किसानलाई असारे चटारो : छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

बनाइ कुलो लगाइ पानी आएर गोडौँला

कवि दैवज्ञराज न्यौपानेले ‘किसानको रहर’ कवितामा लेखेका यी हरफहरुले असारको महिनाको महिमा प्रष्ट्याउँछन् ।

असारे मेलोमा हरेक किसानको मुखबाट असारे भाकासँगै यी हरफहरु पनि गुन्जिन्छन् । मानो रोपेर मुरी उब्जाउने महिना असारको छुट्टै महत्व छ । अझ नेपालजस्तो कृषिप्रधान देशका लागि यो अन्न उमार्ने र फलाउनको लागि रोप्ने, सार्ने महिना भएकोले १२ महिनामध्ये यो महिना बढी विशेष मानिन्छ ।

असारे बालिमा ठाँउ र हावा पानी अनुसार धान, कोदो, मकै इत्यादि लगाइने गरीन्छ । त्यसमध्ये देशको प्रमुख अन्न बालिको रुपमा धानलाई लिईन्छ त्यसैले धानको खेति बढि हुने गर्दछ ।

बर्खाको समय । सिमसिम पानी परिरहेको छ । त्यसमाथि असारको महिना । हिलाम्मे वातावरण । घरी चरक्क घाम चर्किन्छ घरी दर्केर पानी पर्छ ।

रोपारेहरुबीचको हल्ला अनि हाँसो मजाकसँगै असारे गित गुन्जिएको खेतको हिलाम्मे दृश्य निकै मनमोहक हुन्छ । भक्तपुर रामनगर फाँट, जहाँ धमाधम धान रोपाईँ भइरहेको छ ।

कान्छा महर्जन । उमेर ६७ वर्ष । बसोबास भक्तपुर, रामनगर फाँट ।

कान्छा मर्हजनले वर्षौदेखि धानखेति गर्दै आएका छन् ,असारको समयमा बिहान उठेदेखि कान्छालाई भ्याइ नभ्याई हुन्छ । बिउ काड्ने मान्छे खोज्ने, बाउसे, रोपार सबै कान्छाले जोहो गर्छन् । उनकी श्रीमती रोपाईको दिन खाना, खाजा बनाएर खेतसम्म पुर्‍याइदिने काम गर्छिन् ।

कान्छा महर्जन काठमाडौंका रैथाने हुन् । उनले थाहा पाउँदादेखि नै उनका बा आमाले धानखेति गर्ने गरेको र त्यहि खेतिलाई उनले पनि निरन्तरता दिएका हुन् । महर्जनले १ ठाँउको खेतबाट नै लगभग ७ देखि ८ मुरी धान भित्र्याउने गरेका छन् । उनको ३ ठाँउमा खेत छ ।

कान्छाको ६ जनाको परिवार छ । श्रीमती, छोरा बुहारी र २ जना नाती नातीनी । उनले वर्षभरी खानको लागी बजारे चामल अहिले सम्म किनेका छैनन् । आफ्नो परिवारलाई पुग्ने धान उब्जनी उनले आफँै गर्ने गरेका छन् । त्यति मात्र नभएर केहि धान बेच्ने पनि गरेको उनले बताए ।

No description available.
कान्छाले धान रोप्नु भन्दा अगाडी खेतमा तरकारी रोप्छन् र असार शुरु हुने बित्तिकै धान रोप्ने तरखर गर्न थाल्छन् । जेठको पहिलो हप्तातिर धानको बिउ राख्ने गरेको छु । त्यसलाई ब्याड भनिन्छ । त्यसपछि कहिलेकाहिँ आवश्यकता अनुसार पानी लगाउदै गर्नुपर्छ अनि लगभग १ महिनामा बिउ तयार हुन्छ अनि रोप्ने हो ।
गाउँ घरको रोपार्इँ र शहरको रोपाईँ धेरै फरक हुने रहेछ ।
यत्रो खेत आफँैले खनेर कसरी धान रोप्न योग्य बनाउनु हुन्छ ? गाउँघरमा त जोत्नलाई गोरु, खन्नलाई कोदाली, आलोपालो रोपार सबै तयारी हुन्छ कुलोको पानी खै त ?

No description available.
उनले हातले आली मिलाउँदै हाँस्दै भने, शहर र गाउँको रोपाईँमा धेरै फरक हुन्छ । यहाँ गोरु पाल्न सम्भव हँुदैन त्यसैले खेत खन्ने मेसिन प्रयोग गर्छौ । पानी त आकाश कै पर्खिन पर्छ । आकाशको भर हुँदैन त्यसैले इनारबाट मोटरले तानेर सिंचाई गर्ने गरेका छौँ ।

No description available.
त्यहाँको माहोल झनै रमाइलो बन्दै थियो बाउसेहरु आली लगाउँदै थिए भने कोहि विभिन्न औजारको सहायताले धान रोप्ने फाँटलाई तयारी गर्दै थिए । १० वटी रोपार गफिँदै धानका गाभा लहर मिलाएर रोप्दै थिए ।

No description available.

रोपारमध्ये अम्बिका श्रेष्ठ बाउसे काममा पनि खप्पिस, छेउकुना खन्ने, फ्याउरी लाउने, र्छिकुनी लगाउने सबैतीर अब्बल ।

No description available.

रोपाईँ धमाधम हुँदैछ। सामान्यतया खन्ने, जोत्ने र आली लगाउने काम पुरुषको र धान रोप्ने काम महिलाले गर्ने भएपनि हिजोआज महिलाहरु पनि आलि लगाउने, खन्ने, सम्याउने काममा सक्रिय छन् ।

No description available.

खाजा खाने समय भयो । कान्छाकी श्रीमती झोलामा खाजा बोकेर मुस्कान दिँदै गर्‍हाभरी मुस्कुराएका धानको लहर हेर्दै आलीआली बिस्तारै आउँदै छिन् । खेतको छेउमा भारी बिसाउँदै खाजा खान आउनु है भन्दैछिन् ।

No description available.

असारको प्रख्यात खाजा चाम्रे र चना आलु फ्राइ । बाउसे रोपार खाजा खाने तरखरमा छन् । आकाश धुमिल भइसकेको छ ।

No description available.
यस्तो महामारीको समयमा पनि किसान चर्को घामको ताप वा घरीघरी रुझाउने पानीको पर्वाह नगरी दुख गर्दैछन् । तर विडम्बना नेपालमा अझै पनि केहि मानिसहरुको लागि खाने अन्न छैन । कुल कृषि उत्पादनमा २० प्रतिशत योेगदान रहेको धानबाली अधिकांश स्थानमा मनसुन शुरु भएपछि लगाईन्छ ।

No description available.

धान रोपाईँमा परम्परागत उपाय सँगसँगै आधुनिक प्रविधि पनि प्रयोग हुन थालेका छन् । गाउँघरमा समेत ट्याक्टरको प्रयोग गरिन्छ । गोरु साउने चलन हराउँदै गएको छ । कतिपय ठाउँमा युवाहरु परदेशीएका कारण खेतबारी बाँझै पनि छन् । यसको दूरगामी असरबारे बुझि युवालाई स्वदेशमा नै रोजगारी दिई नेपालका खेतबारी र गर्‍हाहरुमा सुन फलाउन सक्नेतर्फ सरकारको ध्यान जान ढिला भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?