आयो ब्राजिल : गर्विलो इतिहास, सशक्त टिम अनि घरेलु मैदान

 कोपा अमेरिका २०२१

काठमाडौं। कोपा अमेरिका २०२१ अन्तर्गत शुक्रवार बिहान आयोजक राष्ट्र ब्राजिलले पेरुको सामना गर्दैछ ।

ब्राजिलको ‘रियो डे जिनेरो’मा शुक्रवार बिहान नेपाली समय अनुसार ५ः४५ बजे ब्राजिलले पेरूको सामना गर्ने तालिका रहेको छ । रियो डे जिनेरो त्यही स्थान हो जहाँ सन् २०१९ मा ब्राजिलले पछिल्लो पटक कोपा अमेरिकाको उपाधि उचालेको थियो । र पेरू उही प्रतिद्वन्दी हो जसलाई पराजित गर्दै ब्राजिलले ९औं कोपा कपको उपाधि उचालेको थियो।

समयले यी दुवै राष्ट्रलाई फेरि त्यही मोडमा ल्याएको छ । फरक यति हो कि यसपटक भने यी दुई राष्ट्र समूह चरणमा नै एक आपसमा भिड्दै छन् ।
ब्राजिल भन्ने बित्तिकै सबैको मस्तिष्कमा फुटबल नै आउँछ । चाहे त्यो फुटबल प्रेमी होस् वा अरु नै कोही । ब्राजिलले संसारमा फुटबलबाटै आफ्नो पहिचान बनाएको छ ।

फिफा विश्वकप फुटबलको ५ पटक उपाधि पाएको ब्राजिलले फुटबल जगतमा सदैव स्टार खेलाडी उत्पादन गर्दै आएको छ । पेलेदेखि नेयमारसम्मको यात्रामा ब्राजिलले फुटबललाई अनगिन्ती उत्कृष्ट खेलाडी दिएको छ । पेलेदेखि रोमारियो, डुङ्गा, जिजिन्हो, रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो, काफु, काका, रोबर्टो कार्लोस जस्ता महान फुटबलर फ्याट्टै दिमागमा आउने नाम हुन् ।

सर्वाधिक विश्वकप विजेता ब्राजिलले कोपा अमेरिकाको उपाधि भने ९ पटक जितेको छ। आश्चर्यजनक कुरा त ब्राजिल सर्वाधिक कोपा अमेरिका जित्ने टोली होइन । ब्राजिलका खास प्रतिद्वन्दी उरुग्वे र अर्जेन्टिनाले ब्राजिलभन्दा बढी यो उपाधि जितिसकेका छन् । उरुग्वेले किर्तिमानी १५ पटक कोपाको उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक यो उपाधि हात पारिसकेको छ ।

कोपा अमेरिकाको इतिहासको कुरा गर्ने हो भने यो प्रतियोगिता दक्षिण अमेरिकाको सबै भन्दा प्रमुख अन्तराष्ट्रिय प्रतियोगिता हो। विश्वकै सबै भन्दा पुरानो महादेशीय प्रतियोगिता पनि । सन् १९१६ मा पहिलो पटक आयोजना भएको यस प्रतियोगितालाई सन् १९६७ सम्म साउथ अमेरिकन च्याम्पियनशिप भनेर चिनिन्थ्यो।

कोपामा ब्राजिलको सफल र्‍याली सन् १९९७ देखि सन् २००७ सम्म रह्यो । यस १० वर्षको अन्तरालमा ब्राजिलले त्यतिनै कोपा अमेरिकाको उपाधि जित्यो जति उसले सन् १९१६ देखि १९९६ सम्म ८१ वर्षको समयमा जितेको थियो। ब्राजिलले सन् १९९७, १९९९, २००४ र २००७ गरी चारपटक कोपा अमेरिकाको उपाधि उचाल्यो ।

कोपा अमेरिकामा ब्राजिलका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने व्यक्तित्व हुन जिजिन्हो । उनले सन् १९४० र १९५० को दशकमा ब्राजिलका लागि कोपा अमेरिकामा ३४ खेल खेल्दा १७ गोल गर्न सफल भएका थिए। अर्को आश्चर्य लाग्दो तथ्य के हो भन्दा ‘प्लेयर अफ दि सेन्चुरी’का नामले चर्चित खेलाडी पेलेले कहिल्यै पनि कोपा अमेरिकाको उपाधि जित्न सकेनन्।

अझै उनले सन् १९५९ मा मात्र एक पटक साउथ अमेरिकन च्याम्पियनशिप प्रतियोगिता खेले। यद्यपि उनको महानता त्यस प्रतियोगितामा पनि झल्कियो र सो प्रतियोगितामा ६ खेल खेल्दा उनले ८ गोल गरे। अझै उनी त्यस संस्करणको सर्वाधिक गोलकर्ता हुँदै ‘मोस्ट भ्यालुवेबल प्लेयर’को अवार्ड पनि जित्न सफल भए।

ब्राजिलले साउथ अमेरिकन च्याम्पियनशिप कोपा अमेरिका उचालेको वर्ष ।

 

१) सन् १९१९
खेल– ४
जित–३
बराबरी–१
गोल अन्तर–+९
उपविजेता–उरुग्वे

२) सन् १९२२
खेल–५
जित–२
बराबरी–३
गोल अन्तर–५
उपविजेता–पाराग्वे

३) सन् १९४९
खेल–८
जित–७
हार–१
गोल अन्तर–+३९
उपविजेता–पाराग्वे

४) सन् १९८९
खेल–७
जित–५
बराबरी–२
गोल अन्तर–+१०
उपविजेता–उरुग्वे

५) सन् १९९७
खेल–६
जित–६
गोल अन्तर–+१९
उपविजेता–बोलिभिया

६) सन् १९९९
खेल–६
जित–६
गोल अन्तर–+१५
उपविजेता–उरुग्वे

७) सन् २००४
खेल–६
जित–३
बराबरी–२
हार–१
गोल अन्तर–+७
उपविजेता–अर्जेन्टिना

८) सन् २००७
खेल–६
जित–४
बराबरी–१
हार–१
गोल अन्तर–+१०
उपविजेता–अर्जेन्टिना

९) सन् २०१९
खेल–६
जित–४
बराबरी–२
गोल अन्तर–+१२
उपविजेता–पेरू

सर्वाधिक खेल खेल्ने खेलाडी

१) जिजिन्हो–३४
२) क्लाउडियो टाफारेल–२५
३) जालमा सान्टोस–२२
४) रोबर्टो कार्लोस–२१
५) जाइर अल्डेर डुङ्गा–१८

सर्वाधिक गोलकर्ता


१) जिजिन्हो–१७
२) जाइर–१३
३) अडेमिर–१३
४) डिडी–११
५) रोनाल्डो–१०

सन् २०२० मा हुनु पर्ने कोपा अमेरिका कोरोना महामारीको कारण एक वर्ष यता धकेलियो । अझै अर्जेन्टिना र कोलम्बियाले संयुक्तरूपमा आयोजना गर्ने भनिएको यस संस्करणको कोपा अमेरिका अन्तिम समयमा ब्राजिलमा सारियो ।

अर्जेन्टिनामा कोरोना भाइरसले दैनिक रूपमा आक्रान्त मच्याउँदा र कोलम्बियामा राजनीतिक अशान्ति भएको कारणले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ‘कनमाबोल’ प्रतियोगिता ब्राजिलमा सार्न बाध्य भयो।

समय र परिस्थितिले ब्राजिललाई साथ दिएको छ। घरेलु मैदानमा प्रतियोगिता खेल्न पाउनु कुनै पनि देशको लागि उपाधि उचाल्ने सुवर्ण अवसर हो।

त्यसमाथि ब्राजिलको टोली निकै नै बलियो रहेको छ। ब्राजिलको टोलीमा सम्मिलित अधिकांश खेलाडीहरु व्यवसायिकरूपमा युरोपका ठूला तथा सफल क्लबहरुमा फुटबल खेल्छन्। त्यसमाथि पछिल्ला केही खेलमा ब्राजिलका स्टार खेलाडी नेयमारको प्रदर्शन हेर्ने हो भने ब्राजिलले यस पटक पनि कोपा अमेरिकाको उपाधि उचाल्छ भन्ने कुरामा धेरै प्रश्न चिन्ह देखिंदैनन् ।

के साविक विजेता ब्राजिलले फेरि पनि कोपा अमेरिका उपाधि जित्ला त ? के सन् २०२१ को उपाधि उचाल्दै ९ पटकको विजेता ब्राजिलले आफ्नो उपाधि संख्या दोहोरो नम्बरमा पुर्याउन सक्ला त ? जुलाई १० सम्म चल्ने यस कोपा अमेरिका २०२१ ले यो प्रश्नको जवाफ दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?