काठमाडौँ, ६ चैत – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताउनुभएको छ ।मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताउनुभएको हो ।मन्त्री विष्टले भन्नुभयो, “मुलुकमा लाखौँ युवा बेरोजगार छन्, सरकार मुकदर्शक भएर बस्न सक्दैन, स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ ।”वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भएपनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा हुने सिण्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताउनुभयो ।मन्त्री विष्टले कानुन विपरित सबै कामलाई हतोत्साहित र निरुत्साहित गर्न आफू पछि नपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः श्रम स्वीकृतिको प्रबन्ध शुरु गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया