युट्युब इजलास : न्यूजका नाममा भ्यूजको धन्दा

गत जेठ २३ मा राउटे समूदायकी दुई युवती सम्झना र गाजलुमाथि यौन दुर्व्यवहार भयो । उनीहरुलाई होटलमा लगेर मादकपदार्थ सेवन गराई दुर्व्यवहार गर्ने सुर्खेतको गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भुपेन्द्र बुढा र होटल सञ्चालक बिनोद पुन अहिले प्रहरी हिरासतमा छन् ।

आधुनिक मानव समाजभन्दा पृथक जीवनशैली बिताउँदै आएका राउटे समूदायकी युवतीमाथि अन्य समुदायले यौन दुर्व्यवहार गरेपछि अनेक प्रकारका बहस र अड्कलबाजीहरु भए । यो विषय मूलधारमा सञ्चारमाध्यमका लागि सामान्य समाचार मात्रै बने । तर हाम्रा युट्युबरका लागि कसैको आँशु ‘बिकाउ’ बन्यो।

स्थानीय प्रहरी र पीडित युवतीको बयान तथा भिडियोमा देखिए अनुसार सम्झना र गाजलुमाथि यौन दुर्व्यवहार भएको हो । तर युट्युबमा भेटिएका यी हेडलाइन्सहरु हेरौं ।

भर्खरै सम्झना र गाजलुले के गरे यस्तो, हे भगवान नसोचेको भयो ।

राउटे युबतीको इज्जत लुट्ने पापीहरु हेर्नुस्, गोप्य भिडियो बाहिरियो यस्तो सम्म देखियो ।

यसरी भएको रहेछ बलात्कार।

राउटेको यौन सम्पर्क कस्तो हुन्छन्,हेर्नुहोस् ।

राउटे युवतीमाथी यौन दुव्र्यवहार गर्नेमाथि आजिवन जेल लिङ्ग पनि काट्ने कानुन बन्ने ।

मध्य रातमा यसरी गर्छन् राउटेनीले मस्ती, कति जनासँग हुन्छ सम्बन्ध ?

भाइरल सम्झना आत्महत्या गर्दै

जुठिएको भन्दै राउटेद्वारा नै सम्झनालाई मृत्युदण्ड

यी हेडलाइनहरु मेचीकाली खबर, बिहानी टिभी, अनलाइन संसार टिभी, एबीसीइ खबर, होम न्यूज नेपालबाट लिइएको हो । यहाँ युट्युबरले राउटे समूदायको यौन सम्पर्कको तरिकादेखि अरोपितको लिङ्ग काट्ने कानून बन्नेसम्मको उद्घोष गरेका छन् । यति मात्रै कहाँ हो र, सम्झनाले आत्महत्या गर्नेदेखि उनलाई मृत्युदण्ड दिने भविष्यवाणी समेत गर्न भ्याएका छन्।

उत्तेजित र सनसनीपूर्ण यी शिर्षकहरु हावादारी छन् । तै पनि यस्ता शिर्षक उल्लेखित थम्बनेलहरु युट्युबभरी छरपस्ट छन् । यिनै सनसनीपूर्ण थम्बनेलकै कारण फेसबुकमा पनि उत्तिकै शेयर भईरहेका छन् । त्यसैकारण उनीहरुको भ्यूज झण्डै लाखौंको हारहारीमा पुगेको देखिन्छ।

अर्काे विषय हेरौं । सिन्धुपाल्चोकमा बाढीले स्थानीयलाई पारेको प्रभावका विषयमा सबैजसो सञ्चारमाध्यमले समाचार बनाए । तर अहिले ट्रेण्डिङमा एकमा स्मार्ट टिभी नामक च्यानलको भिडियो पुगेको छ जसको भ्यूज एकै दिनमा ५ लाख ४१ हजार पुगेको छ । यसको शीर्षक छ, ‘यसरी सखाप भयो मेलम्ची बजार, कसरी बहुलायो मेलम्ची खोला, रुँदै भन्छन् हाम्रो संसार सकियो ।’ शीर्षक उत्तेजित त छ नै, न त थम्बनेलमा भनिए जस्तो भिडियोमा सामग्री छ।

शुक्रवारकै ट्रेडिङमा रहेको सुनौलो नेपाल र साइनिङ नेपालको शीर्षकहरु हेरौं, ‘नारायणीमा इतिहासकै ठूलो बाढी, चितवनमा भागाभाग, हेर्नुहोस् डरलाग्दो दृश्य’, ‘पत्रकारकै क्यामेरामा कैद पानीमुनी यसरी डुब्यो मेलम्ची बजार, मध्यरातमा के भयो यस्तो’ यी दुई भिडियो ट्रेडिङमा पुग्नुमा यस्तो उत्तेजक शीर्षक नै मूख्य कारण छ भन्ने प्रष्ट छ ।

यी त केवल पछिल्लो उदाहरण मात्रै हुन् । आमाछोरा काण्ड, देवरभाउजु काण्ड, जेठाजू बुहारी काण्ड, ससुरा बुहारी काण्ड, परस्त्री काण्डलगायतका थुप्रै घटनाक्रमहरु काण्डकारुपमा युट्युवमा छरपस्ट भइरहेका हुन्छन् जुन युट्युवको नेपाली ट्रेन्डिङ ।

ट्रेण्डिङमा अग्रस्थानमा आउने गर्छ । नेपालको ट्रेण्डिङ सूचीमा सबैभन्दा बढी काण्ड, उत्तेजित र भ्रामक शीर्षकका भिडियोहरु अगाडि आउँछन्,त्यसपछि हिन्दी फिल्म र सिरियलहरु । अनिमात्रै नेपाली फिल्म, सिरियल । यसपछि मात्रै मूलधारका सञ्चारमाध्यममा प्रसारित सामग्रीहरु कहिलेकाँही ट्रेण्डिङमा पर्ने गर्छन् ।

अझ विडम्वना त के भने मूलधार र टप टेन भनिएका अनलाइनहरुमा प्रसारित सामग्री मासिक र अर्धवार्षिकरुपमा मात्रै ट्रेण्डिङ सूचीमा यदाकदा पर्ने गरेको छ ।

सनसनी शीर्षक नै किन ?

युट्युब च्यानलहरुले भ्यूज पाउनका लागि अत्याधिक प्रयोग गर्ने शब्दहरु हुन्, यस्तो, यसरी, पर्दाफास, सनसनी, खुलासा, क्लिक गरि हाल्नुहोस्, फलाना पहिलोपटक मिडियामा, शेयर गरौं, ओ माइ गड, काण्ड, चेतावनी, नालीबेली, भाइरल, रहस्य आदि इत्यादि ।

युट्युबमा दैनिक कुनै न कुनै एउटा विषय भाइरल बनिरहेकै हुन्छन् । कोही एउटै इस्यूलाई अनेक प्रकारले भिडियो बनाइरहेका हुन्छन् भने कोही अर्काे इस्यू आउनासाथ त्यतैतिर बहकिन्छन्।

युट्युब तथा सामाजिक सञ्जाल सम्बन्धी जानकार दुर्गा पंगेनी भ्यूजकै लागि संचालकहरुले यस्तो शीर्षक राख्ने गरेको बताउँछन् । नेपालीको चेतनास्तरकै कारण पनि युट्युबमा यस्ता शीर्षकहरुले स्थान पाइरहेको उनको बुझाइ छ । ”सनसनी, जिज्ञासु र उत्तेजित शीर्षक देखिने वित्तिकै हेरिहाल्ने, शेयर गरिहाल्ने नेपाली समाज छ जसले गर्दा भ्यूज ह्वात्तै बढ्ने गरेको छ” पंगेनीको तर्क छ, “युट्युब च्यानल संचालकलाई चाहिने भनेकै भ्यूज हो त्यसकारण जसरी भ्यूज आउछ संचालकले त्यहि गर्छ ।”

युरोपियन मुलुकमा चेतनास्तर बढेकाले हरेक भिडियो सामग्री सोही अनुरुप गुणस्तर बन्ने गरेको उनको भनाइ छ। नेपालमा पनि कम्तिमा १० वर्षपछि यो प्रकारको भिडियो नचल्ने उनको आंकलन छ । भारतको उदाहरण दिँदै पंगेनी भन्छन्, “भारत जस्तो देशमा त अझै त्यस्तो अवस्था छ भने नेपालमा कम्तिमा १० वर्ष लाग्छ ।”

दर्शक आफै सचेत भएर च्यानलको ब्राण्ड हेरेर भिडियो हेर्ने, सब्सक्राइव गर्ने र सेयर गरे मात्रै संचालकहरुले पनि सोही अनुरुप भिडियो सामग्री उत्पादन गर्ने पंगेनीको भनाइ छ । तत्काललाई यस्तो भिडियो सामग्रीले दर्शक र डलर कमाएपनि यसको आयू लामो नहुने उनको भनाइ छ।

यसको गतिलो उदाहरण हो, भाग्य न्यौपानेद्वारा संचालित तात्तातो खबर । नेपाली युट्युव च्यानलहरुमा सम्भवत सर्वाधिक सब्सक्राइव भएको (२२ लाख भन्दा बढी) यो च्यानलमा राखिएका भिडियो केही घण्टाभित्रै लाखौंको भ्यूज जान्थ्यो । सामाजिक सञ्जालमा पनि उत्तिकै भाइरल हुन्थे । न्यौपानेका अधिकांश भिडियो ट्रेण्डिङमा पुग्थ्यो । नेपाली युट्युबर भन्नासाथ भाग्य न्यौपानेलाई सम्झिने जमात बाक्लो छ।

तर न्यौपाने अहिले गुमनाम जस्तै छन् । उनको च्यानल तात्तातो खबरमा विगत एक महिनादेखि एउटा पनि भिडियो अपलोड भएको छैन । अपलोड गरिएका दश वटा भिडियोले दुई महिनामा पनि एक लाख ‘भ्यूज’ पाएका छैनन् । त्यतिधेरै उचाइमा पुगेर चुचुरो चुमेको च्यानल किन कहिल्यै उठ्न नसक्ने गरी ढल्यो त ? पंगेनी भन्छन्, ‘’मेमोरी किङ’ भनिएका विजय शाही र कपनमा फेलाा परेको बेवारिसे शिशुले भाग्यको भाग्य खोसियो।’

भाग्य न्यौपानेले कालिकोटका विजय शाहीलाई ममोरी किङ भन्दै धेरै वटा भिडियो बनाए तर धेरैले उनलाई पत्याएनन । यस्तै गत वर्ष साउन १२ मा कपनमा बाक्सामा भेटिएको शिशु पनि नाटकीय भएको खुलेको थियो । केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले सहयोग रकम संकलन गर्नका लागि यस्तो नाटक रचेको खुलेको थियो । यस्तै विषयवस्तु उठान गर्ने क्रममा भाग्यले पुष्पालाई शुरुमा १० हजार रुपैंया सहयोग गरेका थिए । तर, शिशु बालगृहकै भएको खुलेपछि न्यौपानेले रकम फिर्ता लिएका थिए । गल्ती पुष्पाको भएपनि यही घटनाले न्यौपानेको भाग्य ओरालो लाग्यो ।

नेपाली युट्युबरहरुले तात्तातो खबरको उकालो र ओरालो यात्राबाट धेरै ठूलो पाठ सिक्नुपर्ने पंगेनीको भनाइ छ । “दर्शकको मन जितुन्जेल मात्रै दर्शक आफ्नो हुन्छ र दर्शकले आफु ढाँटिएको/ठगिएको थाहा पाउने बित्तिकै गाली गर्न सुरु गरिहाल्छ त्यसकारण दर्शकको विश्वास जितेर र त्यसलाई कायम राख्नुपर्छ,” पंगेनी भन्छन्,“युट्युबलाई सधैँ लैनो गाई झैँ दुहुन सकिन्छ भन्ने सोच्नु हुदैन,दर्शकको भरोसा टुटेको दिन केही रहदैन ।”

अनलाइन टिभीमार्फत सम्भवत नेपालमा पहिलो पटक समाचार सामग्री प्रस्तुत गरेको टिभी अन्नपूर्णका प्रधान सम्पादक राजु सुवेदी भने यसमा अलि फरक मत राख्छन् । सुवेदीको तर्क छ, “राम्रो कन्टेन्ट राख्नेहरुको प्रतिस्पर्धा छ जसले गर्दा दर्शक बाँडिए, तर नराम्रो कन्टेन्ट थोरैले राखे दर्शक त्यतैतिर झुम्मिएर धेरै भ्यूज देखियो ।” यसले नराम्रो कन्टेन्ट बिकेको सन्देश गएको र समाजमा नकारात्मक प्रभाव पारेको सुवेदी बताउँछन्।

नाबालकलाई समेत मनलाग्दो प्रश्न सोध्ने, अनुमतिवेगर अडियो भिडियो संकलन गर्ने, पारिवारिक झमेलाको लहरो तानेर पहरो थर्काउने, यौनजन्य सामग्रीलाई समेत अश्लिल शैलीमा पस्किने जस्ता गतिविधि प्रस्तुत गरेर भ्यूज बढाइरहेका छन्, युट्युव संचालकहरु ।

सामाजिक सञ्जाल र युट्युबमा कुनै पात्र र विषय तबसम्म भाइरल हुन्छ जबसम्म अर्काे ‘इस्यू’ आउँदैन । तर पछिल्लो समय दैनिकजसो नयाँ नयाँ इस्यूहरु भाइरल हुने गर्छ । त्यसकारण यस्तो भाइरलको आयू धेरै हुदैन।

धान खाने मुसो, चोट पाउने भ्यागुतो

एउटै सामग्री सनसनी शीर्षकका साथ प्रशारण गर्दा लाखौंको भ्यूज आउँछ, सामान्य अझ भनौं ‘प्रोफेशनल्ली’ शीर्षक राख्दा एक हजार भ्यूज पुग्न पनि धौ धौ हुन्छ।

त्यसरी सनसनी शीर्षक र विषयवस्तु हाल्नेले डलर कमाएका छन्, तर उनीहरुका कारण भएको बदनामीको अपजश भने पेशागत मर्यादा राख्दै काम गर्नेहरुले भोगिरहेका छन्।

युट्युब संचालकहरु पत्रकार, प्रहरी, वकिलदेखि न्यायाधीस समेत आफै बनिदिँदा पत्रकारिताको मर्यादा अनुरुप काम गर्ने संचारमाध्यमले भ्यूज नपाउने समस्या त छदैँछ, यसका साथसाथै समाजमा गलत सन्देश जाने र राम्रो सामग्री तयार पार्नेहरु हतोत्साही भएका छन्।

टिभी अन्नपूर्णका प्रधान सम्पादक सुवेदी पछिल्लो समय युट्युबमा विग्रेल्ती समस्या भित्रिएको बताउँछन् । सुरुवाती दिनहरु सम्झिदै सुवेदीले भने, “मैले टिभी अन्नपूर्ण शुरु गर्दा अनलाइनबाट पनि भिडियो समाचार आउँछ र भन्थे, अहिले मनलाग्दी च्यानलहरुले गर्दा विश्वसनीयतामाथि नै प्रश्न उब्जियो ।” रिपोर्टिङका लागि फिल्डमा जाँदा अनलाइन टिभी भन्नासाथ आफूलाई हेर्ने दृष्टिकोण नै बदलिने गरेको उनको अनुभव छ।

केही युट्युब च्यानल संचालकहरुको गलत प्रस्तुतीका कारण समग्र युट्युब पत्रकारिता नै बदनाम हुन थालेको बताउँछन्, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी । युट्युबमा प्रशारित कतिपय सामग्री पत्रकारिताको मूल्य मान्यताभित्र नपर्ने भन्दै भण्डारीले भने, “नराम्रो गर्ने कतिपयले गर्दा राम्रो गर्नेलाई पनि काम गर्न निकै गाह्रो भईरहेको छ ।” आज भाइरल हुने लोभमा भविष्य नै बिगार्न नहुने उनको तर्क छ।

अनलाइन टिभीसँग सम्बन्धी चार वटा संस्था कार्यरत छन् । ती हुन्, अनलाइन टिभी पत्रकार संघ, युट्युब पत्रकार संघ र राष्ट्रिय अनलाइन पत्रकार संघ र अनलाइन टिभी संचालक संघ । तर यी संस्थाहरुबीच नै मतैक्यता छैन । कोही आफूहररु युट्युबर भएकाले पत्रकारिताको मूल्यमान्यताभित्र नपर्ने तर्क राख्छन् कोही पत्रकारिताको मान्यताभित्र रहेर समाचार सामग्री प्रस्तुत गर्नुपर्ने तर्क राख्छन् । यी संस्थाहरुबीच सदस्यता बढाउने होडवाजी छ।

त्यसो त सनसनीपूर्ण शीर्षक राख्ने र पत्रकारिताको मान्यताविपरित सामग्री प्रस्तुत गर्नेहरुको संख्या बाक्लो छ। सदस्यता संख्या हेर्ने हो भने पनि सनसनीपूर्ण शीर्षक राख्ने र पत्रकारिताको मान्यताविपरित सामग्री प्रस्तुत गर्नेहरुको संस्थाका सदस्य बढी छ भने पेशागत मान्यताभित्र रही काम गर्ने संस्थामा सदस्य कम छ।

अनलाइन टिभी पत्रकार संघमा आवद्ध सुवेदी भन्छन्, “पत्रकार भन्दैमा जेपनि गर्न पाँइदैन, कानून र मूल्यमान्यताभित्र रहेर काम गर्नुपर्छ ।”

नियमन र ब्यवस्थापन कसरी ?

अनलाइन र सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा प्रेस काउन्सिलले सरोकारवालासँग बारम्वार छलफल गर्दै आएको छ । तर यस विषयमा कुनै कार्वाही गरेको देखिँदैन । छापा, रेडियो र अनलाइन सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्ने लगायतका कारवाहीहरु गर्ने गरिएपनि युट्युबमा राखिएका सामग्रीविरुद्ध काउन्सिल मुकदर्शक छ।

काउन्सिलका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गम्भीर रहेको बताउँछन । सोसल मिडियाबाट आउने अडियो/भिडियो सामग्रीहरूमा पत्रकारिता भए/नभएकोबारे बुझेर अघि बढ्ने उनले बताए ।

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएको अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताए । मिडिया सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उनको भनाइ छ।

सम्पादक सुवेदी युट्युबमा फैलिरहेको बेथितीलाई नियन्त्रण गर्ने विषयमा प्रेस काउन्सिल आफै दुविधामा रहेको दावी गर्छन् । छलफल मात्रै गर्ने तर कुनै निर्णय नगर्ने प्रवृतिले युट्युवमा गलत प्रवृति मौलाएको उनको बुझाइ छ।

अनलाइन टिभी पत्रकार संघका अध्यक्ष भण्डारी युट्युवमार्फत भईरहेको पत्रकारितालाई शुद्धिकरण र सुदृढीकरण गर्नुपर्ने बताउँछन् । टीभी सञ्चालक कम्पनी राज्यको निकायमा दर्ता हुनुपर्ने भन्दै उनले सवै संचालकलाई निर्देशिका र आचारसंहिताको बारेमा तत्काल प्रशिक्षण दिनुपर्ने बताए ।

यस्तै पत्रकारिताको आधारभूत मुल्य मान्यता, भाषा, विषयबस्तु र प्रस्तुतीबारे पनि छुट्टै प्रशिक्षण दिन सके बेथिती नियन्त्रण हुने भण्डारीको बुझाइ छ। कल्याणकारी कोषको व्यवस्था गरेमा संगठित र जिम्मेबार हुन आकर्षित हुने भन्दै उनले भने, ‘लोककल्याणकारी विज्ञापन, प्रेस पास पाएमा यस्तो समस्या समाधान गर्न सकिन्छ।’

सामाजिक सञ्जाल सम्वन्धी जानकार पंगेनी युट्युबमा बेथिती भित्रिइनुमा दर्शक पनि जिम्मेवार रहेको बताउँछन् । “कम मिहिनेतमै राम्रो फल फलेपछि कसैले पनि धेरै मिहिनेत गर्न चाहदैन,” पंगेनी भन्छन्,“दर्शकको चेतनास्तर बढेपछि युरोपीयन देशहरुमा जस्तै युट्युब च्यानल संचालकहरु आफै गुणस्तरीय सामग्री उत्पादनमा लाग्छन ।”

मनपरी सामग्री राख्नेलाई ‘गाइडलाइन’ बनाएर कानूनी दायरामा ल्याउन सके वेथिती नियन्त्रण हुने उनको भनाइ छ । गलत भिडियो समग्रीलाई रिपोर्ट गरेर पनि ट्रयाकमा ल्याउन सकिने उनको धारणा छ।

अतः युट्युबको नियमन र ब्यवस्थापन हुन नसक्दा समाजले पत्रकारिता पेशामाथि हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ। संचालकहरुको मनगढन्ते रिपोर्टिङ र ‘युट्युब इजलाश’ को स्वेच्छिक फैसलाले प्रहरीको अनुसन्धान समेत प्रभावित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?