एरिक्सनको दुःखद घटनाले जब सम्पूर्ण फुटबल प्रेमीलाई एकजुट बनायो

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत शनिवार भएको डेनमार्क र फिनल्याण्ड बिचको खेलमा दुःखद घटना घट्यो। डेनमार्कका मिडफिल्डर तथा स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा अचानक ढलेर अचेत अवस्थामा नै पुगे।

डेनमार्क र फिनल्याण्ड बिचको खेलको पहिलो हाफ लगभग सकिन लागेको अवस्था थियो। दुवै टोलीले गोलरहित बराबरी खेलिरहेको अवस्थामा डेनमार्कले ‘थ्रो इन’ पायो। खेलको ४२औं मिनेटमा सो ‘थ्रो-इन’ रिसिभ गर्न गएका खेलाडी एरिक्सन अचानक मैदानमा ढले। निकै नै अप्रत्याशित रूपमा मैदानमा ढलेका एरिक्सनलाई सबै डेनमार्कका खेलाडीले घेरे।

उनी अचेत अवस्थामा पुगे। तुरुन्तै स्वास्थ्य टोली बोलाइयो र करिब १३ मिनेटसम्म उनको उपचार मैदानमा नै भयो। डेनमार्कका कप्तान तथा रक्षक सिमोन कायरले नायकको भुमिका खेले। उनले एरिक्सनको मुख खोलेर हावा आउन जानको लागि पर्याप्त ठाउँ बनाए। कायरले एरिक्सनको ‘मेडिकल ईमर्जेन्सी’को सुइँको पाएर उनलाई आफ्नो जिब्रो निल्न दिएनन्। हृदयघात भएको अवस्थामा यो प्रमुख ‘फर्स्ट एड’ हो।

करिब १६,००० दर्शक माझ अचानक मैदानमा अचेत अवस्थामा गएका एरिक्सनकी पत्नी संयोगवश त्यसै स्थानमा थिइन्। आफ्नो पतिको त्यस्तो अवस्था देखेर उनी मैदान प्रवेश गरिन्। उनलाई सान्त्वना दिने काम पनि सिमोन कायरले गरे। कायरले सम्पूर्ण डेनमार्क खेलाडीलाई बोलाएर एरिक्सनको वरीपरी पर्खाल जसरी उभ्याए।

एरिक्सनको निरिह अवस्था क्यामरामा कैद हुनु उनलाई मन्जुर थिएन। मेडिकल टोलीले एरिक्सनलाई मैदानमै ‘सीपीआर’ (कार्डियो पल्मोनरी रिससिटेसन) लगातार प्रदान गरिरहेको अवस्था थियो। मेडिकल टिम मैदानमा आफ्नो शत प्रतिशन दिइरहँदा उनले रेफ्री लगायत अफिसियलसँग कुराकानी जारी राखे। फिनल्याण्डका खेलाडीहरु पनि अन्योलमा देखिए। तर पनि डेनमार्कका खेलाडीहरुसँग मिलेर उनीहरू एरिक्सनको वरीपरी मानव साङ्लो बनाउन लागिपरे।

फिनल्याण्डका समर्थक आफ्नो झण्डा लिएर मैदान प्रवेश गरे र फिनल्याण्डको सेतो झण्डा एरिक्सनलाई गोपनीयता प्रदान गर्न पर्दाको रूपमा प्रयोग गरियो। मैदानमा उपस्थित खेलाडी, रेफ्री, अफिसियल तथा समर्थक सबैले आफ्नो भूमिका शानदार तरीकाले निर्वाह गरे।

एरिक्सनको स्वास्थ्य गम्भीर अवस्थामा पुग्दा उनलाई तुरुन्तै अस्पताल लिएर जाने निर्णय गरियो। स्ट्रेचरमा राखेर उनलाई मैदान बाहिरसम्म पुर्याउँदा कायरको नेतृत्वमा सम्पूर्ण खेलाडी तथा मेडिकल टिमले एरिक्सनलाई चारै तिरबाट ढाके। एरिक्सनको गोपनीयतालाई एक नम्बर प्राथमिकता दिइयो।

खेलाडी, अफिसियल र युईएफएको छलफल पछि खेल स्थगित गरियो। दुवै टोलीका सबै खेलाडीले मैदान छाडे। दुवै देशका समर्थकमा आँसुको धारा बग्यो। यद्यपि कोपनहेगनको रंगशालामा उपस्थित १६,००० दर्शकको मुखमा एउटै नाम थियो। एरिक्सन। उनीहरुले यो नाम बारम्बार लिइरहे। उनीहरू लगायत सारा विश्वको प्रार्थना र सोचाइमा त्यस बखत एरिक्सन नै थिए।

स्थानीय समय साँझ ६:०० बजे सो घटना घट्दा खेल स्थगित गरिएको थियो। एरिक्सनलाई अस्पताल पुर्याइएको करिब १:३० घण्टा पछि डेनमार्क फुटबल एसोसिएसनले उनलाई होश आएको जानकारी गरायो। एरिक्सनलाई होश आएर उनी वार्तालाप गर्न सक्ने स्थितिमा पुगेको कुराको जानकारी पाउँदा पूरा विश्वले नै राहत महसुस गर्‍यो। रंगशालामा खुशीयाली छायो। एरिक्सनको स्वास्थ्य अवस्था थाहा पाउन पर्खिरहेका १६,००० दर्शकमा पुनः आँसुको धारा बग्यो। यस पटक भने खुशीको।

रंगशालामा पुनः एरिक्सनको नाम गुन्जियो। सबैले राहतको सांस फेर्दा ‘युईएफए’ले दुवै टोलीका खेलाडीसँग खेल पुनः सुचारु गर्ने प्रस्ताव राख्यो। एरिक्सनसँग टेलिफोनमा वार्तालाप भएर उनको सुस्वास्थ्यको जानकारी पाएपछि डेनमार्कका खेलाडीहरू खेल सुचारु गर्न राजी भए।

फिनल्याण्डका खेलाडीहरुले ताली पिटेर डेनमार्कका खेलाडीहरुको मैदानमा स्वागत गरे। रंगशालामा उपस्थित दुवै टोलीका समर्थकमा अब खेलमा जितको चाहना थिएन। जित अस्पतालमा नै भइसकेको थियो।

पहिलो हाफमा ४ मिनेट बाँकी राखिएर खेल सुचारु गरियो। खेलमा डेनमार्क पराजित भयो। तर सबैभन्दा मुख्य कुरा, एउटा मानिसको ज्यान बचाउन सबै जना विजयी भए। जित फुटबलको भयो, मानवताको भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?