यातायात मजदुर : न गुजारा चल्छ, न भेटिन्छ विकल्प

कोरोना प्रभाव–१

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सबैभन्दा बढी यातायात मजदुर प्रभावित भएका छन् ।

कोरोना महामारी न्युनिकरणका लागि सरकारले गत वर्षको चैत ११ देखि गरेको लामो लकडाउन तथा गत वैशाख १६ देखि गरेको निषेधाज्ञाका कारण यातायात क्षेत्रका लाखौँ मजुरहरु प्रभावित भए । उनीहरुलाई दैनिक गुजारा चलाउनै हम्मे हम्मे भएको छ ।

यातायात मजदुरहरुको संगठन पनि छ । तर संगठनले पनि मजदुरका लागि खासै सहयोग नगरेको उनीहरुको गुनासो छ । लामो समय आम्दानी नहुँदा यस क्षेत्रका मजदुरलाई दैनिक गुजारा चलाउन ऋण काढ्नुपर्ने बाध्यता आइपरेको छ ।

उनीहरुको पिडा यति बढेको छ कि अब जीवन कसरी धान्ने भन्ने चिन्ताले सताइरहेको छ । कसैले घरभाडा तिर्न सकेका छैनन् भने कतिलाई बिहान साँझको छाक टार्न पनि मुश्किल भइरहेको छ । यस्तो समस्या आइपरेपछि उनीहरु मानसिक पिडामा छटपटाइरहेका छन् ।

शिव बस्याल बुटवल–काठमाडौं चल्ने दिवासेवा बसका सह–चालकका रुपमा कार्यरत छन् । लकडाउन तथा निषेधाज्ञा नहुँदा उनलाई दैनिक गुजारा चलाउन समस्या भएको थिएन । तर सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय यातायात क्षेत्र बन्द हुँदा शिवको परिवार विचल्लीमा परेको छ । उनलाई अहिले दैनिक गुजारा चलाउन पनि हम्मे हम्मे भएको छ । “अहिले काम छैन,दैनिक गुजारा चलाउन ऋण लिनुपर्ने अवस्था छ,” उनले भने ।

दैनिक गुजारा चलाउनै समस्या भएपछि उनले वैकल्पिक बाटो खोजेका छन् । उनले ठेला गाडामा अरुको सामान ओसार पोसार गर्ने काम गर्छन् । त्यसैबाट अलि अलि आम्दानी हुन्छ । त्यहि पैसाले मुस्किलले गुजारा चलाइरहेका छन् शिव । आम्दानी नै नभएपछि उनले तीन महिना यताको कोठा भाडा पनि तिर्न सकेका छैनन् । ‘‘आम्दानी छैन,हाम्रो संगठनले सहयोग पनि गर्दैन,दर्दनात्मक भयो दैनिकी,’’ शिव उदास सुनिन्छन् । उनले कोरोनाका कारण भन्दा पनि भोकले मजदुर मर्न थालेको भन्दै सहयोगका लागि सरकारले उचित पहल गरिदिन माग गरे ।

त्यसैगरी,सोही रुटमा सह–चालकका रुपमा कार्यरत अर्का पिडित मजदुर हुन्, रामप्रसाद बानिँया । उनको पनि हालत उस्तै छ । बसमा काम गर्दा दैनिक पैसा आउँथ्यो । विहान बेलुका हातमुख जोर्न समस्या थिएन । अहिले काम गर्न नपाएको एक वर्ष भन्दा बढी भयो । उनले न अन्य काम पाएका छन्,न त कुनै आम्दानी भएको छ । घर चलाउन ऋण लिनुको विकल्प नभएको बानियाँ बताउँछन् । ‘‘घर चलाउन ऋण दिनुपर्ने बाध्यता छ,’’ उनले लोकपथसँग भने । गाडी खुल्छ कि भन्दै बाटो हेरे उनले । तर लामो समयसम्म नखुल्दा दुई छाक टार्ने मात्रै होइन, बाल बच्चाको पढाइ तथा पालनपोषणमा समेत असर गरेको उनको भर्ना छ ।

अन्य कामको खोजी गर्न थालेका छन् । मजदुरहरु खानै नपाई मर्ने अवस्था आएको भन्दै सहयोगका लागि सरकारसँग माग गरे । बस्याल र बानियाँ मात्रै होइनन्,यातायात क्षेत्रमा यस्ता लाखौँ मजदुरहरु छन्,जसलाई आफ्नो दैनिक गुजारा गर्न पनि धौ–धौ भइरहेको छ । दिनानुदिन उनीहरुको जीवन कष्टकर बन्दै गइरहेको छ । सरकारले वैकल्पिक बाटो नदिने हो भने उनीहरु थप समस्यामा पर्ने सरोकारवाला बताउँछन् ।

लाखौँ मजदुर बेरोजगार

यातायात क्षेत्रमा कार्यरत लाखौँ मजदुर अहिले बेरोजगार भएका छन् । लकडाउनका कारण तीन लाखभन्दा बढी सार्वजनिक यातायात साधनहरु थन्किएका छन् । सरकारले अहिले नीजि सवारीका साधनहरु मात्रै जोरविजोरका आधारमा खोलेको छ । सार्वजनिक यातायात कहिले खुल्छ भन्ने यकिन छैन । सार्वजनिक यातायात नखुल्दा यस क्षेत्रमा कार्यरत मजदुर बेरोजगार भएका हुन् ।

यस क्षेत्रमा ११ लाख मजदुर कार्यरत छन् । लकडाउनका कारण मजदुर लगायत उनीहरुमा आश्रित परिवार झण्डै ४० देखि ४५ लाखको रोजीरोटी खोसिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् । गत वर्षकै लकडाउनका कारण बेरोजगार बनेका मजदुर यसपालीको निषेधाज्ञाका कारण थप प्रभावित भएको महासचिव सिटौलाको भनाई छ ।

कोरोनाको दोस्रो लहरका कारण यो क्षेत्रको लगानी तथा यससँग जोडिएका मजदुरको जीवन संकटग्रस्त बन्दै गइरहेको उनी बताउँछन् । ‘‘गत वर्षदेखि नै सार्वजनिक यातायात राम्रोसँग संचालन हुन नपाएका कारण मजदुर लगायत यातायात क्षेत्र दयनीय अवस्थामा पुगेको छ,’’ महासचिव सिटौलाले लोकपथसँग भने । पटक पटकको लकडाउन तथा निषेधाज्ञाका कारण यातायात क्षेत्रका व्यवसायी तथा मजदुरको जीवन उकास्न नसकिने गरी खस्केको उनको भनाई छ ।

यातायात क्षेत्रमा कार्यरत मजदुर मात्रै होइन, व्यवसायी पनि टाट पल्टिने अवस्था भएको सिटौला बताउँछन् । सरकारले यातायात क्षेत्रका मजुरको पिडा नबुझेको तथा यस क्षेत्रका लागि चित्तबुझ्दो राहत प्याकेज नल्याएको उनको गुनासो छ ।

यातायात क्षेत्रमा ६० प्रतिशत स्वरोजगार छन् । सार्वजनिक यातायात नचल्दा उनीहरूको जीवन दयानीय भएको छ । काम नभएका कारण हातमुख जोर्न धौ धौ भएपछि मजदुरहरु मानसिक पिडामा रहेको सिटौला बताउँछन् । सरकारले मुलुकको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको यातायात क्षेत्रलाई नै उपेक्षा गरेकोमा सिटौलाको चित्त दुखाई छ ।

वैकल्पिक बाटो खोज्दै

लामो समयसम्म यातायात क्षेत्र ठप्प भएपछि यस क्षेत्रका मजुरहरु वैकल्पिक बाटो खोज्न थालेका छन् । यातायात खुल्छ कि भनेर बाटो हेर्दा हेर्दा एक वर्षभन्दा बढी हुन लागेपछि मजदुरहरु वैकल्पिक बाटो खोज्न बाध्य भएका हुन् । यो क्षेत्रमा आश्रित हजारौँ मजदुरहरु अहिले काम नपाएर दर्दनात्मक अवस्थामा छन् । कसैले ठला गाडा त कसैले चना चटपटे बेच्न थालेका छन् । धेरैले भने अझै पनि वैकल्पिक पेशा ठम्याउन सकेका छै्रनन् ।

महँगीले झनै सास्ती

एक त यातायात क्षेत्रका मजदुरलाई दैनिक गुजारा चलाउनै धौ धौ छ । त्यसैमाथि बजारमा महँगी छ । महँगीका कारण मजदुर झनै प्रभावित भएका छन् । सरकारले काम गर्ने न कुनै वैकिल्पक बाटो दिन्छ ,न त महँगी नै घटाउँछ भन्ने गुनासो मजदुरको छ । शिव बस्याल भन्छन्, “सरकारले महँगी घटाउँदैन,हामीलाई बाँच्न नै साह्रै गाह्रो भयो ।”

यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएका कारण मजदुरहरु घर न घाट भएकाले वैकल्पिक काम गर्ने बाटो सरकारले देखाइदिनुपर्ने थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?