हाम्रो योगमा हामी कसरी चुक्यौँ ?

लोकपथ
1.4k
Shares

संयुक्त राष्ट्र संघले सन् २०१४ मा जून २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मान्यता दिएपछि अहिले योगको महिमा नेपाल र भारतमा मात्र नभएर विश्वका १ सय भन्दा बढी देशमा पुगेको छ । संयुक्त राष्ट्र संघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस मनाउनुपर्छ भनेर नेपालले पहिलो पटक समर्थन गरेको कारणले पनि यो दिवसको शुरुवात भएकोमा विश्वव्यापी दृष्टिकोणले हेर्ने हो भने नेपालले खुशी मान्नुपर्ने केही कारणहरु मात्र रहेको छ ।

तर, नेपालमा भने विश्व योग दिवस मनाउनु पर्छ भन्ने अभियानको प्रारम्भ भने २०३६ अर्थात् सन् १९८० देखि नै शुरु भएको थियो । यो अभियान अन्तर्गत माघ १ गतेलाई विश्व योग दिवसको रुपमा मान्यता दिऔँ भन्ने तर्क पूर्ण अभियान संचालन भएको थियो । संयुक्त राष्ट्र संघले घोषणा गरेको जुन २१ को दिनलाई जसरी अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मान्यता दियो यो भन्दा माघ १ अर्थात् जनवरी १४ तारिख योग विज्ञानले व्याख्या गरेका विविध विषयमा तर्कपूर्ण रहेको छ ।

हामीले ६–६ महिनाको अन्तरमा उत्तरायन र दक्षिणायन मान्ने गरेका छौँ । माघ १ गते मकर संक्रान्ति पर्ने र यो दिन देखि सूर्य उत्तरायनमा जाने हुनाले योग, अध्यात्म, सांस्कृतिक र धार्मिक रुपमा यो दिन अति नै महत्वपूर्ण मानिन्छ । योग र अध्यात्मको दृष्टिकोणले हेर्दा सूर्य उत्तरायण पवेश गरेपछि गरिने योग साधनाको फाइदा बढी हुने हुन्छ । सांस्कृतिक रुपमा हेर्ने हो भने माघ १ गते मकर संक्रान्ति पर्छ । यो दिन धेरै जातजातीले आफ्नो मुख्य चाडवाडको रुपमा मनाउने गर्छन् । पछिल्लो पटक नेपालमा दसैँ तिहारहरु सबै जातजातीले मनाउँछन् नै भन्ने छैन । तर मकर संक्रान्ति मात्र यस्तो चाडको रुपमा देखिएको छ । जसलाई सबै जातजातीले आ–आफ्नो मौलिक परम्पराको रुपमा मनाउने गर्छन् । कतिपय जातजातीको त यो नयाँ वर्ष समेत हुने गर्छ ।

धार्मिक दृष्टिकोणले हेर्दा महाभारतको युद्धमा भिष्म पितामह वाणको मृत्यु शैयामा बसेर उत्तरायणको पहिलो दिन प्राण त्याग्ने मनसायमा बसेको प्रसंग आउँछ ।

हामीले यो अभियानमा माघ १ लाई विश्व योग दिवसका साथै नयाँ योग सम्बत् को रुपमा लैजाने अभियान पनि बनाएका थियौँ । यसका लागि हामीले योगको नयाँ पञ्चाङ्ग निर्माण गरेका थियौँ । किनकी नेपालमा मात्र विक्रम सम्बत् लाई नयाँ वर्षको रुपमा मानिन्छ । बाँकी विश्वले ईश्वी सम्बत् लाई नै मान्न थालेका समेत थिए । फेरि यो दिन नेपालका सबै जातजातीलाई पर्व मनाउने दिन भएको कारण सबै नेपालीले गौरव समेत गर्ने दिनको रुपमा रहेको थियो ।

२०३६ सालमा पाल्पाबाट शुरु भएको यो अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न थालियो । संयुक्त राष्ट्र संघको निकायमा सम्पर्क राख्दा कुनै पनि अन्तर्राष्ट्रिय दिवस मनाउन संघसंस्थाले प्रस्ताव लैजान नमिल्ने बरु राष्ट्र प्रमुख मार्फत् संयुक्त राष्ट्र संघको महासभामा लैजान मिल्ने जानकारी पाईयो । त्यो बेला संचार माध्यमहरु अहिलेको जस्तो सुलभ पनि थिएनन् । नेपालको राष्ट्र प्रमुख मार्फत् संयुक्त राष्ट्र संघमा लैजान तत्कालिन राजा वीरेन्द्र विरविक्रम शाह समक्ष अनुरोध ग-यौँँ । राजा वीरेन्द्रको संयुक्त राष्ट्र संघमै शान्ति क्षेत्रको प्रस्ताव रहेको थियो । विश्वका ६० भन्दा बढी राष्ट्रले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई स्वीकार गर्दा छिमेकी राष्ट्र भारतले स्वीकार नगर्दा शान्ति क्षेत्रको प्रस्ताव नै पारित हुन सकेको थिएन । बहुदलीय व्यवस्था आएपछि प्रत्येक पटक बन्ने नयाँ प्रधानमन्त्रीलाई हामीले योगलाई अन्तर्राष्ट्रिय दिवसमा सहभागि गराउनुस् भनेर विस्तृत रुपमा जानकारी गरायौँ । तर कोहीबाट कुनै किसिमको चासो र सुनुवाई पनि भएन । राष्ट्र संघले योग दिवस घोषणा गर्नुभन्दा अगाडी नेपालमा आयोजना भएको सार्क शिखर सम्मेलनको अवसर पारेर पनि हामीले यो प्रस्तावलाई लैजानुस् भन्यौँ त्यो बेला पनि नेपाल सरकारका प्रमुखबाट कुनै किसिमको पहलकदमी नै भएन । राष्ट्र संघको नियम अनुसार कुनै पनि राष्ट्रले राखेको प्रस्तावलाई छिमेकी मुलुकले समर्थन नगरेसम्म त्यो पारित नहुने भन्ने नै छ । जसको कारण योगको महत्व थाहा पाएर पनि प्रस्ताव लैजान सकेन । बरु भारतले राख्दा नेपालले पहिलो समर्थकको रुपमा हस्ताक्षर गरेर पारित गराउन मद्धत भने गर्‍यो।

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा आएपछि उनी प्रति धेरैको नयाँ किसिमको आशा रहेको थियो । भारतीयलाई पनि मोदीले धेरै गर्छन् भन्ने नै थियो भने उनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले ठुलै कुरा गर्छ भन्ने देखाउनु पनि थियो । यस्तो दवाबको अवस्थामा मोदीसँग कुनै किसिमको विकल्प थिएन । उनी धार्मिक आडमा आएका प्रधानमन्त्री भएको कारण धर्मको फण्डा फ्याँकेर भारतलाई अन्तर्राष्ट्रिय चर्चा ल्याउनै सक्दैन थिए भने रातारात विकास गरेर विश्वलाई देखाउन पनि सक्दैन थिए । त्यो बेला मोदीका सल्लाहकारहरुलाई फुरेको कुरा भनेकै योग थियो । योगको यो छडीलाई राम्ररी घुमाउन पाएमा उनी विश्वभर हाईहाई हुने थिए । जसको कारण उनले योगले यो यो गर्छ, विश्वलाई यसरी एकतावद्ध गर्छ भनेर संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव लगे । यो प्रस्तावलाई नेपालले पहिलो पटक समर्थन गरेपछि पारित भयो भने राष्ट्र संघको इतिहासमा कुनै पनि दिवसले ९० दिनको अवधिमै १७७ राष्ट्रले हस्ताक्षर गरेर सर्वाधिक समर्थन पाउने दिवस समेत बन्यो ।

२१ जुनलाई नै किन नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव राखे भन्ने विषयमा बाँकी विश्व त्यति जानकार छैन । योग र आध्यात्मको दृष्ट्रिकोणले यो दिन कुनै पनि पक्षमा योग दिवस मनाउन योग्य देखिँदैन ।

नेपालले अन्तर्राष्ट्रिय योग दिवस मनाउने अवधारणा राष्ट्र संघमा राख्न नसक्नु र भारतले राखेको प्रस्ताव रातारात सफल भएपछि हामीले ठुलै कर्म गुमाएको महशुस सरकारका निकायमा बस्नेहरुले गरे । फेरि पनि सरकारलाई यो विषयमा सजग गरायौँ । त्यसपछि बल्ल नेपाल सरकारको आँखा खुल्यो । उनीहरुले आफ्नो लाचारीपन देखाउदैँ सोही बर्षको माघ १ गते मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय योग दिवस घोषणा गरे ।

हामीले योगलाई हाम्रो भन्नु पर्छ भन्ने यथेष्ट तर्कहरु सरकारलाई त्यो बेलामा प्रस्तुत गरेका थियौँ । नेपाल योगको विकास भुमि किन हो भन्ने कुरा नेपालको ऐतिहासिक विभिन्न कालखण्डको इतिहासलाई हेर्ने हो भने थाहा हुन्छ । विभिन्न समयमा विकास भएका सभ्यतालाई आधार मान्ने हो भने मुख्य रुपमा तिन मुख्य सभ्यता र विभिन्न जातजातीको लघु सभ्यताहरुले पुष्टि गर्छ । विभिन्न कालखण्डमा लेखिएको ताम्रपत्र, शिलापत्र र कार्बन डेटिङ गरेर हेर्ने हो भने हिमाली क्षेत्रमा विकास भएको शिव सभ्यता, मिथिलामा विकास भएको जनक सभ्यता र लुम्बिनीमा विकास भएको बुद्ध सभ्यता नै हो ।

प्राचिन समयका ग्रन्थहरुमा उच्च हिमाली क्षेत्रहरुमा बसेर साधना गरेका ऋषीहरु भनेका छन् कि शिवको कुरा गर्दा उच्च हिमवत क्षेत्रमा बसोबास गर्ने भनेर उल्लेख गरिएको छ । विश्वका १० अग्ला हिमाल मध्ये ८ वटा हिमालहरु अहिलेको नेपालमै भएको कारण यी कुराहरुमा हाम्रो बलियो आधारहरु रहेको छ । प्राचिन ग्रन्थहरु सबै भोजपत्रमा लेखिएका छन् । भोजपत्र भनेको माथिल्लो पहाड र तल्लो हिमाली क्षेत्रमा पाईने वनस्पती हो । त्यो तराई र मधेशमा पाईने विरुवा होईन । त्यसैले भोजपत्रमा लेखिएका ग्रन्थहरुले पर्वतीय क्षेत्रमै योग ध्यान साधनाको विकास भएको देखिन्छ ।

बुद्ध सभ्यता वा बौद्ध दर्शनवाट ध्यानलाई हटाउने हो भने केही पनि हुँदैन। त्यसैले ज्ञानको केन्द्रबिन्दुमा बसेर बुद्ध दर्शन निर्माण भएको छ । बुद्ध भगवान् नेपालकै हुन् । यस्तैगरी जनका सभ्यता मिथिला क्षेत्रको ठूलो धरोहरको रुपमा रहेको थियो । यो पनि नेपालमै भएको जग्जाहेर नै रहेको छ । यो बाहेर हाम्रो देशमा रहेका विभिन्न जात जातीको पनि आ–आफ्नै किसिमका मौलिक सभ्यताहरु रहेका छन् । जस्तो कालिगण्डकी क्षेत्र, डोल्पा, मुस्ताङ आदीका सभ्यताहरु पनि योगका विभिन्न आयामहरुलाई बढाउने सभ्यताको रुपमा रहेको पाइन्छ ।
योगको जन्म कहाँ भयो भनेर खेलिने बेलामा नेपाल भन्ने देशको निर्माण नै भएको थिएन । त्यो बेला यो सम्पूर्ण क्षेत्रलाई भारत वर्ष भनिन्थ्यो ।

भारत वर्षमा अहिलेको दक्षिण एशिया देखि पूर्वी एशियासम्मका भू–भागलाई समेटिएको थियो । त्यो बेलाको भारत वर्ष भनेको अहिलेको भारत (ईण्डिया) लाई भनेको त थिएन । भारतका स–साना राज्यहरुको एकिकरण भएपछि बल्ल भारत भनिन् थालिएको हो । यो भनेको १ सय वर्ष पनि भएको छैन । तर भैदियो के भने त्यो भारत वर्षलाई ईण्डियाले आफ्नो भारतसँग जोडिदियो । जस्तो अंग्रेजीमा लेख्दा ईण्डिया, हिन्दिमा लेख्दा भारत र सांस्कृतिक रुपमा लेख्दा हिन्दुस्तानलाई प्रचलनमा ल्याए । त्यसले कतिपय कुराहरुलाई उनीहरुले नाम मार्फत् क्यास समेत गरे ।

पुराण भनेको धर्मग्रन्थ मात्र नभएर हाम्रो इतिहासको एक दस्तावेज पनि हो त्यसमा प्रष्टसँग लेखिएको छ । हिमवत खण्ड, नेपाल माहात्मे जस्ता शब्दहरु । मध्यकालिन ग्रन्थहरुमा पनि केही उल्लेख भएको पाईन्छ । हिमालय क्षेत्रमै सबैभन्दा धेरै ऋषी, साधु–सन्तहरु बसेर साधना गरेको बताइन्छ । ति साधु–सन्त, ऋषी–योगीहरुमा दुई किसिमका स्वभावहरु रहेको थियो । एक आफुले आत्मा साक्षात्कार गरेर आनन्दित भएर एक्लै बसे । अर्को समूह हामी त आनन्दित भयाँै, अर्को पुस्तालाई पनि आनन्दित गर्नुपर्छ भनेर अरुलाई पनि अगाडी सारेर सामाजिक काम गरे । जसको कारण उनीहरुले किताब लेखे, गुरुकुलहरु खोले । यही क्षेत्रहरुमै यो कामको थालनी पनि गरे । भौगोलिक विकटताले गर्दा शिक्षाको क्षेत्रमा सबैजना आउन सकेनन् । जसको कारण उनीहरु उनीहरु समथर स्थानमा जान थाले । जहाँ त्यो बेला पशुहरुको सहयोगमा यातायातको सेवा लिइन्थ्यो । यसरी समथर भूभागहरु रोज्ने क्रममा नालन्दा, बिक्रमशिला, तक्ष्यशिला, काशी जस्ता भूभागहरु रोजे । जसको कारण यो क्षेत्रमा ठूला विश्वविद्यालयहरु सञ्चालनमा आयो ।

हाम्रा योगका प्राचिन ग्रन्थहरु संस्कृत भाषामा थिए । प्राचिन समयमा पढाईका केन्द्रहरु त्यहाँ पढ्न गएका व्यक्तिले त्यहीँकै कुरा पढे । उनीहरुले यहाँ आएर खोज्नुपर्छ भन्ने कुराको चिन्तन विकास नै गर्न सकेनन् ।

नेपालको अझै पनि गौरव पूर्ण इतिहास खोजिएकै छैन । नेपालको वास्तविक इतिहास लेखिएकै छैन भन्छु । हामीले जुन कुरालाई इतिहास भनेर पढिरहेका छौँ त्यो त राजा महाराजाको भोग बिलास र युद्ध कौशल मात्र लेखिएको छ । नेपालको इतिहास भनेको खै स्वास्थ्यको इतिहास, विज्ञानको इतिहास, कृषिको इतिहास, साहित्यको इतिहास आदी । हाम्रो जस्तो प्राचिन देशमा के, केही पनि थिएन त ? हाम्रो देशमा मल्ल काल देखिकै कुरा गर्ने हो भने पनि काठमाडौं उपत्यकाका तीन जिल्लामा कला, संस्कृतिको कति धेरै इतिहासहरु रहेका छन् । तर

हाम्रो इतिहास कहाँ छ र ?

नेपालको बारेमा लेखिनुपर्छ । त्यही लुम्बिनी पनि नेपालीले बुद्ध जन्मस्थल भनेर खोजेन । विदेशीहरू आएर खोजे पछि त हामीले बल्ल थाहा पायौँ । हाम्रो हिमाली क्षेत्रमा डोल्पा, मुस्ताङमा हे¥यौँ भने कति धेरै इतिहास जनाउने दस्तावेजहरु रहेका छन् । मुस्ताङका गुफाबाट फेला परेका हस्तलिखित ग्रन्थहरु विदेशीले लिएरै गए । हामीले अझै पनि हाम्रो इतिहासलाई पुर्नस्थापित गर्ने हो भने हामीले सक्छौँ । अहिले बनेका अन्तर्राष्ट्रिय कानूनले हाम्रो सम्पदाहरु विदेशमा छन् भने तिनलाई फर्काउन सकिने कानून आएको छ । त्यसैले हाम्रा प्राचिन मुर्तिहरुलाई फर्काएर हामीले हाम्रो दस्तावेजहरु बनाउनु पर्छ । हाम्रो इतिहासको बारेमा फेरि लेखिनुपर्छ ।

अध्यात्म भन्ने बित्तिकै, योग भन्ने बित्तिकै हामीसँग केही छैन भन्ने सोच्ने गरेका छौँ । जसले गर्दा हामीलाई सधैँ दक्षिणतर्फ प्रभावित गरिरह्यो । भारतका सच्चा साधु–सन्त ऋषीहरुले पशुपतिनाथ, मुक्तिनाथको गौरव गाउछन् । तर हामी चार धाम गर्न भनेर उतैतिर जान्छौँ । यतातिरको महत्व बुझ्दैनौँ ।

वैद्धिक उपनिषद् कालमा यति धेरै सम्प्रदायहरु थिएनन् । अहिले त भारतमा ५ सय भन्दा बढी सम्प्रदायहरु देखा परेका छन् । यस्ता सम्प्रदायले साधु–सन्त बनाउने चेलाहरु बनाएर दिक्षित गर्ने, एउटा कम्युनिटी बनाउने लहर देखियो । जसको कारण दक्षिणतिर आश्रम भन्ने बित्तिकै कसको आश्रममा चेला धेरै छन् ? कसको आश्रम ठूलो छ, धन दौलत वैैभव धेरै छ ? को साधु धनी छ ? भन्ने परिपाटी विकसीत भयो ।

जसको कारण यताका मानिसहरुलाई पनि आकर्षित गर्‍यो । यसरी आकर्षित भएर गएकाहरुले आश्रमबाट त्यही कुरा सिकेर नेपाल आए । त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको हो ।

हिमाल पहाडतिर साधना गर्न आउनेले साधु–सन्त, योगीहरुले न चेला बनाए, न आश्रम बनाए, न अरु आफ्ना भौतिक संरचना नै बनाए । यहाँ साधना गर्ने सन्तहरुलाई नै हेरौँ न पछिल्लो समय यो क्षेत्रमा साधना गरेको शिवपुरी बाबा, खप्तड बाबा, योगी नरहरी नाथ जस्ताले पनि चेला बनाउनुभएन । त्यसैले सच्चा साधु–सन्त ऋषीहरु हिमालय क्षेत्रमै साधना गर्न आउँछन् । यहाँको साधनाले उनीहरुलाई ग्ल्यामर बनाउने भन्दा आध्यात्म छवि नै दिने गर्छ ।

(डा. हरिप्रसाद पोखरेल ‘मनसाग्नि’सँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?