राजाले राजगद्दी त्यागेको त्यो क्षण (भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्रले आजकै दिन नारायणहिटी दरवार छाडेका थिए

सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय, लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको घोषणा गर्दछु ।

२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरिरहेका जेठा सदस्य कुलबहादुर गुरुङले यस्तो घोषणा गर्नासाथ बैठकमा गडगडाहट ताली बज्यो । योसँगै नेपालबाट राजतन्त्रको अन्त्य भयो ।

बैठकले तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आम नेपाली नागरिकलाई भन्दा भिन्न रूपमा प्राप्त सम्पूर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुने प्रस्ताव पनि पारित गर्‍यो ।

बैठकले नारायणहिटी दरवार परिसर तथा यसभित्र रहेको सम्पूर्ण सम्पदालाई ऐतिहासिक संग्रहालय लगायत राष्ट्रिय हितमा उपयोग गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउने निर्णय गर्‍यो ।

सोही वमोजिम ‘श्री ५’ का नाममा रहेका सबै दरवारहरु राष्ट्रियकरण गरिए । तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरवार छाड्न १५ दिनको म्याद दिईयो । तर तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्ने छाँट देखाएनन् ।

राजनीतिक दलका नेतासहित अधिकांश जनता ज्ञानेन्द्रलाई निर्मल निवास पठाउन चाहिरहेका थिए । गणतन्त्र घोषणा गरेपनि ज्ञानेन्द्रले नारायणहिटी नछाडेकोमा चर्काे आलोचना भयो । नारायणहिटीबाट रातारात बहुमूल्य वस्तु अन्त ओसारिएको हल्ला चल्न थाल्यो ।

यसैबीच तत्कालीन सरकारले राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवारमा राख्ने निर्णय गर्‍यो । यस्तो निर्णय भएको भोलिपल्ट राजधानीमा व्यापक विरोध प्रदर्शन भयो । यसले शान्ति सुरक्षाको अवस्था थप जटिल बन्यो । विरोधको आवाज साम्य पार्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसहित सरकारले नागार्जुन दरवारबाटै पत्रकार सम्मेलन गर्‍यो ।

यस्तै परिस्थितीकाबीच जेठ २९ मा तत्कालीन राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गर्ने चर्चा चल्यो ।

शाह वंशीय राजाको त्यो अन्तिम सम्बोधन

२०६५ जेठ २९ गते साँझ साढे ५ बजे । नारायणहिटी दरबारको ‘कास्की हल’ । भर्‍याङ अघिल्तिर एउटा टेबल । टेबलको पछाडि रातो र छिर्केमिर्के कुर्सी । त्यस आसपास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका बुम र रेकर्डरहरु । वरिपरि स्वदेशी तथा विदेशी पत्रकारलगायतको भीडभाड ।

केहीबेरको पर्खाइपछि आइपुगे, तत्कालीन राजा ज्ञानेन्द्र शाह । उनको गेट अप थियो, रातो फ्रेमको चश्मा, ढाकाको टोपी, सेतो दौरासुरुवालमा कालो कोट ।

ज्ञानेन्द्र शाहले देशवासीका नाममा १४ मिनेट लिखित मन्तव्य सम्बोधन गरे । पत्रकार सम्मेलनमा उनी निक्कै भावुक बने । मन्तव्य टुंग्याएलगत्तै पत्रकारले प्रश्न गर्न थाले । तर उनले जम्माजम्मी दुई शब्दमा जवाफ फर्काए, ‘थ्याङ्क यु’ ।
सम्बोधनमा के थियो ?

‘नेपाली दाजुभाइ, दिदीबहिनीहरू ! चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई सय चालीस वर्षघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र संवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी आप्mनो अन्तिम सम्वोधनको सुरुआत गरेका थिए ।

राष्ट्र, राष्ट्रियता, सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई नेपालीले सधैं जीवन मूल्य मानिआएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले यस मूल्य र मान्यताप्रति निष्ठापूर्ण उत्सर्ग भावना सदैव कायम रहने बताएका थिए ।

राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा आपूmमा कुनै स्वार्थ नरहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु ।’

नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट आफूले थालेको प्रयास विविध कारणले सफल हुन नसकेको स्वीकार गर्दै उनले दरवार हत्याकाण्डका विषयमा यस्तो टिप्पणी गरेका थिए, ‘०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु–भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको विभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन ।’

यस घटनालाई लिएर कतिपयले आफू र आफ्नो परिवारमाथि कठोर आरोप र लाञ्छना लगाइएको भन्दै उनले यस विषयमा आफूहरुको तर्फबाट बोलिदिने कोही पनि नभएको टिप्पणी गरेका थिए ।

‘तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् ।’ उनले भनेका थिए ।

यस्तै उनले आपूmले कुनै सम्पत्ती विदेशमा नराखेको दावी गर्दै आप्mनो सम्पूर्ण सम्पत्ती नेपालमै रहेको भएको बताएका थिए । पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए, ‘नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ वर्ष मैले कुनै थप सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन ।’

जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्परा रहेको बताउँदै उनले भनेका थिए, ‘संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु ।’

सम्बोधन समापन गर्दै उनले भनेका थिए, ‘मैले देश छाडेर जाने सोच बनाएको पनि छैन, म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पर्‍याउन चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्रले स्वतन्त्र राष्ट्र नेपालको माया लाग्ने बताउँदै राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गरेका थिए । आमनेपालीको समग्र हित होस् भन्ने कामना गर्दै उनले श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि सरकारलाई हस्तान्तरण गरेको बताएका थिए ।

सम्बोधनमा क्रममा उनले भनेका थिए, ‘राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए–गरेको कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुन गएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु ।’

कसरी आयो त्यो दिन ?

तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६१ माघ १९ गते जननिर्वाचित सरकार भंग गरि मनोनित सरकार गठन गरे । उनको यो कदमविरुद्ध संसदवादी दलहरु एकढिक्का भए । जनयुद्धमा रहेको माओवादीलाई थप बल पुग्यो ।

त्यसपछि आन्दोलनरत ७ दलीय गठबन्धन र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति पनि भयो । उक्त सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर सात दलसँगै शान्तिपूर्ण आन्दोलनमा उत्रियो । २०६२ चैत २४ देखि २०६३ वैशाख ११ गतेसम्म भएको १९ दिने जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएको थियो ।

२०६३ बैशाख ८ गते पूर्वराजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै सुम्पेको’ घोषणा गरे तर त्यसले पनि आन्दोलन रोकिएन । आन्दोलन झन् हिंसात्मक बन्दै गएपछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गर्दै २०६३ वैशाख १५ गते शुक्रवार दिनको १ बजे बैठक आह्वान गरे ।

यसरी पुनःस्थापित प्रतिनिधिसभाले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो । २०६५ साल जेठ १५ मा बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा ग¥यो । यो घोषणासँगै नेपालबाट २५० वर्षे राजतन्त्र अन्त्य भयो भने राजा ज्ञानेन्द्र पूर्वराजामा परिणत भए । गणतन्त्र घोषणा भएको १४ दिनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए ।

के थियो ज्ञानेन्द्रको चाहना ?

मुलुकमा गणतन्त्रको घोषणा भएपछि प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नारायणहिटी राजदरवार पुगि पूर्वराजा ज्ञानेन्द्र शाहसँग पौने घण्टा छलफल गरेका थिए । सोही क्रममा पूर्वराजा ज्ञानेन्द्रले आफ्नी आमा रत्नराज्य र सरलाले नारायणहिटी परिसरभित्रै रहेको ‘महेन्द्र मन्जिल’ मा बाँकी जीवन बिताउने इच्छा राखेको बताएका थिए । यस्तै उनले आफ्नो निवासबारे पनि जिज्ञासा राखेका थिए ।

त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो भने बडा महारानी रत्नलाई नारायणहिटी दरवारमै बस्ने ब्यवस्था मिलाइएको थियो । पूर्वराष्ट्राध्यको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई सम्मान र सुरक्षा दिएको तत्कालीन गृहमन्त्री सिटौलाले बताउँदै आएका छन् ।

यस्तै पूर्वराजाले सिटौला सामू श्रीपेच आफूसँगै लैजाने चाहना ब्यक्त गरेका थिए । राणा शासकले पनि १०४ वर्षसम्म श्रीपेच लगाएको र उनीहरूले लिएर गएको पूर्वराजाको भनाइ थियो । तर, सरकारले श्रीपेच नेपालको ऐतिहासिक सम्पत्ति भनेपछि उनले सरकारलाई बुझाएका थिए ।

नारायणहिटी राजदरवार त्यागेर निर्मलनिवास पुगेपछि उनी लामो समय गुमनाम रहे । तर, पछिल्लो पाँच वर्ष यता भने उनको सक्रियता ह्वात्तै बढेको देखिन्छ । उनले धार्मिक यात्रादेखि समसामयिक राजनीतिक घटनाक्रम माथि आफ्नो धारणा पनि राख्दै आएका छन् । आफ्नो जीवनकालमा दुई पटक राजा बनेका पूर्वराजा ज्ञानेन्द्र दुई सय ५० वर्षे राजतन्त्रकै अन्तिम राजा पनि बने ।

नारायणहिटी राजदरबारबाट बिदाइको हात हल्लाउँदै नागार्जुनतर्फ लागेका पूर्वराजा ज्ञानेन्द्र अब फेरि नारायणहिटी राजदरवार फर्किने सपना देख्दैछन् ।तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?