तुलसीमा छ तिलस्मी गुण

डा. बिहानी संज्याल

आज तुलसीको दल रोप्ने दिन । घरमा तुलसी रोप्नुका केही कारणहरु छन् । तुलसी एक बहु उपयोगी बिरुवा हो । धार्मिक तथा आयुर्वेदका हिसाबले यो निकै महत्वपूर्ण छ वैदिक सनातन धर्मालम्बीद्वारा घरघरमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन औषधिले युक्त तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइन्छ । त्यसैले आज असार ७ गते तुलसीको दल राखिदैछ । निर्जला एकादशीका दिन तुलसीको दल राखी आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ । भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु हरिबोधिनी एकादशीका दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ ।

सनातन हिन्दु धर्मालम्बीले जीवनको अन्तिम क्षणमा पुगेका लाई समेत तुलसीको मठमा राख्ने तथा तुलसी मिश्रित जल पिलाउने गर्छन । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने धार्मिक मान्यता छ ।

तुलसीको पूजा आराधना हुने घरलाई तीर्थका रुपमा मानिन्छ । यस्तो घरमा यम दूत समेत प्रवेश गर्दैन भन्ने विश्वास समेत रहेको पाइन्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा पहिले देखि नै छ ।

तुलसीको पातले हरि एवं हरको पूजा गर्नेले फेरी गर्भमा आउनु पर्दैन र मोक्ष प्राप्त गर्न सक्छन भन्ने मान्यता पाइन्छ । तुलसीले वायुमण्डलमा हुने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले गर्दा घर आँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । आयुर्वेदमा तुलसीका सुरसा, अपेतराक्षसी, देवदुन्दुभि जस्ता नामहरु उल्लेख गरेको पाइन्छ ।

तुलसीका मुख्य दुइ प्रजाति छन् – श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ । यी दुबै औषधिय गुणले भरिपूर्ण छन् ।

तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौं विधि बताइएको छ ।

फाइदाहरु

–तुलसीको पात काँचै चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरिच आदि मिसाई चिया बनाएर पिउँदा फाइदाजनक हुन्छ ।

–खोकी लागेको बेला तुलसीको पात र अदुवाको टुक्रा पकाएर रस निकालेर मह मिसाएर सेवन गर्नुपर्छ ।

–टाउको दुख्दा तुलसीको रसले निधारमा मालिस गर्नुपर्छ ।

–छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मसाज गर्नुपर्छ ।

–तुलसीको पातको रसमा ज्वानो मिसाएर पकाई पेटको जुकालाई मार्न प्रयोग गर्नुपर्छ ।

–तुलसीको रसले मुख कुल्ला गर्दा दाँत तथा गिजाबाट रगत बग्न छोड्छ ।

–मुखको दर्गन्ध हटाउन तुलसीको पात चपाउनुपर्छ ।

–शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्छ ।

–तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा घाउ खटिरामा लाभ मिल्छ ।

–वान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।

–तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रुपमा पिउँदा अजिर्ण एवं अपचको समस्या कम हुन्छ ।

–बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउदा पेट स्वस्थ्य त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।

–हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउँदा उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तनाव हटाउँछ ।

–कुनैपनि शारीरिक संक्रमण तथा ज्वरोमा तुलसी उपयोगी हुन्छ ।

–सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ ।

–कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।

–सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ ।

–कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।

–तुलसीको पत्ताको रस रातमा अनुहारमा लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।

–तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

–तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र रगतमा चिनीको मात्रा पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

तुलसीका पातहरू सिधा चबाएर वा चियामा उमालेर खान सकिन्छ्र यदि तुलसीका पातहरू सुख्खा र राम्रोसँग भण्डार गरिएको छ भने धेरै दिनको लागि प्रयोग गर्न सकिन्छ ।

तुलसीलाई स्वरास, चूर्ण, तुलसी क्याप्सुल र ट्याब्लेट, क्वाथ र अर्क को रुपमा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?