महिला उद्यमी कर्जामा बढ्न थाल्यो आकर्षण, तर बिना धितो दिँदैनन् बैंकले कर्जा !

पछिल्लो समय महिला उद्यमी व्यवसायिक कर्जामा आकर्षण बढ्न थालेको छ । महिलाहरु व्यवसायमा आकर्षित हुन थालेपछि महिला उद्यमी शिर्षकमा जाने कर्जामा आकर्षण बढ्न थालेको हो ।

त्यसका साथै बिना धितो दिइने यस्तो कर्जामा धितो आउन थालेपछि बढ्न थालेको हो। यस्तो कर्जाको ब्याजदरमा सरकारले सहुलियत दिएको छ। सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार महिला उद्यमशीलता ऋण ४६ अर्ब ४६ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तो ऋण ४९ हजार ४५० जनाले लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक उपार्जन गर्ने र जीवनलाई आर्थिक रुपमा बलियो बनाउन महिला वर्ग आर्कषित हुन थालेपछि यो शिर्षकमा कर्जा जान थालेको राष्ट्र बैंकले जनाएको छ । महिला उद्यमशील कर्जा उद्यमको आकार हेरेर १५ लाखसम्म प्राप्त गर्न सकिन्छ।

महिलाहरु उद्यम व्यवसाय गरेर आर्थिक रुपमा सबल भएका थुप्रै उदाहरण भएको भन्दै यस्ता उदाहरणका कारण पनि महिलाहरु व्यवसायमा आकर्षित हुँदा यो शिर्षकमा जाने ऋण बढ्दै गएको राष्ट्र बैंकको ठम्याई छ। अब महिला उद्यमीहरु पनि सक्षम भए भन्ने प्रमाण हो यो ।’ राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले लोकपथसँग भने । पछिल्लो समय महिलाहरुमा भएको आर्थिक जागरणका कारण पनि यस्तो शिर्षमा जाने ऋण बढेको उनको भनाई छ। यो शिर्षकमा ऋण जानु महिला उद्यमी बढ्नु हो । यो सकारात्मक कुरा हो।’ सह प्रवक्ता पोखरेलले भने । सामूहिक ग्यारेन्टीमा पनि बैंकले यस प्रकारको ऋण दिने भएकाले सहज रुपमा गएको पोखरेलको भनाई छ ।

राष्ट्र बैंकले विसं २०७५ मा देशभित्रै उद्योग व्यवसाय प्रर्वद्धन गर्दै रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधी २०७५’ जारी गरेको थियो। सो कार्यविधी अनुसार बैंकले कर्जा नदिएपछि त्यसलाई तीन पटकसम्म संशोधन गरिसकिएको छ। शुरुमा ७ शिर्षकमा दिइने गरेको यस्तो कर्जा अहिले विभिन्न १० शिर्षकमा दिइँदै आएको छ।

सहुलियत कर्जाका प्रकार /सीमा

सरकारले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्न कृषि, व्यवसाय, प्राविधिक शिक्षा दलितलाई व्यवसाय गर्न लगायतका क्षेत्रमा सहुलियत पूर्ण कर्जा प्रवाह गर्दै आएको छ । जसमा :

-व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड सम्म

-शिक्षित यूवा स्वरोजगार कर्जा ७ लाखसम्म

-विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैँया

-महिला उद्यमशील कर्जा १५ लाखसम्म

-दलित समूदाय व्यवसायिक विकास कर्जा १० लाखसम्म

-उच्च र प्राविधीक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैँयासम्म भूकम्प पिडितहरुको निजी आवास निर्माणका कर्जा ३ लाखसम्म

-कपडा उद्योग संचालनका लागि ५ करोड रुपैँयासम्म

-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख रुपैँया सम्म

-यूवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँसम्म लगायत रहेका छन् ।

बिना धितो दिँदैनन् बैंकले कर्जा

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको सहुलियत दरको यो कर्जा ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत् वितरण गरिँदै आएको छ। तर बैंकहरु यस्तो कर्जा विनाधितो दिन तयार छैनन्। यसको कारण हो, ऋणको सुरक्षा । धितो लिँदा ऋणको सुरक्षा हुन्छ। भोलि केही गरी व्यवसाय डुब्यो भने असुल उपर गर्न सजिलो हुन्छ। त्यतिमात्रै होइन, बैंकले ठूलाबडा र पहुँचवालालाई कतिपय अवस्थामा ऋण उपलब्ध गराइरहेका छन्। माथिल्लो तहसम्म जसको पहुँच छैन, उसले यस्तो सहुलियत दरको कर्जा प्राप्त गर्न सक्दैन।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म ९५ हजार ८ सय ६ जनाले सहुलियतपूर्ण ऋण लगेका छन् । यस्तो कर्जा १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। जसमा सरकारले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ। राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपंक्षी व्यवसाय क्षेत्रमा १ खर्ब १० अर्ब रुपैयाँ कर्जा ऋण प्रवाह भएको छ। यस्तो कर्जा ४३ हजार ९९७ जनाले लिएका छन् । त्यस्तै, सरकारले कोरोना प्रभावित व्यवसायीलाई ल्याएको व्यवसायिक निरन्तरता कर्जा ४८ करोड ६१ लाख रुपैयाँ प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार यस्तो ऋण कोरोनाबाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रले प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ग्राहक मूल्यांकनका आधारमा दिइने २० करोड रुपैयाँ सम्मको कर्जा कुल ४५ अर्ब ७४ करोड रुपैयाँ प्रवाह भएको छ। यस्तो ऋण ३४ बैंक तथा वित्तीय संस्थाले ३ सय ३७ जनाले लगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वैशाखसम्म एक खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। त्यसबाहेक थप २० अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने एकमुष्ट पुनर्कर्जा ९२ अर्ब ३८ करोड रुपैयाँ प्रवाह गरेको जनाएको छ ।

जुन ४६ बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यसबाट कुल ४८ हजार ५५० जनाले ऋण पाएका छन् । लघुवित्तमार्फत् १० अर्ब २३ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?