यातायात व्यवसायीलाई आफ्नै व्यवसाय भयो निल्नु न ओकल्नु : मौद्रिक नीतिको आश !

कोरोना प्रभाव-२

कोरोना महामारीका कारण यातायात क्षेत्रका व्यवसायीलाई आफ्नै व्यवसाय निल्नु न ओकल्नु भएको छ। कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय सार्वजनिक यातायात नचल्दा व्यवसायीलाई आफ्नै व्यवसाय भारी परेको हो ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यातायात क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको छ। सरकारले गत वर्षदेखि नै पटक पटक लामो तथा छोटो दूरीको सार्वजनिक यातायात बन्द गरेपछि यो क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको हो । अहिले यो व्यवसायमा भएको क्षतिको आँकलन गर्न सकिने अवस्था छैन । तर क्षति नियन्त्रण भन्दा बाहिर पुगेकाले व्यवसाय पूर्ण रुपमा ध्वस्त भएको व्यवसायीको गुनासो छ।

कपिलवस्तु निवासी दिनेश सापकोटा विदेशमा केही वर्ष यातायात क्षेत्रमै काम गरे। त्यहाँबाट केही पैसाको जोहो गरेर नेपालमै केही गर्छु भन्ने सोचका साथ नेपाल फर्के । उनले १६ वर्ष अघि नेपालको यातायात क्षेत्रमा हात हाले। अहिले उनका दुईवटा बस छन् । जसमा २२ लाख रुपैँया उनको नगद लगानी छ भने अरु बैंकको लगानी छ। दिनेशले त्यहि बसको आम्दानीले आफ्नो परिवार धान्दै आएका थिए । सरकारले पटक – पटक गरेको लकडाउनका कारण लामो समयमम्म सार्वजनिक यातायातका साधान सञ्चालन हुन नपाउँदा उनलाई परिवार धान्नै समस्या परेको छ। परिवार धान्नकै लागि ऋण लिनुपर्ने अवस्था आएको उनको बाध्यता छ । यातायात क्षेत्रको पेशामा लागेको २२ वर्ष भइसकेकाले अन्य क्षेत्रमा काम खोज्ने अवस्था नभएकाले यस क्षेत्रका व्यवसायीहरुको अवस्था दयनिय बन्दै गएको उनी बताउँछन् । ‘‘यातायात क्षेत्र धरासायी बन्दै गएको छ।’’ सापकोटाले भने।

आम्दानी नहुँदा व्यवसायीलाइ बैंकको ऋण तिर्न निकै समस्या भएको छ । ‘‘ऋणले डुबाउला जस्तो भयो, कसरी चल्ने हामी ?’’ उनले थपे। लामो समय यसै क्षेत्रमा काम गरिरहेकाले अन्य पेशामा अपनाउन पनि गाह्रो , यहि पेशालाई अपनाइरहन पनि गाह्रो भएको उनको गुनासो छ । दुई/दुई वटा बस हुँदा पनि जीवन धान्न समस्या भएको छ भने मजदुरहरुलाई त झन् कति समस्या परेको होला ? उनी प्रश्न गर्छन् ।

गुल्मी स्थायी घर भएका अर्का यातायात व्यवसाय हुन् ,खिमराज ज्ञवाली । उनले पनि बैंकबाट ऋण लिएर बुटवलदेखि काठमाडौं रुटमा बस सञ्चालन गरे। तर कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञा हुँदा अहिले लगानी डुब्ने खतरा भएपछि उनी निकै चिन्तित छन् । बैंकको ऋण तिर्न नसकेर मानसिक तनावमा भएको उनले बताए ।

सापकोटा र ज्ञवाली मात्रै होइनन्, अहिले यातायात क्षेत्रका सबै व्यवसायीको हालत यस्तै दर्दनात्मक छ । सानो लगानी भएका कतिपय व्यवसायीहरु त पलायन नै भईसके । सरकारले अब यातायात क्षेत्रलाई राहत नदिने हो भने यो व्यवसाय धान्नै नसकिने तथा व्यवसायीहरु पलायन हुने खतरा बढेको उनीहरुको गुनासो छ।

गत वर्षको चैत ११ गतेदेखि भएको लकडाउनका कारण यो क्षेत्र निकै प्रभावित भएको थियो। व्यवसायीहरुले ग्यारेजमा गाडी थन्क्याएर राख्न बाध्य भएका थिए । जसले गर्दा गाडी राखिएको ठाउँमै कुहिए, खिया लाग्ने भएर बिग्रिए । जसका कारण यो क्षेत्रको लगानी संकटमा प¥यो। त्यसैले यो क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । यस क्षेत्रलाई सरकारले सहयोग नगर्ने हो भने यातायात व्यवसाय उठ्नै नसक्ने गरी थला पर्ने उनको भनाई छ। ‘‘यातायात क्षेत्र उठ्नै नसक्ने गरी थला परेको छ।’’ सिटौलाले भने । सरकारले सहयोग नगरे यातायात क्षेत्र नै मृत्यु शैयामा पुग्ने उनको आँकलन छ।

प्राथमिकतामा खोप

मुलुकैभरीका सर्वसाधारण चढ्ने सार्वजनिक सवारी साधनमा काम गर्ने आम मजदुरलाई खोप अनिवार्य रुपमा दिनुपर्ने महासंघको माग छ। कोरोना संक्रमणको जोखिम अवस्थामा पनि यातायात क्षेत्रका मजदुरहरुले सेवा दिइरहेको भन्दै जोखिम न्यूनिकरण गर्न खोपको माग गरिएको छ । यातायात क्षेत्रका मजदुरहरुलाई खोपको व्यवस्था गरेपछि मात्रै सुरक्षित रुपमा सवारी साधन संचालन गर्न सक्ने महासंघको भनाई छ। हरेक क्षेत्रलाई खोपको व्यवस्था गरिएको तर यातायात क्षेत्रका मजदूरलाई बेवास्ता गरिएको भन्दै तत्काल खोपको व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाको माग छ।

ठूलालाई काखा, सानालाई पाखा

सरकारले अहिले नीजि क्षेत्रका यातायात मात्रै जोरबिजोरका आधारमा सञ्चालन गरेको छ । तर सार्वजनिक यातायात सञ्चालन गरेको छैन । सरकारले ठूलाबडालाई राहत हुने गरी नीजि सवारी मात्रै सञ्चालन गर्ने निर्णय विभेदकारी भएको व्यवसायीको गुनासो छ। ‘‘यो विल्कुलै अवैज्ञानिक ढंगबाट निर्णय भएको छ।’’ महासचिव सिटौलाले लोकपथसँग भने । स्वास्थ्य मन्त्रालयले अझै पनि कोरोना संक्रमणको जोखिम कायमै छ भन्दै गर्दा सरकारले सर्वसाधारणको हित विपरित नीजि सवारी खोलेको व्यवसायीको आरोप छ। त्यस्तै, सरकारले गैरकानुनी रुपमा संचालन भइरहेको पठाओलाई प्रशय दिएको प्रति व्यवसायीले आपत्ति जनाएका छन्। यदि पठाओ संचालन गर्ने हो भने कानूनी रुपमा संचालन गर्नुपर्ने सिटौला बताउँछन्।

१० खर्ब लगानी जोखिममा

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने देखिएकोे छ। कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसयता लामो समय सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भए । केही समय सञ्चालन हुन थालेका सार्वजनिक यातायात कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा भएपछि पुनःप्रभावित भए । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बौ रुपैँया जोखिममा परेको छ। सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्ब रुपैँया भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी छ। यस क्षेत्रमा १० लाख भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्।

लामो तथा छोटो दूरीका गरी करिब ४ लाखभन्दा बढी साना तथा ठूला सार्वजनिक यातायातका छन् । यी सवारी लामो समय ग्यारेजमा थन्किन्दा खिया लाग्ने, बिग्रिने, चुहिने भएका छन् । सवारी साधनहरु अब कौडीको भाउमा जाने अवस्था भइसकेको छ। जसले गर्दा यस क्षेत्रमा भएको लगानी जोखिममा परेको छ। यातायात क्षेत्रमा मध्यमस्तरका लगानीकर्ताहरुले मात्रै थोरै थोरै लगानी गर्ने भएकाले सरकारको सहयोग बिना उठ्न नसक्ने महासचिव सिटौलाको भनाई छ।

छैन सरकारको राहत

यातायात क्षेत्र अब पूर्ण रुपमा धरासायी भएको छ । व्यवसाय यस्तो अवस्थामा पुग्दा समेत सरकारलाई चासो छैन। गत वर्ष गरिएका प्रतिवद्धता पूरा नभएको भन्दै यसपालि पूर्ण रुपमा कार्यान्वन नहुँदासम्म विश्वास नगर्ने व्यसायीको भनाई छ । राज्यले आफैँ सवारी सञ्चालन गर्न नदिएको समयको पनि कर छुट नदिएको प्रति व्यवसायी दुःखीत भएका छन् । कोरोनाका कारण बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन हो। पर्यटन क्षेत्रलाई सरकारले प्रशस्त राहत दिएको भए पनि यातायात क्षेत्रलाई राहत व्यवसायीको गुनासो छ। ‘‘सार्वजनिक यातायातलाई सरकारबाट कुनै सहयोग भएन।’’ महासचिव सिटौलाले भने।

मौद्रिक नीतिकै आश

सरकारले गत जेट १५ मा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । बजेटले पनि यातायात व्यवसायीलाई चित्तबुझ्दो राहत नदिएको गुनासो व्यवसायीहरुको छ। त्यसैले अब यातायात व्यवसायीहरु मौद्रिक नीतिको बाटो कुर्न थालेका छन्। गत वर्ष नै सरकारले यातायात क्षेत्रलाई बढी प्रभावित भएको क्षेत्रमा राखेको थियो। तर यसपालि अति प्रभावित क्षेत्रमा राखी उचित राहतको व्यवस्थाा गर्न व्यवसायीको जोडदार माग छ।

मौद्रिक नीतिको पूर्वसन्ध्यामा अर्थसचिव शिशिर ढुंगाना तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यातायात क्षेत्रलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन् । त्यसैले व्यवसायीले मौद्रिक नीतिको पखाईमा रहेको सिटौला बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?