरेका कयौँ  हिंसामध्ये सार्वजनिक यातायातमा गरिने यौनजन्य हिंसा पनि एक जटिल हिंसा हो।

महिलाहरु सार्वजनिक यातायातमा पनि निर्धक्कसँग यात्रा गर्न पाउँदैनन् । हेर्दा सामान्य लागे पनि यो समस्या हरेक दिन निकै जटिल बन्दै गइरहेको छ । अरुलाई भन्न अप्ठेरो मानेर महिलाले खासै भन्न चाहँदैनन् । त्यसैले सरकार पनि यस्ता घटनाहरुबाट बेखर छ । सरकारले सार्वजनिक यातायातमा हुने गरेको यौनजन्य हिंसा न्यूनिकरण गर्ने प्रयास गरेपनि यस्ता घटनामा कमी आएको छैन । सार्वजनिक यातायातमा यात्रा गर्दा कयौँ महिला तथा किशोरीहरु बलात्कृत भएका छन् भने कयौँ यौनजन्य व्यवहारबाट पिडित छन्। यसतर्फ अधिकांशको खासै ध्यान गएको पाइँदैन।

त्यसैले यो हिंसा विकराल बन्दै गइरहेको हो। यस्ता घटनाहरु सबैका अगाडि खुल्ला रुपमा नै हुन्छन्। तर पिडकहरु सार्वजनिक यातायातमा भीडका कारण देखाउँदै उकिम्न्छन् । यस्ता हिंसालाई हल्का रुपमा लिँदा पिडकहरुको मनोबल बढिरहेको छ। सार्वजनिक यातायायातमा महिला तथा किशोरी असुक्षित भए भन्दै महिला मैत्री यातायात बनाइने कुरा पनि आएको थियो। तर त्यसले पनि निरन्तरता पाउन सकेको छैन। विशेष गरी छोटो दुरीका सार्वजनिक बस तथा माइक्रो बसमा यात्रा गर्दा महिला तथा किशोरीहरु बढी पिडित बन्ने गरेका छन् । यस्ता घटना काठमाडौं लगायत देशभरीका मुख्य शहरहरुमा तथा केही ग्रामिण क्षेत्रमा चल्ने सार्वजनिक यातायातहरुमा पनि यस्ता घटनाहरु हुने गरेका छन्।

यस्तो छ, सार्वजनिक यातायातमा महिला हिंसाको प्रकृति 

सार्वजनिक यातायातमा हुने गरेका यौनजन्य हिंसाका विभिन्न रुप छन्। पिडकहरुले महिलाले समाएको डण्डीमा समाउने, नजिक नजिक जाने प्रयास गर्ने, महिलाको शरीरमा टाँसिने, धकेल्ने, पछाडीबाट विभिन्न संवेदनशील अंगमा छुने प्रयत्न गर्ने, छातीमा धक्का दिने, अनुहारमा हेरिरहने, अश्लील बोल्ने तथा त्यस्तै खालका विभिन्न क्रियाकलाप गर्ने गर्दछन् ।
सार्वजनिक यातायातमा यात्रा गर्ने महिला, किशोरी तथा बालिकाहरु यस्ता क्रियाकलापबाट पिडित छन् । यस्ता क्रियाकलाप तथा गतिविधि कानूनले बर्जित गरेको छ । यस्ता क्रियाकलापहरु कानूनद्धारा दण्डीत हुन्छन्। तर पनि निरन्तर भइरहेका छन् ।

उजुरी नै पर्दैनन् :

कानूनले सार्वजनिक यातायातमा हुने गरेका यौनजन्य क्रियाकलापलाई अपराध मानेको भएपनि विभिन्न कारणले निकै कम मात्रै उजुरी पर्ने गरेको प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवर बताउँछन् । ‘‘ सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसाको उजुरी नै कम पर्छ।’’  उनले भने । प्रहरीले सेफ्टी पिन अभियान चलाएका कारण केही मात्रामा उजुरी पर्ने गरेको प्रवक्ता कुँवरको भनाई छ ।

उनका अनुसार प्रहरीले काठमाडौँ उपत्यका बाहेक बाहिरी जिल्लाका मुख्य मुख्य शहरहरुमा पनि सेफ्टी पिन अभियान संचालन गरेका कारण सार्वजनिक यातायातमा कम घटना हुन थालेका छन्  । ‘’प्रहरीले छद्म भेषमा सर्च गरेका कारण यी उजुरी परेका हुन् ।’‘ उनले लोकपथसँगको कुराकानीमा भने । प्रहरीले यसरी प्रचारप्रसार नगर्ने हो भने सार्वजनिक यातायातमा महिलामाथि हुने गरेका यौनजन्य हिंसा बाहिर ल्याउनै गाह्रो हुने प्रहरीको भनाई छ ।

अधिकांश महिलामा कानूनी ज्ञानको अभाव हुनु, लाज मान्नु, डर मान्नु, सामाजिक प्रतिष्ठा तथा मनोबल बलियो नहुनुका कारण यस्ता हिंसा हुने गरेको प्रहरीको भनाई छ। यस्ता घटनालाई गुपचुप राखेर अपराधिलाई बढवा  दिइरहेकाले  पिडकहरु पटक पटक यस्ता हिंसा गरिरहेका छन्। महिला हिंसाका घटनाहरु प्रहरी अलावा राष्ट्रिय महिला आयोगमा पनि पर्ने गरेका छन् । तर सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहारहरु तथा हिंसाजन्य गतिविधिहरुको उजुरी भने आयोगमा पर्ने गरेका छैनन् । आयोगले प्रहरीले संचालन गरेको सेफ्टी पिन अभियानमा समेत सहकार्य नगरेको आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । महिला हिंसा सबंन्धी अन्य घटनाहरुमा भने प्रहरीसँग आयोगको सहकार्य रहने अध्यक्ष पराजुलीको भनाई थियो ।

के हो सेफ्टी पिन अभियान?
सार्वजनिक यातायातमा यौनजन्य दुर्व्यवहारहरु तथा हिंसाजन्य गतिविधिहरु बढेको गुनासो आउन थालेपछि त्यस्ता गतिविधिहरु नियन्त्रण गर्न नेपाल प्रहरीले शुरु गरेको अभियान नै सेफ्टी पिन अभियान हो । त्यसका साथै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून अनुसार कारवाहीको दायरामा ल्याउन पनि प्रहरीले यो अभियान संचालन गरेको हो । त्यस्तै, महिलाले यस्ता हिंसा प्रयाःलुकाउने हुनाले हिंसा नलुकाउन र कानुनी दायरामा ल्याउने हिम्मत गर्ने हौसला दिन यो अभियानले सहयोग गर्छ । यसको मुल उद्येश्य भनेको सार्वजनिक यातायातमा महिलामाथि हुने यौन जन्य दुव्र्यवहारहरु तथा हिंसा कम गर्ने अपराध गर्नेलाई कानुनको दायरामा ल्याएर कारवाही गर्नु हो । यो अभियान सुरु भएको लगभग १० वर्ष भइसकेको छ ।

कसरी संचालन हुन्छ सेफ्टी पिन अभियान ?
सार्वजनिक यातायातमा हुने गरेका यौनजन्य दुव्र्यवहारहरु तथा हिंसाजन्य गतिविधिहरु बाहिर ल्याउन महिलाहरु हिचकिचाउँछन् । यस्ता गतिविधी गरेको ठ्याक्कै प्रमाण पनि हुँदैन । त्यसैले कमै मात्रामा बाहिर आउने गरेका छन् । यस्ता खालका घटनाहरु घटिरहने, महिलाहरु पिडित भइरहने तर दोषीहरु कारवाहीको दायरामा ल्याउन समस्या भइरहेका बेला प्रहरीले छद्म भेषमा प्रहरी खटाएर यस्ता घटनाका दोषीहरुलाई कारवाही गर्ने गरेको प्रवक्ता कुवँरले बताए ।

यो अभियानले प्रचार तथा जनचेतना फैलाउने किसिमका कार्यक्रमहरु पनि गर्दै आएको छ । जसअन्र्तगत संचारका माध्यमहरु लगायत प्रहरीको आफ्नो मिडियाहरुमार्फत तथा विभिन्न सामाजिक सञ्जालहरुमार्फत जनचेतना फैलाउने काम समेत गर्दै आएको छ । प्रहरीले सामुदायीक प्रहरी सेवा केन्द्रहरु र महिला सेल, परिसरको महिला सेल, मेट्रोको महिला सेल,बृत्तमा भएको महिला सेल लगाएत सबै महिला सेल र सामुदायीक सेवा केन्द्रहरुले सरोकारवाला अन्य संस्थाहरु समेतको सहभागितामा यस्ता प्रचारात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

यसरी गरौँ प्रतिवाद 

सार्वजनिक यातायातमा यात्रा गर्दा भीडभाड भएको बेला होस् या अन्य बेला आफूलाई सुरक्षित राख्ने प्रयास गर्नुपर्छ । कसैले बदनियतले छुने प्रयास गरेको छ भने उसलाई कडा नजरले हेर्ने तथा खबरदारी गर्ने प्रयास गर्ने गर्नुपर्छ । शरीरका संवेदनशील अंगहरुमा छुने प्रयास गर्छन् भने कडा प्रतिवाद गर्नुका साथै प्रहरीलाई १०० नम्बरमा फोन गर्ने । कसैले अश्लील तथा अपशब्द बोलेको खण्डमा त्यस्तो नगर्न चेतावनी दिने गर्नुपर्छ । सार्वजनिक यातायातमा कुनै एक महिलामाथि त्यस्तो व्यवहार भएको छ भने सबै यात्रुले प्रतिवाद गर्नुपर्छ तथा गर्न लगाउनुपर्छ ।

यस्तो छ तथ्यांकमा उजुरी

प्रहरीले सार्वजनिक यातायातमा हुने गरेका यौनजन्य दुव्र्यवहारहरु तथा हिंसाजन्य गतिविधिहरु कानूनको दायरामा ल्याउने प्रयास गरेपनि प्रयाप्त मात्रामा आएको देखिँदैन । प्रहरीको तथ्यांक अनुसार गत पुस महिनादेखि वैशाखसम्म पाँच महिनाको अन्तरालमा यस्ता घटनामा संलग्न १ हजार ४ सय ९३ जना पक्राउ परेका छन् । जसमा १ सय २९ जनालाई प्रहरीले मुद्धा चलाएको छ । प्रहरीको तथ्यांक अनुसार पुस महिनामा ३ सय ४१ जना पक्राउ परेका छन् भने २६ जनालाई मुद्धा चलाएको छ । त्यस्तै, माघ महिनामा प्रहरीले ३ सय ३२ जना पक्राउ गरेको थियो भने ३२ जनालाई मुद्धा चलाएको थियो ।

त्यसैगरी,फागुन महिनामा प्रहरीले सार्वजनिक यातायातमा हुने गरेका यौनजन्य दुव्र्यवहारहरु तथा हिंसाजन्य गतिविधि गर्ने ४ सय ७० जनालाई पक्राउ गरेको थियो भने ३६ जनालाई मुद्धा चलाएको थियो । त्यस्तै, चैत महिनामा यस्ता घटनामा संलग्न २ सय १२ जनालाई पक्राउ गरेको छ भने २२ जनालाई मुद्धा चलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै, प्रहरीका अनुसार वैशाख महिनामा यौनजन्य दुर्व्यवहारहरु तथा हिंसाजन्य गतिविधि गर्ने १ सय ३८ जना पक्राउ परेका छन् भने १३ जनालाई मुद्धा चलाइएको छ ।

कानूनी व्यवस्था
कानूनले यौनजन्य दुर्व्यवहारहरु तथा हिंसाजन्य गतिविधि गर्ने क्रियाकलापहरुलाई बर्जित गरेको छ। साथै महिलामाथि हुने हातपात, गाली गलौज अथवा शारीरिक तथा मानसिक प्रताडना, सामाजिक पीडा लगायतका क्रियाकलापलाई कानूनले महिलामाथिको हिंसाका रूपमा व्याख्या गरेको छ ।

नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२४ को उपदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु नहुने उललेख छ। त्यस्तै, उपदफा (२) मा कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने उल्लेख छ । यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?