ट्रेकिङ गाइडको लकडाउन डायरी : म त विदेश जान्छु होला !

काठमाडौं – बितेको १५ महिनादेखि नेपाल कोरोना महामारीको चपेटाबाट गुज्रिरहेको छ । कोरोनाको कारण सबै क्षेत्र ठप्प छ । भाइरसको उत्परिवर्तन हुने गुण र खोपको उपलब्धता नभएका कारण मानिसहरु आतंकित छन् । कोरोनाको नयाँ भेरियन्टका कारण लामो समय बन्द रहेर खुलेका व्यापार व्यवसाय समेत प्रभावित बने । त्यतिमात्रै होईन सिंगो देशले आर्थिक रुपमा ठूलो क्षति ब्यहोर्नुपरेको छ । व्यापार व्यवसाय ठप्प हुँदा ऋण लिएर लगानी गर्नेहरु थला परेका छन् ।

कोरोनाको कहरले संक्रमणको अवस्थामा मात्रै होईन, त्यसपछिका दिनमा समेत अत्याधिक प्रभाव पार्ने एउटा आर्थिक मेरुदण्डको क्षेत्र हो – पर्यटन । पर्यटन क्षेत्र कोभिड १९ को कारणले सबैभन्दा प्रभावित बनाएको क्षेत्र हो । महामारीको कारण संक्रमणदर दिनहुँ बढ्दै जान थालेपछि देशव्यापी रुपमा निषेधाज्ञा घोषणा भयो । यहि कारणले नेपाल भ्रमणका लागी भनेर आएका कति पर्यटक आफ्नो देश फर्किन पनि पाएनन् । १ हप्ता १५ दिन भन्दै लामो समयसम्म लकडाउन लम्बिन थालेपछि देशहरुले चार्टड उडानमार्फत् आ – आफ्नो देशका नागरिक लैजान थाले जस्तै युरोपको नागरीकहरुलाई युरोपियन युनियनले, फ्रान्स, जर्मनले विशेष जहाज पठाएर लगेको थियो भने अरु देशका नागरिकहरुलाई पनि चार्टड फ्लाईटमार्फत् उद्धार गरिएको थियो।

पर्यटन क्षेत्रसँगै आउने नाम हो, पर्यटक । र, पर्यटकसँग जोडिन्छन् ट्रेकिङ गाइड । जब विदेशीहरु नेपाल घुम्न भनेर आउँछन्, उनीहरुले नेपालको बारेमा अझ विशेष जानकारीसहित घुम्न र सहज यात्राका लागि ट्रेकीङ गाइडको सहायता लिन्छन् । नयाँ – नयाँ ठाउँ चिनाउन र स्थानीय ठाँउहरुको विशेषता थाहा पाउनको लागी विशेषगरी पहाडी, हिमाली ठाँउहरुमा ट्रेकीङ गाइडको अनिवार्यता उनीहरु आफैँले महशुस गर्ने भएको कारण र आम्दानी राम्रो हुने भएका कारण धेरै युवापुस्ता ट्रेकीङ गाइडको रुपमा नेपालमा कार्यरत छन् । पर्यटकले जब कुनै कम्पनिमा बुक गर्छन् तब कम्पनिको नियम अनुसार गाइडहरुले तलब पाउने गर्छन् ।

ट्रेकीङ गाइड को कामलाई पछिल्लो समय एकदमै राम्रो पेशाको रुपमा पनि लिइन्छ । गाइडहरु विभिन्न ठाँउहरुमा घुम्न पनि पाउने र आय आर्जन पनि राम्रो हुने पेशाको रुपमा लिइन्छ ।

तर कोरोना महामारी नेपाल भित्रिएसँगै कैयौँ ट्रेकिङ लाइसेन्स भएका गाइडहरुको पनि खल्ती रित्तो छ । ट्रेकीङ गाइडहरुले काम नपाएको लगभग डेढ वर्ष भयोे । कोभिड १९ कै कारणले पर्यटकहरु आउन छोडेको १५ महिना पूरा हुँदा उनीहरु कामविहिनताको अवस्थामा पुगेका हुन् ।

२७ वर्षिय लोकनाथ कार्कीले ५ वर्ष अगाडी ट्रेकिङ गाइड लाइसेन्स प्राप्त गरेका हुन् । उनले गाइडको रुपमा काम गर्न थालेको करीब ८ वर्ष भयो तर ७७ सालको चैत ११ बाट उनी बेरोजगार भएका छन् । हातमा काम नआएको लगभग डेढ वर्ष भएका कारण उनलाई चिन्ता हुन थालेको छ । ‘काम भईन्जेल एकदमै खुसी थिएँ । नयाँ नयाँ ठाँउको भ्रमण , नयाँ मान्छेसँगको सहकार्य, फरक फरक विचार भएका व्यक्तीहरु सँगको भेटघाट र चिनजान अनी दुखमा पनि मिसिएको खुसीको अनुभव, फरक फरक ठाँउको भ्रमणको क्रममा लिइएको तस्वीर, कहिले पोखरादेखि मनाङ मुस्ताङ भने कहिले पुन हिल देखि अन्नपुर्ण बेस क्याम्प अनी चित बुझ्दो कमाइ । यी सबै कुरा अब कहिले प्राप्त हुन्छ टुंगो छैन ।’

उनले चैनको श्वास फेर्न सकेका छैनन् । ‘पर्यटकका गर्‍हौँ भारी बोकेर पसीनाको धारा बगाउँदै उकालोमा हिँड्दा ‘यो काम भोलि नै छोड्दिन्छु’ भन्ने नलागेको पनि होईन तर हिमालको चुचुरोमा पुगेर फोटो खिच्दा ‘जिन्दगी नै यहि पेशामा समर्पण गर्छु’ भन्ने लाग्थ्यो ।’ उनी विगत सम्झन्छन् ।

सुख पनि अति नै अनि दुख पनि अति नै भएको यो पेशाको आफ्नै विशेषता छ । लगाव लगाएर धैर्यता र ईमान्दारितासहित काम गरेको खण्डमा यो पेशाले निकै आनन्द दिनेछ । उनले बुझेरै यो पेशा रोजेका हुन् ।

ऐसेलुखर्कदेखिको सपना…
कार्कीको जन्म खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा – १ मा भएको थियो । उन्ले एसएलसीसम्म गाउँकै स्कुलमा अध्यन गरे । उच्च शिक्षाको लागी भनेर ६७ सालतिर काठमाडौं छिरेका उनको परिवारमा ५ दाजुभाइ १ बहिनी, आमाबुवा गरी ८ जनाको परीवार छ । उनी अहिले काठमाडौंको माछापोखरीमा बस्दै आएका छन् । घरको काइलो छोरा कार्कीका सबै दाजुभाइको छुट्टाछुट्टै क्षेत्रमा राम्रो काम ।

‘तर लकडाउनले चौपट पारीदियो ।’ उनी खुईई गर्छन् ।
अब के होला भनेर तनावमा छन्, मनमा अनेक कुरा खेल्छ । कहिले वैदेशिक रोजगारीबारे त कहिले कृषी व्यवसाय बारे सोचेरै उनको दिनचर्या बितिरहेको छ । अहिले परिवार र साथिभाइको आर्र्थिक सहयोगमा गुजारा गर्दै आएका उनीसँग केहि प्रश्न गरेका छौँ ।

लामो समयदेखि गर्दै आएको काम अचानक रोकिएर बेरोजगार बस्नुपरेको कति समय भयो ?
लगभग डेढ वर्ष । ७७ सालको चैत्र ११ गतेबाट नै ठप्प भएको हो । अहिले सम्म खुलेको छैन र कहिले खुल्छ भन्ने टुङगो पनि छैन ।

लकडाउनको बिचमा अरु केहि गर्छु जस्तो लागेन?
सोच्न बाध्य भएको छु यसरी कति दिन चल्छ ? दिन हप्ता, महिना भन्दाभन्दै २ वर्ष हुन लाग्यो । एक सुको कमाई छैन । खुल्छ कि भन्दा भन्दै २ वर्ष पुग्न लाग्यो अब विदेश जाने निर्णयमा पुगेको छु । जसरी भए पनि जीवन धान्नैपर्यो ।

ट्रेकिङ गाइडको पेशा कसरी रोज्नुभयो ?
ट्रेकीङ गाइड हुनुभन्दा अगाडी एउटा प्राइभेट कम्पनिको पार्कीङमा पैसा उठाउने काम गर्थे । महिनामा ३ हजार तलब दिइन्थ्यो । त्यसले केहि गर्न पुगेन आफैँ कमाएर पढाइ खर्च कोठा भाडा सबै व्यवस्था गर्नुपर्ने भएर ट्रेकीङ गयो भने अलिक धेरै पैसा कमाउन सकिने र नयाँ नयाँ ठाँउको भ्रमण गर्न पाउने कुरा सुनेर यो पेशामा आएको हुँ तर पछि काम गर्दै जाँदा अब यसैलाई पेशा बनाउछु भन्ने सोचेँ।

कमाईमा कत्तिको सुन्तुष्टि थियो ?
कमाई सन्तोषजनक नै हुन्थ्यो । काम हुँदा सम्म त यही हिसाबले नै चल्यो भने भविष्यको बारेमा भन्न सकिन्न तर लकडाउन अगाडीसम्म चाहीँ मैले पनि सकेसम्म यो पेशालाई नै अगाडी बढाउछु भन्ने नै सोचेको थिए त्यहि भएर विदेश जाने पनि कहिले सोचिन अचानक कहिल्यै नसोचेको रोग आएर घरको न घाटको बनायो । अहिले त परिवार र साथिहरुको आर्थीक सहयोगमा गुजारा गर्दैछु । काम गर्दै जाँदा न केहि सामाजिक सुरक्षा छ, आफूले काम गर्न सकुन्जेल काम गर्‍यो काम गर्न सक्न छोडेपछि अर्काको गोठालो गएर फर्के जस्तै हो ।
डेढवर्षसम्म पनि नखुलेपछि चाहिँ म पनि विकल्प विदेश नै सोचेर दूतावास धाउन थालेको छु । यहि अवस्था हुँदै गयो र सरकारले ईन्सुरेन्स तथा सामाजिक सुरक्षा भत्ता जस्तो सुरक्षा सम्बन्धि नीति लिएन भने र पर्यटनमा काम गर्ने मान्छे पनि हाम्रै देशका लागि काम गर्ने मान्छे हुन्, यीनीहरु पनि अप्रत्यक्ष रुपमा एक खालकोे राजदुतका रुपमा काम गर्छन् भन्ने खालको निती लिएन भने अयन्त्र जान बाध्य हुनुपर्ने दिन पक्कै आउँछ।

सँगै काम गर्ने साथीहरु ?
सँगै काम गर्ने साथीहरु कसैले कृषि फर्म खोल्नु भएको छ । कोहि वैदेशिक रोजगारको लागी भनेर दूतावास धाउन थाल्नु भएको छ भने कोहि गाँउ फर्केर बसिरहनु भएको छ, कसैले क्याफे खोल्छु अब भन्ने सोच बनाउदै हुनुहुन्छ कोही बिहे गरेर बस्नुभएको छ। निषेधाज्ञाले पार्नु पिर पारेको छ नि ।

सरकारी निकायबाट केहि राहत पाउनु भयो त ?
सरकारले पर्यटन सम्बन्धि संघसंस्थाहरुलाई केहि व्यवस्था गरेन । पर्यटन सम्बन्धि संघसंस्थाहरुले धेरै माग गरेको हो । सरकारी नीतिले चाहीँ पर्यटन क्षेत्रमा काम गर्नेलाई बाटो खन्ने काम दिएर भए पनि बजेट छुट्याएर ट्रेकिङ रुट खोल्न भनेको थियोे तर अहिलेसम्म कार्यान्वयन भएको छैन । भइहाले पनि कहाँ खोज्न जाने कसरी जाने सम्पूर्ण जानकारी हामीलाई थाहा छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?