गाउँपालिकामा अनिश्चितकालीन तालबन्दी

रुकुम, ६ चैत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा तालबन्दी गरिएको छ । सानीभेरी गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरोध गर्दै यहाँका स्थानीयवासीले सानीभेरी गाउँपालिमा आजबाट तालबन्दी गरेका छन् ।गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णयको विरोध गर्दै यहाँका स्थानीयवासीले सबै सरकारी कार्यालय बन्द गर्नाका साथै यातायात र बजार पूर्णरुपमा बन्द गराएका छन् । यसअघि वडा नं ९ सिम्लीबजारमा रहेको गाउँपालिकाको कार्यालय जग्गा अभावका कारण वडा नं ७ द्वारेज्यूलामा सार्ने निर्णय सोमबार बसेको सानीभेरी गाउँ कार्यपालिकाको बैठकले गरेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।सिम्लीबजारबाट मुसिकोट, चौरजहारी लगायतका क्षेत्रमा सञ्चालन हुने यातायातका साधान, सानीभेरी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय र बजार पूर्ण रुपमा बन्द गरिएको स्थानीयवासीले चक्रबहादुर केसीले जानकारी दिनुभयो । कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासीले नियन्त्रणमा लिन खोजेका थिए । जनप्रतिनिधिलाई अहिले प्रहरी चौकी सिम्लीले सुरक्षा दिइरहेको बताइएको छ । निर्णय नसच्याएसम्मका लागि आन्दोलन जारी रहने आन्दोलनकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?