कांग्रेस : कहिले आउला युवा पुस्ताको पालो ?

केही त्यस्तो अप्रत्यासित घटना नभए कोरोनाकाबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

संवैधानिक रुपमा पनि कांग्रेसलाई महाधिवेशन गर्नैपर्ने बाध्यता छ । कोरोना नभइदिएको भए यतिबेला कांग्रेसको महाधिवेशनको माहोल तातिसकेको हुन्थ्यो । भीडभाड, सभा समारोह गर्न कोरोनाले दिएको छैन् । त्यसकारण पनि कांग्रेस नेताहरु आफ्नो पक्षमा माहोल बनाउने गरी भिड्न सकिरहेका छैनन् ।

कांग्रेस १४ औं महाधिवेशनसम्म आइपुग्दासम्म पुरानो पुस्ता अर्थात बुढापाकाकै हातमा छ । बुढापाकाको हातबाट कांग्रेस युवा पुस्तामा कहिले आउला त भन्न सकिने अवस्था छैन । बुढापाकाले युवालाई नेतृत्व दिने छनक पनि देखाएका छैनन् । किनकि कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा उम्मेद्वारी दिने बताइसकेका छन् । त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायत पनि सभापतिको दाबेदार हुन् ।

देउवा उमेरले अहिले ७५ वर्षका भए । त्यसैगरी वरिष्ठ नेता पौडेल ७७,निधि ६५,सिंह ६५, शशांक ६३ र शेखर ७१ वर्षका छन् । अर्का नेता कृष्णप्रसाद सिटौला पनि माहोल हेरेर बसेका छन् । उनी पनि ७२ वर्ष पुगिसकेका छन् । देउवा बाहेक अरुले सभापति हुन पाएका छैनन् ।

कांग्रेसको आन्तरिक राजनीतिमा प्रौढहरुकै बाहुल्यता छ । कांग्रेसले सभापतिमा देउवालाई छान्ला या अरुलाई त्यो त भविष्यले नै देखाउला । तर युवापस्ताले प्रौढ पुस्तासँग लड्ने हिम्मत भने गर्न सकेको छैनन् । कांग्रेसमा अब्बल मानिएका युवा नेताहरु विश्वप्रकाश शर्मा,गगन थापा, धनराज गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल लगायतका नेताहरु भाषणमा पाका नेतालाई चुनौती दिने कुरा गर्छन् । तर व्यवहारमा उनीहरु पाका नेताका अगाडि डटेर भिड्न सक्दैनन् । त्यसकारण कांग्रेस त्यही थाकेका बृद्ध नेताहरुकै हातमा छ ।

हुनत् अहिलेका प्रौढ नेताहरु युवा अवस्थामा रहँदा पार्टीमा संघर्ष गरेरै आएका हुन् । तर त्यसो भन्दैमा शरीर वृद्ध र उर्जाहीन हुँदा सम्म पार्टीका विभिन्न पदमा अडिन खोज्नु भने गलत हो ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस तत्काल युवाको हातमा नआउने बताउँछन् ।

आचार्यका अनुसार कांग्रेसमा युवाहरु स्वतन्त्र छैनन् । उनीहरु बुढा पाकामै आश्रित छन् । उनी भन्छन् “कांग्रेसका युवा पुस्ता बुढाहरुकै काँध चढेर राजनीति गरिरहेका छन् । त्यसैगरी कार्यकर्ता पनि परम्परागत छन् ।” विगतमा कांग्रेसका केही युवा नेताहरुले संगठित हुने प्रयत्न नगरेका भने होइनन्, तर त्यसलाई उनीहरुले निरन्तरता दिन सकेनन् । विश्लेषक आचार्य भन्छन्, “युवाहरु संगठित हुन खोजे बुढाहरुले नै फुटाइ दिन्छन् ।”

नेपालका राजनीतिक दलका नेताहरुमा अपवाद बाहेक सकभर जीवनभर नै पद ओग्टने प्रवृत्ति छ । त्यसले कांग्रेसमा पनि जरो गाडेको छ । युवा पुस्तालाई बुढा नेता विरुद्ध लाग्न त्यति सहज पनि छैन् । नेतृत्वमा रहेका बुढापाका नेता विरुद्ध जाँदा उनीहरुले विभिन्न बहानामा आफूहरुको राजनीतिक भविष्य सकिदिने हुन कि भन्ने डर युवा पुस्तामा छ ।

कांग्रेस नेता धनराज गुरुङ नेतृत्वले कांग्रेसलाई रुपान्तरण गर्ने भन्ने तर परम्परागत ढंगबाटै नेतृत्व गरिरहन पनि खोज्ने हो भने कांग्रेस नसुध्रिने बताउँछन् । गौरवमय इतिहास बोकेको कांग्रेसलाई युवाहरुले गौरवमय पार्टी बनाइराख्न कसको फेर समातेर आफू बनिन्छ भन्दा पनि कसरी पार्टीलाई आम जनता र नेता कार्यकर्ताकाबीच सधै जीवन्त राखिरहने र त्यसैमा मेरो भविष्य छ भनेर सोच्नु पर्ने गुरुङको भनाई छ ।

कांग्रेसमा पार्टी नेतृत्वमा हारजित हुँदा त्यसलाई सहज रुपमा लिनुको सट्टा भागवण्डा खोज्ने प्रबृत्ति छ । यसका बिरुद्ध पनि युवापुस्ता संगठित भएर खरोरुपमा उत्रिन सकेका छैनन् । युवाले युवालाई सहयोग नगर्ने प्रवृत्ति पनि कांग्रेसमा छ । १३ औं महाधिवेशनमा गगन थापा महान्मन्त्रीमा उठेका हुन् तर उनी पराजित भए । विश्लेषक आचार्य भन्छन्,“कांग्रेसमा युवाले युवालाई नै अघि बढ्न दिदैनन् । नत्र युवाले युवालाई सहयोग गरेको भए गगनले जित्ने अवस्था आउन सक्थ्यो । कांग्रेस नेता कार्यकर्ता पुरानो ढर्राबाट चलेका छन् ।” कांग्रेसको युवा पुस्ताले नेतृत्वको लागि हस्तक्षेप गर्ने आँट गर्न सकेको छैन् । १४औं महाधिवेशनमा पनि त्यही प्रवृत्ति दोहरिने संकेत देखिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?