पान पसलले बदलेको जीवन : …अनि मन्जु वैशाखी टेकेरै व्यापार गर्न थालिन्

भक्तपुरको कौशलटार जाने बाटोमा जस्ताको छानो र जस्ताले नै बारीएको एउटा सानो झुप्रो छ । त्यहाँ बुझिनेगरी लेखिएको छ – लक्ष्मी पान भण्डार । अर्डरको लागी समेत त्यहाँ फोन नम्बर राखिएको छ । पंक्तिकारको मनमा जिज्ञाशा उठ्यो, पान पनि कोहि अर्डर गरी गरी खान्छ ? मानिसहरु पानमा त्यतिधेरै रुची किन राख्छन् ?

सडकबाट हेर्दा सधैँ बन्द जस्तो देखिने लक्ष्मी पान भण्डारलाई कोरोना कहरको पहिलो लहर अर्थात् पोहोर सालको लकडाउन र यसपालिको निषेधाज्ञा केहि प्रभाव पारेन। किनकी पान पसलका साहुनीले सरकारले तोकिदिएको नियम पालना गरेर पान बेचिरहेका छन् । त्यतिमात्रै होईन शारिरीक रुपमा अशक्त भएका कारण उनलाई पान पसलको सटर तान्न छुट रहेछ । लकडाउनमा पनि नियमित सेवा दिने पसल लक्ष्मी पान भण्डारमा फाट्टफुट्ट पान चपाउन आउनेहरु टुट्टैददन् । उनको पान पसलमा पानसँगै एक कार्टुन चाउचाउ, बिस्कुट, चकलेट, चुईगम जस्ता खुद्रा चिजबिजहरु पनि झुन्ड्याईएको छ।

नाम : मञ्जु सिलवाल

उमेर : ४५

बसोबास : भक्तपुर, कौशलटार

कौशलटारकी सिलवाललाई निषेधाज्ञामा पनि भ्याइनभ्याइ छ। उनी आफैँ पान बनाएर बेच्ने काम गर्छिन्। उनले यो काम थालेको करिब ७ वर्ष भयो । ३१ वर्ष अघि विवाह गरेकी उनको २ छोरा र १ छोरी छन् । एउटा छोरा पढाईको सिलसिलामा अष्ट्रेलिया गएका छन् भने एउटा छोरा गठ्ठाघर चोकमै किराना पसल चलाउँदै आएका छन्। ‘छोराहरु दुबैको बिहे भइसक्यो अब यहि एउटी छोरी बाँकी छिन् । छोरी पनि डिग्री पढ्दै छिन् ।’ छेउमा उभिएकि छोरी चिनाउँदै उनले भनिन् ।

‘यहि पसलबाट नै सबै छोरा छोरीको ईच्छादेखि घर खर्चसम्म टार्दै आएका छौँ । ‘शुरुमा सामान्य व्यापार हुन्थ्यो । क्रमिक रुपमा नसोचेको ब्यापार हुन थाल्यो ।’ उनले दुखपछि आएका सुखका दिनहरु सुनाईन् ।

उनको विवाह हुनुभन्दा पहिले नै कौशलटार चोकमा श्रीमानले सामान्य खुद्रा पसलसँगै पान पनि बेच्दै आएका थिए। उनीहरु काठमाडौंको रैथाने भएका कारण उनीहरुले सानै भएतापनि आफ्नै व्यापारमा रुची देखाए । उनिहरुसँग बस्ने घर भएपनि दैनिक जीवनयापन गर्नको लागी केहि व्यसाय नगरी धर् नै छैन । उनले वर्तमान कोट्याईन् ।

‘अहिले जस्तो कहाँ थियो र ? पहिला सबै छोराछोरी साना थिए । पालनपोषणदेखि स्कुलको खर्च धान्न नै गाह्रो हुन्थ्यो मलाई । अनी घर खर्चको कुरा पनि त आउँछ सामान्य खर्च बाँच्न मात्र पनि ५ जनाको परिवारलाई धौ – धौ नै हुन्थ्यो कमाईको नाममा एक जना श्रीमानको बाहेक कसैको १ पैसा आउने बाटो थिएन अनि कहाँबाट खर्चमा सहज हुनु ?’ उनी पुराना दिनहरु सझिँदै थिइन्। पहिला र अहिले त आकाश पातालको फरक छ अहिले । छोराहरुले आफ्नो आफ्नो बाटो लिइसके उनीहरुले दुख गरे अनुसार राम्रो पनि भइरहेको छ ।’ उनी सुनाउँछिन् ।

***

मञ्जु २०७० सालमा बाटो काट्ने क्रममा भक्तपुरमा सेनाको गाडीको ठक्करबाट घाईते भएकी थिईन् । उपचार खर्च मञ्जुले गर्नु परेन । सबै उपचार खर्च टिचिङ अस्पतालमा सेनाले नै गरिदिएको थियो । उनको दाहिने खुट्टा घुँडाभन्दा तल काटिएको छ सामान्य हिँडडुल गर्ने सहारा उनले वैशाखीलाई बनाएकी छिन् । उनको श्रीमान पनि नगरपालिकामा काम गर्न थालेको करिब ७ वर्ष भयो । श्रीमानको जागिर मिल्ने बित्तिकै उनले श्रीमानकै पसल सम्हालेर बस्न थालेकि हुन्।

मञ्जुको घाउ पूर्ण रुपमा निको भइसकेको छ तर खुट्टा काटेको कारणले बैशाखीबिना उनि हिँड्न सक्दिनन् । तर सबै काम बिस्तारै गर्न सकिछन् । छोरीको कलेज भएको बेला बिहानको खाना उनी आफैँ बनाउँछिन् श्रीमान् को कार्यालय जाने बेलासम्ममा खाना तयारी बनाउनुपर्छ उनले भनिन्।

त्यसो त पोहोर पनि यसपाली पनि लकडाउनको समयमा धेरै पटक प्रहरी छड्क चेकजाँच र पसल बन्द गराउन आएका थिए तर उनले आफ्नो समस्या भनेपछि कारवाही मात्रै छुट पाईनन् । भिडभाड नगर्न र ढुक्कले पसल सञ्चालन गर्न पाईन् । ‘मलाई वैशाखीको सहारा चाहिन्छ तर कोरोना संक्रमण शुरु हुनु पहिला र संक्रमण पछि केहि फरक छैन अरुतिर पसल बन्द भएकै कारण पनि झन् मलाइ फाइदा भएकोे छ ।’ उनी मख्ख परिन् । पान अर्डर गर्नलाई नयाँ नयाँ ग्राहक पनि थपिए । सबैतिर बन्द । अरु केहि विकल्प पनि त थिएन । ग्राहकहरुलाई नै मध्येनजर गरेर फोन नम्बर सटरको बाहिर लेखेर छोरीले टाँसिदिएकि छिन् । त्यहिबाट फोन आउँछ अर्डर भन्नुहुन्छ अनि तयारी भएपछि आएर लिएर जानुहुन्छ उनले मेरो जिज्ञाशा मेटिदिईन् ।

उनी थप्छिन्, ‘जतिपनी व्रतबन्ध भोज, पार्टि जस्ता सामाजिक कार्यहरु भए । जसको लागी चाहिने पान पनि यो वर्ष अरु बेलाको भन्दा धैरै अर्डर आएको थियो अरु तिर बन्द भएर होला त्यसबाट पनि धेरै फाइदा भयो ।

श्रीमान, छोरा र मञ्जुको कमाइ जोगाएर नै उनीहरुले अर्को नयाँ घर किनिसकेका छन् । शुरुमा बस्नको लागि एउटा बास मात्रै भएकी मञ्जुले काठमाडौंमा धेरै ठाँउ जग्गा पनि जोडिसकेकि छिन् ।

मञ्जुको १ दिनको कमाइ नै १० देखि ११ हजार हुन्छ । उनलाई अर्थोक कुनै कुराको सुर्ता छैन । आफ्नै कमाईले मज्जाले घर धान्छिन् उनी । कहिलेकाहिँ बिरामी हुँदा पनि उपचार खर्च जुटाउन पहिला जस्तो भौतारीनु पर्दैन उनलाई । शारिरीक अशक्त भए पनि मञ्जु आत्मनिर्भर छिन् । त्यसैले उनको आत्मविश्वास बलियो छ । १ जनाको कमाईले कसरी घर खर्च टार्ने भनेर शुरु गरेको व्यवसायबाट नै मञ्जुले लाखौँ कमाउन सफल भएकी छिन्। मञ्जु एउटी अशिक्षित सँगसँगै शारिरीक अशक्त महिला पनि हुन् तर उनको कामको चौतर्फी प्रशंसा छ । उनि एक उदाहरणीय महिला हुन् । आफ्नो क्षमता अनुसार काम सबैले गर्दा सफलताका साथसाथै आत्मनिर्भर पनि बन्न सक्ने उनको भनाई छ। महामारीको समयमा पनि मञ्जु खालि हात बस्न परेको छैन । यो सबै उनको मेहनत र परिश्रमको प्रतिफल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?