तेलमा जालझेल

कालोबजारीलाई उन्मुक्ति

काठमाडौं । उद्योग व्यवसायीहरु शक्तिको आडमा उपभोक्ताको ढाड सेक्ने काम गरे पनि उनैले मुक्ति पाउने गरेका छन् ।
जब जब संकट आउँछ,तब तब उद्योगी व्यापारीले मौका छोप्दै दैनिक उपभोग्य वस्तुहरुमा कालो बजारी गरेपनि उनैले उन्मुक्ति पाउँदा आम उपभोक्ताले सास्ती खेप्दै आएका छन् ।

कालो बजारी गर्नेलाई उन्मुक्ति दिएको एउटा अन्त्यन्तै बलियो प्रभाण हो,नकाबन्दीका बेला धारा तेलको कालो बजारीमा दुगड ग्रुपलाई दिइएको उन्मुक्ति । केएल दुगडले नाकाबन्दीका बेला धारा खाने तेलमा चरम कालो बजारी गरेको थियो । त्यसबेला प्रहरीले जडीबुटीस्थित केएल दुगडको गोदाममा लुकाइ राखेको ५ ट्रक खाने तेल नियन्त्रणमा लिएको थियो । बजारमा तेलको अभाव देखाइ चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले स्वस्तिक आयल इन्डस्ट्रिजबाट उत्पादित धारा खाने तेल नियन्त्रणमा लिएको थियो ।

Nayakhabar.com: बढी मूल्यमा बेच्न गोदाममा लुकाइराखेको ५ ट्रक धारा तेल  नियन्त्रणमा

२०७२ मा भारतले गरेको नाकाबन्दीको मौका छोपेर यो व्यवसायिक ग्रुपले चरम रुपमा कालो बजारी गरेको थियो । नाकाबन्दी अघि १ सय ८० रुपैयाँमा किनबेच भइरहेको धारा तेललाई ३ सय ८० रुपैयाँमा विक्री गरेको थियो । केएल दुगडलाई १४ करोडको बिगो दावी र ठगीमा ५ वर्ष तथा कालो बजारीमा ५ वर्ष जेल सजाय माग गरिएको थियो । खाने तेलमा करीव ५० करोड रुपैयाँको कालोबजारी भएको अनुमान प्रहरीले गरेको थियो । कालो बजारी गरेको भन्दै प्रहरीले सो ग्रुपका म्यानेजर अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारी सहित १० जनालाई पक्राउ गरेको थियो ।

अदालतमा केएल दुगड, विकास दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रप्रसाद कुसवाहा, रामाकान्त तारिक, प्रदिपकुमार चाचान, धर्मानन्द दुगड र गौतम दुगडविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो । तर मुद्धा कमजोर बनाएर कालो बजारी गर्नेलार्ई उन्मुक्ति दिइएको थियो । खाने तेलमा कालोबजारी गर्नेहरुले अदालतबाट पनि सजिलै उन्मुक्ति पाउने गरेका घटनाले कालोबजारी गर्नेको मनोबल बढेको छ भने उपभोक्ता निराश भएका छन् ।

यस्तो छ अदालतले गरेको फैसला : 

संकटका बेला आम उपभोक्तालाई आहत पु–याउने उद्योगी तथा व्यवसायीलाई अदालतले कडा कारवाही गरेको देखिदैन । अदालतले प्रशस्त प्रमाण नपुगेको भन्दै सफाई दिएको थियो । त्यतिबेला धारा तेलमा भएको कालोबजारीविरुद्ध कारवाही गरी पाउँ भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको थियो । तर अदालतले व्यवसायीको पक्षमा फैसला गरेको थियो । मञ्चका अध्यक्ष ज्योति बानियाँले आफुहरुले मुद्धा हारे पनि तत्कालका लागि भने कालोबजारी गर्नेहरु जेलमा थुनिएको बताए । अदालतले गरेको फैसला सबैलाई मान्य हुने उनको भनाई छ । “अदालतले जो निदोष ठान्यो उसैको पक्षमा फैसला गर्‍यो,त्यसलाई सबैले मान्नै पर्छ,” अध्यक्ष बानियाँले भने ।

को हो के एल दुगड ?
केएल दुगड एक व्यवसायिक घराना हो । यस घराना अन्र्तगतका स्वस्तिक आयल ईन्डस्ट्रिज प्राली,सौरभ आयल मिल र सौरभ फुड प्रोडक्शन प्राली लगायतले तोरीको तेल ,सनफ्लावरको तेल तथा वनस्पति घ्युउ उत्पादन गर्दै आएको छ ।

रोकिएको छैन कालोबजारी :

गत तिहारपछि बढ्न थालेको तेलको मूल्य लगातार बढिरहेको छ । अहिले बजारमा तेलको मूल्य छोइनसक्नु छ । उद्योगी तथा व्यवसायीले कच्चा पदार्थको मूल्य वृद्धि भएको बहाना गर्दै लगातार मूल्य बढाइरहेका छन् । कच्चा पदार्थका लागि विदेशमै निर्भर रहेकाले नेपालमा खाने तेलको मूल्य आकासिएको उनीहरुको तर्क छ । गत वर्षको कात्तिकपछि केही बढ्न थालेको तेलको मूल्य कोरोनाको पहिलो लहरसँगै झन बढ्न थालेको हो ।

अहिले सातामै दुई पटक तेलको मूल्य वृद्धि भइरहेको छ । जुन वृद्धि उपभोक्ताले थेग्नै नसक्ने अवस्था भएको छ । अहिले धारा तोरीको तेलको मूल्य प्रति लिटर ३ सय ३० रुपैयाँ पुगेको छ । त्यस्तै,धारा हेल्थ तेलको २ सय ९५ रुपैयाँ पुगेको छ । धारा तेल केएल दुगगडको उत्पादन हो । दुगडकै सनफ्लावर तेलको मूल्य २ सय ७५ रुपैयाँ पुगेको छ । निषेधाज्ञाको अवधीमा तोरीको तेल प्रतिलिटर ३० रुपैयाँ, सनफ्लावरको तेल प्रतिलिटर २५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । त्यस्तै,त्रिवेणी समूहको अन्नपूर्ण भेजिटेवलले उत्पादन गर्ने अमृत सनफ्लावरको तेलको मूल्य २ सय ७० रुपैयाँ पुगिसकेको छ ।

बजारमा पटक पटक खाने तेलको मूल्य बढ्न थालेपछि चौतर्र्फी विरोध भएपनि त्यसको बचाउ गर्दै केही समय अघि नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले खाने तेलको मूल्यवृद्धि हुनुको कारणसहित आफ्नो धारणा सार्वजनिक गरेको थियो । तेलको लागि आवश्यक कच्चा पदार्थको मूल्य सम्बन्धित देशमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पर्ने भएकाले स्वतःमूल्य बढेको संघको दावी छ ।

के भन्छ सरकार ?
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने जनाएको छ । लागत र नियम अनुसार लिन पाउने मूनाफा मात्रै उद्योगी व्यवसायीले लिन पाउँछन् । सो भन्दा बढी भएमा सरकारले कारवाहीको प्रक्रिया थालिहाल्ने विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन । बढी मूल्य लिएको सन्दर्भमा अनुगमन गरेर वास्तविक रुपमा मूल्य बढी हो कि होइन भनेर मात्रै यकिन गर्न र कारवाही गर्न सकिने सेढाईंको भनाई छ । त्यसका लागि विभागले निरन्तर अनुगमन गरिरहेको र दोषीलाई कारवाही गर्ने दावी गर्छन ।

मुद्धा कमजोर बनाउने प्रयास : 
कालाबजारीहरुले शक्तिको आडमा आफ्ना कमी कमजोरीलाई लुकाउने हदैसम्म प्रयास गरिरहेका हुन्छन् । सरकारका एक अधिकारीका अनुसार कालाबजारी गर्दै आएका केही उद्योग तथा व्यवसायीले पक्राउ पर्ने वित्तिकै त्यस विषयलाई कमजोर बनाउन विभिन्न प्रपञ्च रच्ने गर्छन् । उनीहरुले विभिन्न लोभ लालच देखाउने गर्छन् । अदालतमा पेश भएका मुद्धा कमजोर बनाउन हदैसम्मको प्रयास गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?