काठमाडौँ, ७ चैत- पूर्वप्रधानमन्त्री तथा तत्कालीन काँग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको व्यक्तित्व र योगदानका विषयमा दलका नेताहरुले चर्चा गरेका छन् । कोइरालाको आठौं स्मृति दिवसका अवसरमा जिपी कोइराला अध्ययन केन्द्रले बुधबार राजधानीमा गरेको कार्यक्रममा दलका नेताहरुले नव नेपाल निर्माणमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिको ललिपप कोइराला र आफूलाई देखाएर उस्तै शिकार बनाइएको बताए ।कोइराला विना गणतन्त्र सम्भव नभएको भन्दै नेपालले कोइरालाको योगदानको स्मरण गरे ।काँग्रेसको आन्तरिक विवादका बीच पनि कोइरालाको निर्णय क्षमता विशिष्ट रहेको उनले बताए । ‘०७ देखि ०६३ सम्मको राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील नेता कोइराला मात्रै थिए’ नेपालले बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गिरिजा कोइराला नेपाली राजनीतिका शीर्ष पुरुष भएको बताए । उनले नेपाली लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिने व्यक्ति कोइराला नै भएको ठोकुवा गरे । ‘गिरिजाबाबुको अभावमा वर्तमान स्थिति निर्माण हुनै नसक्ने अवस्था थियो’ उनले भने ।प्रधान शत्रुसँग दलहरुले संयुक्त रूपमा लडेर संविधान सभाबाट संविधान बनाउने कार्य कोइरालाको योगदानबाट सम्भव भएको उनको भनाई छ । श्रेष्ठले १२ बुँदे सम्झौताको तयारीमा भएका घटनाक्रमको स्मरण गरेका थिए ।‘प्रथम राष्ट्रपति गिरिजालाई बनाउन नसक्नु राजनीतिक संस्कार विकास नभएको कारणले हो’ उनले भने । संघीयता, राष्ट्रियता र विकासका लागि सर्वपक्षीय सहमति हुनुपर्ने भन्दै उनले अबको मुख्य कार्यभार भ्रष्टचार नियन्त्रण रहेकाले सबैको आवश्यक रहेको धारणा राखे ।
काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले शक्तिशाली कोइरालाले कम बल प्रयोग गरेर संविधानबाट राजतन्त्र हटाएको सम्झिए ।‘संविधानले सभामुख र उप सभामुख एउटै दलबाट नहुने व्यवस्था गरेको छ’ उनले भने ‘एकीकरण हुने दुई दलले किन दुवै पद ओगटेको ?’ वर्तमान सरकार र पार्टी सभापतिप्रति संकेत गर्दै सिटौलाले पार्टी तथा सरकारको नेतृत्वमा अहंकार रहेको बताए ।पूर्व अर्थमन्त्री डा रामशरण महतले कोइराला कहिले पनि नथाक्ने र जोखिम लिन सक्ने नेता भएको स्मरण गरे। कोइरालाको कारण नै आफू राजनीतिमा प्रवेश गरेको बताए । राजनीति उदार व्यवस्था भएको अवस्थामा आर्थिक क्षेत्र पनि उदार बन्नु पर्नेमा जोड दिए ।कोइरालाको बलले मूल्य अभिवृद्धि कर शुरु गर्न सकिएको महतले बताए । आधुनिक नेपाल निर्माणमा कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गरे ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले गिरिजा प्रसाद कोइरालाको उचाई बराबरको नेता समकालीन नेताहरुमा नभएको दाबी गरे । कोइराला ८७ वर्षको उमेरमा पनि तरुण नै भएको बताए । कोइरालाको कर्मका कारण नै उनि विश्व नेता बन्न सकेको उनको भनाई थियो ।काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गिरिजा चमत्कारिक नेता भएको बताए । ०५८ पछिको राजा बिरुद्दको आन्दोलनमा आन्दोलनकर्मी कमी हुँदापनि गिरिजाले नेता कार्यकर्तालाई ढाडस दिने कार्य गरेको भन्दै गिरिजाले कार्यकर्ता र नेतालाई संरक्षण गर्ने गरेको बताए ।जिपी काेइराला अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले जिरिजाबाबुकाे याेगदानलाई राज्यले खासै महत्त्व नदिएकाे भन्दै जिपीकाे सहमति र सहकार्य नितिलाई कसैले भुल्न नहुने जिकिर गरे ।स्मृति सभामा काँग्रेस सभापति देउवा पक्षीय नेता तथा कार्यकर्ता देखिएनन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षीय नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया