खोपमा काखापाखा: कार्यविधि एकातिर, खोप जति आफ्नातिर (भिडियोसहित)

काठमाडौंको मिनभवनस्थित निजामति कर्मचारी अस्पताल परिसरमा सोमवार बिहान भेला भएका सर्वसाधारणहरु अस्पतालका कर्मचारी र सुरक्षाकर्मीसँग आक्रोशित थिए।

विरामीको मृत्यु भएर होइन कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाउन गएकाहरु यसरी आक्रोशित भएका हुन्। अस्पतालमा पुगेका शंखमूलका सागर तिमिल्सिनाले आफू बिहान ८ बजे नै अस्पताल पुगेपनि खोपका लागि टोकन नपाएको गुनासो पोखे । उनले समय अगावै अस्पतालका कर्मचारीले आफन्तलाई टोकन दिएर लक्षित वर्गलाई बन्चित गराएको आरोप लगाए।

काठमाडौं महानगरपालिकाले केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित गरेको कार्यक्रम जेठ ३१ र असार १ मा सञ्चालन गर्ने निर्णय  गरेको थियो । ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले खोप पाउने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

त्यसका लागि महानगरले सिभिल अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल र सैनिक अस्पताललाई केन्द्र तोकेको थियो । महानगरले खोप अभियान पुनः संचालन गरेसँगै सोमवार बिहानैदेखि सर्बसाधारण यी अस्पतालहरुमा पुगेका थिए । तर उनीहरुमध्ये अधिकांशले खोप लगाउन पाएनन् ।

जनप्रतिनिधि र अस्पतालका कर्मचारीले आफन्त र पहँुचको आधारमा खोप वितरण गरेको सर्वसाधारणको आरोप छ । त्यसो त यसअघि संचालित खोप अभियानहरुमा पनि यस्ता गुनासाहरु नआएका होइनन् ।

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन शाखाका प्रमुख हरि कुँवरले अहिले लक्षित वर्गले मात्रै खोप पाउने बताए । लक्षित वर्ग अन्तर्गत ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्ति, भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न स्वास्थ्यकर्मीले मात्रै अहिले खोप पाउने उनको भनाइ छ । खोपको दुरुपयोग भएको गुनासोहरु आइरहेको उनले बताए। यस विषयमा महानगरले छानविन गरिरहेको उनको भनाइ छ।

उपमेयरको कार्यकक्षमै खोप

मकवानपुरको हेटौंडा उप-महानगरपालिकाकी उपमेयर मीना लामाको कार्यकक्षमै खोप लगाइएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। उपमेयर लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर मगाइएको ५० भाइल भेरोसेल खोप आफन्त र कार्यकर्तालाई लगाएको खुलेको हो ।

उपमेयर लामाले भने कार्यालयका कर्मचारीले खोप लगाएको दाबी गरेकी छिन् । तर उपमेयर लामाको कार्यकक्षमा भरिएको खोप कार्डमा भने लक्षित वर्गभन्दा बाहिरका ब्यक्तिको नाम रहेको पाईएको छ।

उपमेयरले नै खोपको दुरुपयोग गरेको खुलेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस विषयमा अनुसन्धान हुने बताए । उनले तीन दिनभित्र खोपको सबै विवरण सार्वजनिक गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् ।

यसअघि पनि हेटौँडा अस्पतालका कर्मचारी र अटो एम्बुलेन्स चालकका लागि भनेर उपलब्ध गराएको १० भाइल कोभिसिल्ड खोप एमाले र कांग्रेसका केही स्थानीय नेतालाई लगाएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।

कार्यकर्तालाई कोटा

उदयपुरमा खोप वितरण गर्ने तरिका त झनै अनौठो खालको छ । त्यहाँको बेलका नगरपालिकाले गत जेठ २६ मा जारी गरेको सूचनामा राजनीतिक दलका कार्यकर्तालाई समेत खोपको कोटा छुट्याएको छ । नगरपालिकाले राष्ट्रिय दलका लागि १०/१० र स्थानीय दलका लागि ३ जनाको कोटा तोकेर खोप लगाएको हो ।

लक्षित वर्गको पहिलो प्राथमिकतामा भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्वुलेन्स शववाहन चालक, नगरपालिकाको कर्मचारी, पत्रकार, निजामति कर्मचारी र नेपाल प्रहरी र जनप्रतिनिधि रहेका छन् । छुट भएका ६० वर्ष माथिको उमेर समूहलाई दोस्रो प्राथमिकतामा राखिएको छ। यो विषयले नगरप्रमुख दुर्गाकुमार थापा आलोचित बनेका छन्।

गण्डकीमा पनि गोलमाल

गण्डकी प्रदेशमा पनि कोभिड १९ विरुद्धको खोपको दुरुपयोग भएको छ । गत जेठ २६ मा गण्डकी प्रदेशसभा सचिवालयमा सांसद, स्वकीय सचिव र सवारीचालकलाई खोप लगाउने कार्यक्रम थियो ।

तर सांसदहरुले आफन्तलाई समेत ल्याएर खोप दिलाएपछि माहोल तातिएको थियो । ५६ जनालाई खोप लगाउन भनिएपनि ८७ जनाले खोप लगाएका थिए । खोप सकिएपछि मात्रै कार्यक्रम स्थगन गरिएको थियो।

बाँके र रामेछापमा पनि उस्तै

बाँके र रामेछाप पनि कोरोना खोपको दुरुपयोग भएको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा संचालित अभियानमा खोपको दुरुपयोग भएको स्थानीयको भनाइ छ। स्थानीयको गुनासोपछि प्रशासनले जिल्ला स्वास्थ्य कार्यालयलाई खोप रेकर्ड पुस्तिका मगाएको छ। खोपको दुरुपयोग भएको पाइए कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

उता जिल्ला प्रशासन कार्यालय रामेछापमा पनि खोप दुरुपयोग भएको गुनासो आएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए । सुनापाती गाउँपालिका, रामेछाप नगरपालिका, मन्थली नगरपालिका लगायतका ठाउँहरुमा खोपको दुरुपयोग भएको गुनासो छ । यस विषयमा प्रशासनले जिल्ला जनस्वास्थ्य कार्यालयसँग सत्यतथ्य विवरण मागेको छ।

पहिलेको अभियानमा पनि उत्तिकै दुरुपयोग

पछिल्ल्लो खोप अभियानमा मात्रै होइन पहिले संचालित कोरोना खोप अभियानमा पनि लक्षित वर्ग मारमा परेका थिए । यसको एउटा ज्वलन्त उदाहरण हो, संघीय संसद सचिवालयको विवादित खोप कार्यक्रम।

संसद सचिवालयले संसदसँग सरोकार राख्ने सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो । तर, माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु सहभागि भएपछि खोप कार्यक्रम नै स्थगन गर्नुपरेको थियो । त्यसपछि उनीहरुरुले कार्यक्रमस्थलमै हो-हल्ला गरेका थिए।

खोप लगाउन सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवारलगायत समेत पुगेका थिए । संसदसंग सरोकार राख्ने भन्दा पनि बाहिरकाहरुले खोप लगाएपछि लक्षित समूहले समयमै खोप लगाउन पाएनन् ।

उता कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले त खोपको दुरुपयोग रोक्न माग गर्दै विज्ञप्ती नै जारी गरे । कोभिड-१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना निकटका मानिसलाई मात्रै खोप लगाउने काम भइरहेको कार्कीको दावी थियो ।

यस्तो छ मापदण्ड

चीनबाट १० लाख डोज भेरोसेल खोप प्राप्त भएपछि सरकारले पछिल्लो खोप अभियान थालेको हो । यस अभियान अन्तर्गत ६०-६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारी कार्यक्रम छ । तर देशका विभिन्न जिल्लाहरुमा मापदण्ड भन्दा पनि भनसुनका आधारमा खोप वितरण भईरहेको गुनासो चर्को छ। जसले गर्दा एकातिर लक्षित वर्गले खोप पाउन वञ्चित भएका छन् भने अर्कोतिर सरकारी कार्यशैली र कार्यविधिमाथि नै प्रश्न उब्जिएको छ।

नेपाल राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार स्वास्थ्य सेवा विभागले पछिल्लो समय ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गर्दै खोप अभियान थालेको थियो।

स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति ब्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा मापदण्डका विषयमा स्पष्टरुपमा उल्लेख गरिएको छ । उपत्यकाबाहिर खोपको मात्राका आधारमा ६२-६४ वर्षका नागरिकलाई खोप दिने भनिएको छ भने काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहलाई लक्षित वर्ग मानिएको छ । खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समूहको माथिल्लो उमेरलाई प्राथमिकतामा राख्ने मापदण्डमा उल्लेख छ।

यस्तै यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सहरुलाई पनि लक्षित वर्गमा राखिएको छ। हिमाली जिल्लाहरुमा यसअघि ५५ वर्ष माथिको उमेर समूहलाई कोभिड विरुद्धको खोप लगाउन छुटेका ब्यक्तिहरुलाई खोप दिने व्यवस्था गरिएको छ भने तिब्बतसँग सिमाना जोडिएका पालिकाहरुमा १८ वर्षमाथिका सबैलाई खोप दिन भनिएको छ ।

यस्तै गरी यसअघि संचालन भएको अभियानमा भेरोसेल पहिलो मात्रामा लिई उपत्यकाबाहिर गएका कारण वा अन्य कारणले दोस्रो मात्रा खोप लगाउन छुटेका व्यक्तिहरुलाई यो अभियानमा खोप लगाउन सकिने मापदण्डमा उल्लेख छ।

कतिले लगाए खोप ?

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा लगाएका छन् । जेठ २८ सम्मको तथ्यांक अनुसार ६ लाख ९१ हजार ४ सय ९४ जनाले मात्रै खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन्।

भारतबाट ल्याइएको कोभिसिल्डको पहिलो डोज लगाएका करिब १३ लाख ५० हजार जनाले दोस्रो डोज लगाउन पाएका छैनन् । नेपालले खरिद गरेको १० लाख डोज खोप भारत सरकारले तत्काल उपलब्ध गराउन नसक्ने बताएपछि उनीहरु दोस्रो डोज लगाउनबाट बन्चित भएका हुन्।

देशभर २ करोड भन्दा बढी नागरिक खोप लगाउन योग्य भएको सरकारी तथ्यांक छ। यस हिसावले अझै एक करोड ९३ लाख भन्दा बढीले पूणर्रुपमा खोप लगाउन पाएका छैनन् । यद्यपि सरकारले आगामी मंसिरसम्म सबै नागरिकलाई खोप लगाउने तयारी गरेको छ।


विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत केही साताभित्र नेपालले खोप पाउने बताइएको छ। यद्यपि कुन खोप कति मात्रामा पाउने भन्नेमा अझै एकिन हुन सकेको छैन । उक्त खोप प्राप्त हुनासाथ कोभिसिल्ड लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुलाई लगाउने सरकारी तयारी छ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?