जसपा ठाकुर पक्ष : सत्ता गयो, साथ पनि छुट्यो

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको भन्दै सरकारमा गएको जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारबाट हटेसँगै अलमलमा परेको छ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन, नागरिकता, मधेश आन्दोलन ताका मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्ताका मुद्दा फिर्ता लिन पहल कदमी गरेको भन्दै पार्टीमा विवादका बावजुद ठाकुर पक्ष गत जेठ २१ र २७ मा सत्तामा उक्लिएको थियो । तर सत्तामा उक्लिएको १८ दिनमै ठाकुर पक्ष सरकारबाट ओर्लिनु परेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै मंगलवार त्यसलाई बदर गरेको छ । मन्त्रिपरिषद् विस्तार बदर भएसँगै ठाकुर पक्षबाट सरकारमा गएका ११ जना मन्त्रीको पद पनि गएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धा सर्वोच्च अदालतमा पुगेको छ । त्यसमा सर्वोच्चमा आजबाट सुनुवाइ शुरु भएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि गत पुस ५ मा पनि पहिलो पटक प्रतिनिधि सभा विघटन गरेका थिए । तर त्यसलाई फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरिदियो । ओलीले दोसेपटक फेरि जेठ ७ मा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरे । ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा विरोध गरेको ठाकुर पक्ष दोस्रो पटक भने बिघटन सही भएको भन्दै सरकारमा गयो । जसपाका एक नेताका अनुसार जसपाका केही नेतामा मन्त्री भएर चुनाव लड्दा चुनाव जितिन्छ भन्ने मनोविज्ञान थियो ।

अर्का अध्यक्ष उपेन्द्र यादवको असहमतिका बावजुद ठाकुर पक्ष सरकारमा गएको थियो ।

प्रधानमन्त्री ओलीलाई त ठाकुर पक्षलाई सरकारमा लैजानु आफू प्रधानमन्त्रीमै रहिरहन सजिलो होस भन्ने हो । किनकि भोली यदि प्रतिनिधि सभा पुर्नस्थापना भएको खण्डमा बहुमत पुर्‍याउन ठाकुर पक्षका सांसद प्रयोग गर्नुपर्नेछ ।

यादव पक्षले दुई पटक प्रतिनिधि सभा विघटन गरेका ओलीलाई साथ दिनुहुँदैन भन्ने अडान राख्यो । तर ठाकुर पक्षले भने ओलीले मधेशका मुद्धा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको भन्दै सरकारमा गयो ।

त्यसअघि ओलीले ठाकुर पक्षलाई सरकारमा जान सहज होस् भनेर जेठ ९ मा नागरिकता सम्बन्धी अध्यादेश जारी गरे, अध्यादेश विरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो। उक्त मुद्दामा सुनुवाइ गर्दै २७ जेठमा सर्वोच्चले त्यसलाई तत्काल कार्यान्वयन नगर्न आदेश दियो ।

अब तत्कालका लागि ठाकुर पक्षलाई सरकारमा उक्लिन र आफ्ना माग अघि सार्न सहज देखिएको छैन । ठाकुर पक्ष सरकारमा नरहेको अवस्थामा अब ओली र ठाकुरको समीकरण के होला ? विग्रहको अवस्थामा पुगेको जसपामा ठाकुर कसरी अघि बढ्लान ? ठाकुर पक्षका नेता डाक्टर सुरेन्द्र झा ओलीसँगको आफूहरुको गठबन्धन नभत्किएको दाबी गर्छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले के गर्छ अनि मात्रै समीकरणबारे थप स्पष्ट हुने उनको भनाई छ । “नागरिकता अध्यादेश र मन्त्रिपरिषद विस्तारमा फैसला गर्दा त्यसको दुरगामी असरलाई सर्वोच्चले हेर्नुपर्थ्यो”, झा भन्छन,“तर अदालतको आदेश सबैले मान्नै पर्छ ।”

डा. सुरेन्द्र झा, नेता जसपा

उता जसपाको आन्तरिक विवादबारे निर्णय लिने जिम्मा फेरि निर्वाचन आयोगको काँधमा पुगेको छ । ठाकुर र यादवले एक अर्कालाई कारवाही गरेको र आ–आफूले पार्टीको आधिकारिकता पाउनु पर्ने माग गर्दै निर्वाचन आयोगमा दोस्रो पटक माग गरेका छन् । त्यसअघि यादवले पार्टीको कार्यकारिणी समितिको बहुमतले ठाकुरलाई पार्टीबाट निष्काशन गरेको पत्र आयोगमा दर्ता गरेका थिए ।

ठाकुरले भने यादवलाई बहुमतले कारवाही गरेको प्रमाणित गर्न सकेका थिएनन् । तर ३० जेठमा यादवले ठाकुरलाई बहुमतले कारवाही गरेको भएपनि दुबैले एक अर्कालाई कारवाही गरेको नमिलेको भन्दै आयोगले निर्णय गरेको थियो ।

पहिलो पटक एक अर्कालाई पार्टीबाट हटाएकाले आयोगको दलसम्बन्धि किताव अद्यावधिक गर्न दुवैले माग गरेका थिए । तर अहिले पार्टीको आधिकारिकताका विषयमा निर्णय गरिदिन आयोगसँग माग गरिएको हो । अहिले पनि यादव पक्षले बहुमतको निर्णयले आयोगमा पत्र दर्ता गरेको बताएको छ । दुबैको मागदाबीबारे आयोगले केही दिन अघि प्रक्रिया अघि बढाएको छ,तर आयोगको निर्णय आउन ४५ दिन भन्दा बढी समय लाग्ने बताइएको छ । आयोगले अब के गर्छ अनि त्यसपछि मात्रै अवस्था हेरेर अघि बढ्ने झा बताउँछन् ।

ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा जसपाभित्र विवाद उत्कर्षमा पुगेर पार्टी नै विग्रहको अवस्थामा पुगेको हो । यादव पक्षका नेता मोहम्मद इस्तियाक राई ठाकुरसहित केही व्यक्तिहरु अहिलेको व्यवस्था र उपलब्धीलाई समाप्त पार्ने षडयन्त्रमा लागेका प्रधानमन्त्री ओलीलाई सहयोग गर्न पुगेकाले उनीहरुबाट अब पार्टीको हित नहुने बताउँछन् ।

मोहम्मद इस्तियाक राई, नेता जसपा

ठाकुर सहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको बहुमतले कारवाही गरिसकेको र उनीहरुले कीर्ते माइन्यूट बनाएर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न जानु हास्यास्पद भएको राईको भनाई छ ।

जसपाको आन्तरिक कलह हेर्दा अब दुबै पक्ष मिलेर अघि बढ्लान भन्ने अवस्था तत्कालका लागि देखिदैन् । जसपामा ठाकुर पक्ष अहिले न सत्तामा न विपक्षमा भन्ने अवस्थामा पुगेको छ । सत्ता पनि गुम्यो,आफ्नै पार्टीमा विग्रह पनि आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?