उपराष्ट्रपति पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिए

काठमाडौँ, ६ चैत – उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् ।आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो ।उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता र नेपालका लागि पाकिस्तानी राजदूतलाई धन्यवाद दिनुभयो । संविधान कार्यान्वयनको क्रममा नेपालमा सबै प्रकारका निर्वाचन सम्पन्न भएकोले नेपाल आर्थिक समृद्धि, विकास र सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।उहाँले नेपाल र पाकिस्तान सम्बन्ध समधुर रहेको बताउनुहुँदै दुई देशले भोगिरहेका समस्यामा सहकार्य गर्नुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले पाकिस्तानले छिट्टै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनको आयोजना गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।सो अवसरमा पाकिस्तानका राजदूत जावेदले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकामा उपराष्ट्रपतिलाई पाकिस्तान सरकारका तर्फबाट बधाई दिनुभयो । भेटमा पाकिस्तानी राजदूतले नेपाल पाकिस्तानको सहकार्य धेरै क्षेत्र रहेको बताउनुभयो । उहाँले नेपालसँगको हरेक सहकार्यमा पाकिस्तान अत्यन्त खुशी रहेको बताउनुभयो । केही समयअगाडि भएको पाकिस्तानका प्रधानमन्मन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ट बनाएको उल्लेख गर्नुहुँदै दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताउनुभयो ।यसैगरी बंगलादेशका राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले दुई देशको सम्बन्ध अत्यन्त घनिष्ठ भएको उल्लेख गर्नुहुँदै अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।भेटमा बंगलादेशका राजदूतले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बंगलादेश सरकारका तर्फबाट बधाई दिनुभयो । उहाँले त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा उद्धार र घाइतेको उपचारमा नेपालले उच्चस्तरीय प्रबन्ध मिलाएको बताउनुहुँदै धन्यवाद दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?