चन्दाको धन्दा

भिडियो रिपोर्टसहित

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा र प्राकृतिक प्रकोपका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

प्राकृतिक प्रकोप, अस्थिर राजनैतिक अवस्था, परम्परावादी र संकुचित सोच, समाजमा ब्याप्त रहेका सामाजिक समस्या लगायतका कारण हाम्रो समाजमा हत्या, हिंसा, बलात्कारजस्ता अपराधिक घटनाहरु मौलाइरहेको छ।

यस्तै आपत् विपतले पीडामा छटपटाएकाहरुलाई सहयोग गर्ने सहयोगी हात र सामाजिक अभियन्ताहरु पनि बढेका छन् । पछिल्लो समय नेपालमा यसको खेती राम्रैसँग फस्टाइरहेको छ।

समाजसेवा भन्नलाई जति सजिलो छ, गर्नलाई त्यतिकै गाह्रो पनि छ । त्यसो त सामाजिक अभियन्ता भनिएकाहरुको उग्रताले उनीहरु बारम्वार आलोचित बन्दै आएका छन् । कतिपयले त कुटाइ पनि खाएका छन् । समाजसेवा गर्नेलाई त सम्मान गर्नुपर्ने हो तर उनीहरु किन कसैको आँखाको कसिंगर बनिरहेका छन् त ?

सामाजिक अभियन्ता भनिएका ज्वाला संग्रौला एक महिनामै तीन पटक आलोचित भइन् । अहिले प्रहरी हिरासतमा रहेकी उनले आफूलाई लागेको आरोपको स्पष्ट खण्डन गरेकी छैनन् । बितेको एक महिनामा उनी तीन पटक आलोचित बनिन् । सोचनीय कुरा के हो भने, एक जना सामाजिक अभियन्ता एक महिनामै तीन-तीन पटक किन र के कारण आलोचित हुन्छन् ? कारण अनेक  होलान् तर यसले राम्रो संकेत गरेको छैन।

अर्का सामाजिक अभियन्ता भनिएका ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीले ज्ञान त बाँडेका छन् तर उग्र र उत्तेजित ज्ञान । नेपाली राजनैतिक दलहरुको अस्थिरताको फाइदा शाहीले मज्जाले उठाईरहेका छन् ।

सामाजिक अभियन्ताहरु आलोचकहरुबाट मात्रै होईन अभियन्ताहरुबाटै पनि आलोचित छन् । यतिसम्म की उनीहरुबीच नै बेलाबखत कुटाकुट समेत हुने गरेका छन् । धेरै युट्युब संचालकलाई खेती दिएका पुण्य गौतम तिनै युट्युब संचालकहरुबाट नै कुटिएका छन्।

यस्तै पछिल्लो समय जय नारीको अभियान थालेर एकाएक चर्चामा आएकी अभियन्ता हुन्, सावित्री सुवेदी । महिला सशक्तिकरणका लागि भन्दै कडा रुपमा प्रस्तुत भईरहेकी सुवेदी पनि आलोचनाबाट भने मुक्त छैनन् ।

यी त केही पात्र मात्रै हुन् । सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अलपत्र पारेर आफ्नो विवाहमा फजुल खर्च गरेको भन्दै अभिनेत्री श्वेता खड्का आलोचित बनिन् । सामाजिक अभियन्ताका उपमा पाएका हेमराज थापा पनि उत्तिकै विवादमा परिरहने व्यक्ति हुन् । यस्तै सामाजिक अभियन्ता भनिएका सरस्वती काफ्ले, शर्मिला वाइबा, जेरी ताम्राकारलगायत पनि आलोचनाबाट मुक्त छैनन् ।

पहरी र मुसहर बस्ती हुँदै क्रिकेट रंगशाला निर्माणमा लागेका हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे अहिले आर्थिक समस्यामा परेका छन्।

युट्युब र टिभीमा कार्यक्रम संचालक गर्नेहरु पनि एकपछि अर्को सामाजिक अभियन्ता बनेर सक्रिय छन् । सामाजिक अभियन्ताहरुले धेरैको भोक मेटाइ दिएका छन् । पीडामा मल्हम लगाईदिएका छन् । तर विडम्वना उनीहरुले आफूमाथि लागेको आरोपको भने तथ्यगत खण्डन गर्न सकेका छैनन् ।

कानूनले के भन्छ ?

पछिल्लो समय अलिकति चर्चामा आउने बित्तिकै आफूलाई सामाजिक अभियन्ता भनेर स्वघोषणा गर्ने लहर चलेको छ।

समाज कल्याण ऐन, २०४९ ले समाजका कमजोर, असहाय र असक्त व्यक्तिको लागि सेवा पुर्‍याउने र पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउन गरिने कार्यलाई सामाजिक कार्य भनेको छ । यस्तै ऐनको दफा ४ (ख) मा समाज सेवा भन्नाले नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रुपमा गरिने समाज कल्याण कार्य सम्झनुपर्छ भनी व्याख्या गरिएको छ।

नेपाल तथा एसियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक तथा समाजशास्त्री डा. मृगेन्द्र कार्की सवै सामाजिक अभियन्ताहरुलाई एउटै नजरले हेर्न नमिल्ने बताउँछन् । सामाजिक अभियन्ताहरु पनि जिम्मेवार हुनुपर्ने बेला आएको डा. कार्कीको भनाइ छ ।

पीडितलाई सहयोग गर्ने वास्तविक सहयोगीहरु गुमनाम जस्तै छन् तर अरुबाट सहयोग लिएर वितरण गर्ने अभियन्ता भनिएकाहरु भने दिन दुगुणा रात चौगुणा चर्चा र केहि दिनपछि विवादमा तानिरहेका छन् । सहयोग गर्नेहरु खाडीमा छन्, सहयोग मागेर बाँड्नेहरु चिल्ला गाडीमा छन् ।

तसर्थ दुःखी पीडितलाई सहयोग गर्नु ठूलो मानव धर्म हो भने आरोप लागेपछि त्यसलाई चिर्नुपनि अभियन्ताहरुको दायित्व हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?