सुनमा कोटा : तस्करलाई मौका

सरकारले सुनको आयातमा कोटा प्रणाली लागू गरेका कारण सुनमा तस्करी मौलाउँदै गएको छ ।

नेपालमा विभिन्न वाणिज्य बैक मार्फत दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरी सरकारले कोटा निर्धारण गरेको छ । तर नेपाली बजारमा सुनको माग त्यो भन्दा बढी छ ।

सरकारले सुनको आयात कम गर्ने तर बजारमा माग बढी हुँदा तस्करीको सुन विक्री भइरहेको छ । पछिल्लो समय कोरोनाका कारण सुनको खरीद बिक्री घटे पनि सामान्य अवस्थामा बजारमा दैनिक ३० देखि ३५ किलोको सुनको माग हुन्छ ।

यस अवस्थामा वाणिज्य बैंकले ल्याउने सुनले बजार माग धान्न सक्ने देखिदैन् । अहिले कोरोनाका कारण आम मानिसको आम्दानी घटेकाले सुनको खपत केही कम भएको छ । तर अन्य सामान्य अवस्थामा दैनिक ३० देखि ३५ किलो र चाडवाड तथा विवाहको लगनका बेला ५० देखि ६० किलोको हाराहारीमा नेपाली बजारमा सुनको खपत हुन्छ । तर सुन आयातको अवस्था हेर्ने हो भने कहिल्यै बजार धानेको देखिदैन । २० किलो बैधानिक रुपमा ल्याउने बाहेक अरु सुन कहाँबाट आउँछ त ? बजारको मागभन्दा कम कोटा निर्धारण गर्दा सुनको तस्करी तथा अपचलन बढेको छ ।

कहाँ जान्छ तस्कारको सुन ?

सुनको आयात नै कम भएका कारण बजारमा सँधै सुनको हाहाकार हुन्छ । कोरोना शुरु भएयता लकडाउन,निषेधाज्ञा आदि कारणले दैनिक १० किलो सुन मुस्किलले बिक्री भयो । तर अन्य सामान्य अवस्थामा सुनको आयातले बजारको माग धान्न सक्दैन । तस्करहरुले भन्सार छलेर सुन भित्र्याउने गरेका छन् ।

बजारको माग बढी भएको र सुनको आयात सिमित भएका कारण त्यस्तो मौका छोपी तस्करले बजारमा सुन भित्र्याउँछन् । त्यस्तो सुन बैंकले ल्याउने सुन भन्दा केही सस्तो पर्छ । त्यसैले पनि कतिपय व्यवसायीहरुले त्यस्तो सुन खरिद गर्छन् । बैंकको सुन खरिद गर्न एकातिर प्रक्रिया झन्झटिलो छ भने अर्कातिर मूल्य महँगोका साथै कम मात्रामा पाइने भएकाले व्यसायीहरु बाहिरकै सुन खरिद गर्छन् । यसले गर्दा बैंकको सुन किनेर व्यवसाय गर्ने व्यवसायीहरु मारमा परेका छन् भने अर्कातिर सरकारले राजश्व पनि गुमाएको छ ।

सामान्यतया सुन बजारको कारोबार वार्षिक रुपमा ६० देखि ६५ अर्बको हाराहारीमा हुने गर्दछ । सुनको कारोबार मासिक रुपमा ५ अर्ब रुपैँयाँ बराबरको हुँदै आएको छ । लकडाउन तथा निषेधाज्ञाका कारण सरकारलाई अर्बाै रुपैँया बराबरको राजश्व घाटा भएको छ ।

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले सुनमा देखिएको समस्या निराकरणका सम्बन्धमा राष्ट्र बैंकले मौद्रिक नीति बनाइरहेकाले तत्काल केही भन्न सक्ने अवस्था नभएको बताए ।

यस्तो छ सुन आयातको तथ्यांक

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सुनको आयात बढेको देखिन्छ । अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ३२ अर्ब २० करोड रुपैंयाँ बराबरको सुन आयात भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ६३ करोड, आर्थिक वर्ष २०७६÷७७ मा १३ अर्ब ६३ करोड रुपैंयाँ बराबरको सुन आयात भएको छ । त्यसैगरी,चालु आर्थिक वर्षको वैशाख महिनासम्म २१ अर्ब २० करोड रुपैँया बराबरको सुन आयात भएको राष्ट्र बैंकले जनाएको छ ।

छिटो पैसा कमाउन तस्करी

नेपाल प्रहरीका अनुसार बजारमा सुनको तस्करी बढ्दो छ । छोटो बाटो प्रयोग गरी छिटो पैसा कमाउने ध्यान्नमा मानिसहरु तस्करमा लागेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर बताउँछन् । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६४ किलो अवैध सुन बरामद गरिएको थियो । सो वर्ष सुनको अवैध कारोबार गर्ने ८५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा प्रहरीले २ सय किलो अवैध सुन र त्यसमा संलग्न रहेका ५८ जनालाई पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा ५१ किलो अवैध सुन बरामद भएको थियो । त्यसमा १ सय १५ जना पक्राउ परेका थिए । त्यस्तै,आर्थिक वर्ष २०७६/७७ मा ३० किलो सुन तथा त्यसमा संलग्न ३० जना पक्राउ परेका थिए । २०७७ साउनदेखी २०७८ जेठ महिनासम्म प्रहरीले ३२ किलो अवैध सुन बरामद गरेको छ भने त्यसमा संलग्न ४९ जना पक्राउ परेका प्रवक्ता कुँवरले बताए ।

बजारमा तस्करीको सुन नभएको व्यवसायीको दावी

प्रहरी तथ्यांकले बजारमा प्रशस्त मात्रामा तस्करको सुन भित्रिएको देखाउँछ । प्रहरीको आँखा छलेर बजारमा आउने गरेको सुनको त हिसाव किताव नै छैन । तर नेपाली बजारमा तस्करीको सुन नभएको व्यवसायी दाबी गर्छन । “हाम्रा व्यवसायीहरुले तस्करको सुन बेचेका छैनन्,” सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा बिशिष्ट सदस्य मणिरत्न शाक्यले भने । भित्रभित्रै गैर कानुनी रुपमा तस्करसँग मिलेर काम गर्ने व्यवसायी नै होइनन् भन्छन् शाक्य । सुन बोक्दैमा व्यवसायी नहुने भन्दै सरकारले मौका दिएका कारण तस्करको मनोबल बढेको उनको ठहर छ ।

२०७२ को भूकम्पपछि लयमा आएको सुन बजार कोरोनाका कारण नराम्रोसँग खस्कियो । शाक्य भन्छन् “अब बजार खुलेपछि कति माग हुन्छ भन्ने यकिन अहिले छैन” ।

सुन खरीदका लागि बैंकले व्यवसायीलाई १५ दिनको समय दिएका हुन्छन् । समयसीमा सकिएपछि बैकले सुन लुकाउने र पछि त्यही सुन बढी शुल्क लिएर व्यवसायीलाई बेच्ने गर्छन् । शाक्यका अनुसार अहिले भएको समस्या यहि समस्या हो । तर बाहिरबाट नेपाली बजारका लागि सुनको तस्करी नभएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?