“दरबारमा केहि अनिष्ट हुँदैछ भनेर तयार गरिएको समाचार थियो त्यो” (भिडियोसहित)

किशोर नेपाल र नेपाली पत्रकारिता उस्तै उस्तै सुनिन्छ । उनले ५० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता कर्म गरिरहेका छन् । ७० वर्षीय नेपाल अहिले पनि पत्रकारको भूमिकामा उत्तिकै सक्रिय छन् । लगनशिल पनि । नयाँ प्रयोग गर्न नडराउने पत्रकारका रुपमा चिनिन्छन् । आम सरोकारको विषयमा तिखो नजर राख्छन् । विदेशका केही र स्वदेशका दर्जनौ मिडियामा काम गरेको अनुभव संगाली सकेका नेपाललाई नेपाली पत्रकारिताको विश्वविद्यालयभन्दा पनि हुन्छ । उनले उत्पादन गरेका सयौँं पत्रकारमध्ये कतिपय अहिले पनि पत्रकारितामा सक्रिय छन् ।

२० बर्षअघि आजकै दिन अर्थात जेठ १९ मा भएको दरवार हत्याकाण्डको सन्दर्भबाट शुरु गरेर उनीसँग हामीले नेपाली पत्रकारिताको पछिल्लो स्थिती छिमल्ने प्रयास गर्यौ ।  वरिष्ठ पत्रकार नेपालसँग लोकपथका लागि सन्तोष आचार्यको कुराकानी :

दरबार हत्याकाण्ड भएको २० वर्ष भएछ । हत्याकाण्डको ६ दिन अघि नयाँ सडक दैनिकमा ‘उमेर घर्किसक्दा पनि युवराजको बिहे नभएकोले जनता चिन्तित’ भनेर तपाईको बाइलाइनमा समाचार छापिएको थियो । तपाई त्यो पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । त्यो समाचारमा युवराजाधिराज दिपेन्द्रको प्रेम सम्बन्धको पनि चर्चा गरिएको थियो । समयमै बिहेको निर्णय नभए ठुलो अनिष्ट हुने संकेत समाचारमा गरिएको थियो । नभन्दै दरबार हत्याकाण्ड भयो । यो समाचार कसरी लेखिएको थियो ?

युवराजधिराज दिपेन्द्रको यो समाचार अरुजस्तो फासफुसे समाचार थिएन । दिपेन्द्रका केही स्कुले साथीहरुसँग कुरा गरेको थिएँ ।चन्द्रशमशेर, जुद्ध शमशेरआदि शमशेरहरुबीचको बेमेल, मनमुटाव र दिपेन्द्रको मनस्थिती केलाएर धेरै दुख गरेर तयार गरिएको थियो त्यो ।भएका सबै कुरा ठाडै लेख्न सक्दैनथ्यौं । घुमाइ फिराइ लेख्नु पथ्र्यो । प्रेस कानून डरलाग्दो नै थियो । त्यो सबैलाई थाहा छँदैछ । तथ्यहरु सबै जम्मा गरिसकेपछि केही विपत्ति त आउँछ राजदरबारमा,यत्तिकै यो टर्नेवाला छैन भन्ने लाग्यो । तर कसरी लेख्ने यसलाई भन्ने द्घिविधामा परेँ । यसबाट कसरी जोगिने ? न्युज पनि दिनु छ जोगिन पनि छ । त्यो हिसाब किताब गर्न बडा गाह्रो भयो मलाई । एकहप्ता अगाडी नै त्यो समाचार दिनु थियो । तर यस्तै अलमल र खोज पनि नसकिएको हुनाले मैले अलि ढिलै लेखें ।

त्यो सूचना तपाईलाई एकहप्ता अगाडि नै आइसकेको थियो ?

१५ दिन अगाडी नै मलाई सूचना आइसकेको थियो । त्यसलाई मैले खेलाइरहेको थिएँ । विभिन्न स्रोतहरुसँग बुझ्दै पनि थिएँ । दिपेन्द्रका मित्रहरुसँगको कुराकानीलाई आधार बनाएको थिएँ । तर समाचारको आधार त्योमात्र थिएन । त्यो त पछि छुट्दै गयो । मेरो आफ्नै सम्पर्क । राणाजी र शाहजीहरुको परिवारसँगको मेरो आफ्नो व्यक्तिगत सम्पर्कलाई प्रयोग गरेँ ।

दाइको काठमाडौंमा जुन एलिट क्लाससँग सम्बन्ध छ नि त्यो सम्बन्ध पनि यो समाचारका लागि उपयोगी भयो ?

एलिट क्लाससँगको मेरो सम्बन्धमा मैले भर गरिन । मेरा चिनजानका मान्छेहरु जो दरबारमा डोमेस्टिक साइडमा काम गर्थे उनीहरुसँग मैले सम्पर्क गरेँ । युवराजाधिराजको टेम्परामेन्ट बताउन सक्ने मान्छेहरुसँग कुरा गरेको थिएँ । यदि त्यो समाचार बेलायतको युवराजको बारेमा बेलायतमा लेखेको भए बडा रमाइलो हुन्थ्यो ।

त्यो समाचार प्रकाशित भएको ६ दिनपछि दरबार हत्याकाण्ड भयो । त्यसपछि तपाईलाई समाचारलाई लिएर कस्तो प्रतिक्रिया आयो ?

धेरै नै प्रतिक्रियाहरु आए । तपाईले आफ्नो समाचारमा संकेत गर्नुभएको थियो, यो कसरी भयो भनेर धेरै मान्छेले मसँग जिज्ञासा राखे । आफ्नो समाचारको स्रोत बताउने कुरा थिएन । हामीले त थाहा पाएको कुरा लेख्ने हो भनेर टार्दिएँ । मलाई उम्किनु नै थियो । त्यतिबेला श्री ५ को सरकारमा रहेका साथीहरुले ‘तँ अलि सावधान भएर बस’ भनेका थिए । ‘मैले सावधान हुनुपर्ने कुरो के रहयो ? म त्यो हत्याकाण्डमा संलग्न भए पो । मैले अनिष्ट हुन सक्छ भनेको थिएँ,यो भन्दा अनिष्ट के हुन्छ ?’ भनेर मैले श्री ५ को सरकारका ठूलै अधिकृतलाई भनेको थिएँ ।

दरबार हत्याकाण्डबारे नेपाली मिडियामा धेरै कभरेज भएका छन् । यस्तो लाग्छ अब यसलाई लिएर लेख्न बाँकी नै केही छैन । दाईलाई लाग्छ,यसमा अझै इन्भिस्टिगेसन बाँकी छ ?

यसमा अहिलेसम्म इन्भिस्टिगेसन नै भएको छैन । त्यो इन्भिस्टिगेसनको परिस्थिती पनि आएको छैन । दरबार हत्याकाण्डलाई अलग्गै राखेर त्यसको इन्डिपेण्डेण्ट रिपोर्टिङ नै भएको छैन । कसैले गरेको पनि छैन । दरबारको स्रोतले जे भन्यो त्यो छापिएको छ या त तारानाथ रानाभाट या तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जे भन्नुभएको छ त्यो छापिएको छ । यथार्थ के थियो ? दिपेन्द्रको मनस्थिती के थियो ? हत्या गर्ने दिपेन्द्र नै थिए कि थिएनन् ? यो त बडा रहस्यात्मक छ । दरबारमै काम गर्ने एक जना बुढी मान्छेले भने अनुसार त त्यसदिन जताततै दिपेन्द्र नै दिपेन्द्र देखिन्थे । त्यो दन्त्य कथा हो कि के हो कसैले छुटयाएको छैन अहिलेसम्म । हत्याकाण्ड भनेको त नेपालमा अचिन्त्य कुरा भयो । कसैले चिताएको पनि थिएन । नेपालमा गणतन्त्र स्थापना हुनु सजिलो तर राजाको त्यसकी अन्त्य हुनु नेपाली जनताले सोच्दै नसोचेको अनहोनी कुरा नै भयो त्यो । तारानाथजीले भट्ट्ट भन्दिनुभयो । गिरिजाप्रसाद कोइरालामाथि अनावश्यक आक्रमण भयो । शुरुमै ज्ञानेन्द्रको इमेज गयो । संविधानसभाबाट राजतन्त्रको समाप्ती एउटा स्वभाविक प्रक्रिया भयो । २ सय ४० वर्ष पुरानो नेपालको राजसंस्थाको समाप्त हुँदा पनि मानिसहरुले थाहै पाएनन् के भयो भनेर ।

भनेपछि दरबार हत्याकाण्ड नै राजतन्त्रको समाप्ती र गणतन्त्रको जग बस्नुको कारक बन्यो ?

२ सय ४० वर्ष भयो राजसंस्थाको । म त अन्तिम राजा नै वीरेन्द्रलाई मान्छु । ज्ञानेन्द्र त बाइडिफल्ट राजा भएकामात्र हुन ।

फरक प्रसङ्ग,दाइले हामीलाई पत्रकार भनेको हुकुमको एक्का हुनुपर्छ भनेर भन्नुहुन्थ्यो । तर अहिले आम मानिसहरु नेपाली पत्रकारिता र पत्रकार भनेको हुकुमको गुलाम भन्छन । यो गुनासो अहिलेमात्र आएको हो कि यो सनातनी आरोप हो ?

तासको गड्डी भइसकेपछि त्यसमा हुकुमको एक्का र हुकुमको गुलाम पनि हुन्छ । हामीले काम गर्दा यति छयालब्याल भएको थिएन । नेपाली पत्रकारितामा यति धेरै राजनीतिक हस्तक्षेप थिएन । हामी त्यतिबेला प्रजातन्त्रका लागि काम गथ्र्यौँ । प्रजातन्त्रका प्रतिक भनेर ठानिएका वीपी कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोइराला उहाँहरुलाई हामी सम्मान गथ्यौँ । त्यसबाहेक राजनीतिक हस्तक्षेपको बाटो थिएन । कम्युनिष्टहरुमा पनि थिएन । मनमोहन अधिकारी र पुष्पलाललाई पनि उनीहरु सम्मान गर्थे ।

उनीहरु पनि प्रजातन्त्र पुर्नस्थापनाकै बाटोमा थिए । अहिलेको जस्तो झगडा पनि थिएन । जतिबेला प्रजातन्त्र पुर्नस्थापना भयो त्यसपछि पत्रकारितामा लुटमार शुरु भयो । सूचना विभागको रातो कार्डका लागि राजनीतिक हस्तक्षेप हुन थाल्यो । संचारसँग असम्बन्धित व्यक्तिहरुलाई राजनीतिक कार्यकर्ताहरुलाई लगेर राष्ट्रिय समाचार समिति,नेपाल टेलिभिजन,गोरखापत्र,रेडियो नेपालजस्तो ठाउँमा भर्ती गरियो । भर्ति नै किन गरियो भने उनीहरुलाई केही आउँदैन थियो । अहिले पनि त्यो कालमा त्यहाँ भर्ती भएकाहरुको ल्याकतको जाँच गर्ने हो भने ती कति पानीमा छन् । सबैलाई थाहा हुन्छ । त्यसरी राजनीतिकरण भएको छ ।

संचारमाध्यममा राजनीति प्रजातन्त्रवादीहरुबाटै शुरु भयो होइन ?

प्रजातन्त्रवादीहरुले पनि राजनीतिकरण गरेका छन् । प्रशस्त गरेका छन् । कम्युनिष्टहरुको मिडियालाई आफ्नो पक्षमा लगाएर प्रचार गर्ने त उनीहरुको उदेश्य नै हो । उनीहरुले पनि दुरुपयोग गरे । उनीहरुले दुरुपयोग गरे भनेर आँशु खसाल्नु पर्दैन । प्रजातन्त्रवादीहरुले जसरी संचारमाध्यममाथि बलात्कार र जबर्जस्ती गरे त्यसले अहिले प्रेसको इज्जत संकटमा परेको छ । यसको जिम्मेवार कांग्रेस नै हो । त्यतिबेला कांग्रेसको सरकार थियो । त्यो सरकारले प्रजातन्त्रको क्रिया खाएको थियो । अभिव्यक्ति स्वतन्त्रताको क्रिया खाएको थियो । त्यसैले दुरुपयोग गर्यो । विजयकुमार गच्छदार संचारमन्त्री हुदाँखेरी रासस,गोरखापत्र,रेडियो नेपाल,नेपाल टेलिभिजनको के हालत भयो । ती संस्थाहरुलाई संसद अन्तर्गत ल्याएर तिनीहरुलाई स्वायत्त बनाउनुपर्ने थियो । सबै जनताको भाषा बोल्ने बनाउनुपर्ने ठाउँमा एउटा पार्टीको संयन्त्र बनाइयो ।

राजनीतिक हस्तक्षेप एउटा कारण होला तर यसमा स्वंयम सम्पादकहरु पनि दोषी छन् कि छैनन् ? किनभने कुनै ठूलो मिडियाको सम्पादक हुनका लागि राजनीतिक तहका नेताहरुदेखि पुलिसका हाकिमलाई गुहारेर मेरो साहुजीलाई मलाई सम्पादक बनाइदिन भन्देउ भन्ने सम्पादक हामी माझ नै छन् । के भन्नुहुन्छ ?

यो सामान्य कुरा हो । जब अभिव्यक्ति स्वतन्त्रमाथि हस्तक्षेप हुन थाल्यो । यसको स्वायत्ततामा हस्तक्षेप हुन थाल्यो तब सम्पादकले ‘डुबतेका तिनका सहारा’ भनेजस्तै तिनका खोज्न थाल्यो । त्यो तिनका खोज्दै जाँदा मलाई पनि थाहा छ धेरै मानिसहरुले आफुलाई प्रस्तुत गरेका छन् । र,आफ्नो प्रतिद्घन्दी जो छन् त्यसलाई सिध्याएका छन् । यो धेरै गहिरो कुरा हो । नेपाली पत्रकारिताको कसैले गहिरो अध्ययन गर्छ भने यी प्रवृत्तिहरु कसरी आए भनेर अध्ययन गर्नुपर्छ । अहिलेको जस्तो छयासमिसे अध्ययन गरेर हुँदैन। दुईचारवटा नचाहिने हावादारी कुरा लेखेर अनि त्यसलाई पिएचडीको थेसिस बनाएर केही हुदैन ।

कोभिडको बहानामा पत्रकारलाई मालिक र सम्पादक मिलेर जतिबेला पनि निकाल्ने वा एकदमै कम तलबमा काम गराउन थालियो । मालिक बलियो तर श्रमजीवी भनिएको पत्रकार भने निरिह देखियो । दाइलाई दया लागेन ?

दया लाग्ने भन्दा पनि आफुले त्यसमा केही गर्न सकिएन भन्ने ग्लानी चाँही हुन्छ । नेपाल पत्रकार महासंघको सभापति निर्वाचित भइसकेपछि मैले एउटा हिसाबले पत्रकार महासंघलाई चलाउनुपर्छ भनेर सोचेको थिए । तर त्यो केही पनि भएन । पत्रकार महासंघ भनेको श्री ५ को सरकारको एउटा विभाग वा संचार मन्त्रालयको एउटा अंगको रुपमा हो भन्ने भावना शुरुदेखि नै पर्यो । निर्भरता पनि बढदै गयो । अधिवेशन गराउन पनि सरकारसँगै पैसा लिनुपर्ने भयो । महासंघले सरकारको दलालीको प्रशिक्षण दियो । अहिले सबै दलालीमा लागेका छन् ।

पत्रकारले सरकारले तोकेको न्युनतम तलब समेत नपाएकोे गुनासो छ । यसमा नीतिगत रुपमै कमजोरी भएको हो ?

सरकारले नै पत्रकारको पारिश्रमिक निर्धारण गर्ने कमिटी बनाउनुपर्ने अनि त्यो कमिटीमा बसेर पत्रकारले मोटर चढनुपर्ने भयो । यस्तो यस्तो हाँस्यास्पद कामहरु भए । फलानोले यति तलब पाउने भनेर न्युनतमा पारिश्रमिक निर्धारण समिति भनेर बनायो । पत्रकारको न्युनतम पारिश्रमिक सरकारले तोक्ने हो र ?सरकारले बनाएको समितिले तोक्ने हो र ? जसले पत्रिका चलाउने हो त्यसले तोक्नुपर्यो नि । यो त पत्रकार र व्यवस्थापनबीचको पो सम्झौता हो । पत्रकार र व्यवस्थापनबीच भएको सम्झौता अनुसारको तलब पाएन भनेदेखि पो सरकार अदालत आदिले हस्तक्षेप गर्ने कुरा आउँछ त । मालिकको पक्षमा पहिले नै निर्णय गर्दिने ? त्यस्ता किसिमका कामहरु यहाँ भएका छन् । यही भएर आज जति पनि ठुला ठूला मिडिया हाउसहरु छन् तीनिहरुको आन्तरिक दुर्गती भएको छ ।

केही सम्पादकहरु त साहुसँग मिलेर समाचारमा दलाली गर्छन् भन्ने कुरा नेपाली मिडियामा स्थापित जस्तै छ । उनीहरुको आर्थिक हैसियत हेर्दा पनि थाहा हुने कुरा हो यो । अर्को के छ भने जो २० औं बर्षदेखि न्युज रुममा काम गरिरहेका छन्,उनीहरुको आर्थिक हैसियत टिठलाग्दो छ । यस्तो किन भयो ?

 

नेपालमा जो मानिसहरु सम्पादक भएर आए या त उनीहरु बढी योग्यता भएर आए या त योग्यता नै नभएको मानिसलाई सम्पादक बनाइयो । मेरो हिसाबमा न्युज पेपर चलाउने मान्छेहरुले आफ्नो नियन्त्रणमा बस्ने र आफ्नो भनाइ मान्ने सम्पादक खोजे । अनि त्यस्तो जीहजुरी गर्ने सम्पादक भयो भने उसलाई अखबार चलाउन सजिलो भयो । आज हरेक अनलाइन न्युज पोर्टलमा यही समस्या हो । हरेक ठुला अखबारहरुमा पनि यही समस्या हो । यस्तो सम्पादकले पनि आफूले भनेको सरक्क मान्ने सहकर्मी खोज्छ । यस्ताहरुको वृत्ति विकास हुन्छ । तर जो निरन्तर काममात्रै गरिरहेकाहरु छन् उनीहरुको वृत्ति विकास हुदैन । अनि द्घन्द शुरु हुन्छ । नेपाली प्रेसमा सबैभन्दा ठुलो कुरा यहाँ प्रतिस्पर्धा नै भएन ।

पत्रकारितालाई व्यवस्थित गर्न सकिँदैन ?

जरुरी छ । तर अहिले सकिँदैन । किनभने राजनीतिक दलहरुको रुचीमा सारा मिडिया लागेको अवस्था छ अहिले । मिडियाको तटस्थता,आक्रमकता अनि मिडियाले जज गर्ने भन्ने केही कुरै भएन ।

एउटा सानो शक्ति केन्द्रले पनि हाम्रो सम्पादकलाई सामान्य लोभ,लालच देखाएर उसको हैसियतमा नसबन्दी गरिदिन सक्छ भनिन्छ ,यो मान्नुहुन्छ ?

नेपालजस्तो सानो ठाउँमा विभिन्न शक्तिकेन्द्र चाँही हुदैनन् । विभिन्न संकलन केन्द्र हुन्छन् । शक्ति केन्द्र यहाँ एउटै छ । जसको अगाडी राजा पनि नतमस्तक हुन्थे पहिले । अहिले गणतन्त्रका नेताहरु पनि नतमस्तक छन् । त्यो टुटाउन सकिएको छैन । यसले सबैलाई कन्ट्रोल गरेर राखेको हुन्छ । मिलिट्री,पुलिस अनि राजालाई हिजो कन्ट्रोल गथ्र्यो । आज केपी ओलीलाई कन्ट्रोल गर्छ । हिजो गिरिजाप्रसाद कोइरालालाई त्यसैले कन्ट्रोल गर्यो । शेरबहादुर देउवालाई त्यसैले कन्ट्रोल गर्यो । सबैलाई त्यसले कन्ट्रोल गर्छ । किनभने बिक्रेता पनि त्यही हो । भारतसँगको दलाली पनि त्यसैले गर्छ । चीनसँगको दलाली पनि त्यसैले गर्छ । यो वर्गलाई नतोड्ने हो भने यहाँ केही पनि सम्भव छैन ।

यो वर्गसँग सम्पादकमात्रै होइन सबै नतमस्तक छन् भन्ने तपाईको संकेत हो ?

नभइ सुखै छैन । किनभने अन्नदाता, जीवनदाता,शक्ति दाता सबै तिनै हुन् । आज अक्सिजनको समस्या पर्यो देशमा । अक्सिजन छैन भनेर ठुलो हल्ला भयो । कोरोनाको यो महामारीमा । सरकारले पनि थुप्रै गाली खायो । त्यसपछि १०/१५ जना उठेर आए । सरकार गयो । त्यही शक्ति केन्द्रसँग शरण पर्यो ।अनि आननफानन्दमा अक्सिजन जुट्यो । सेनिटाइजर,मास्कको पनि त्यही हो । मास्कको ब्यापार साना व्यवसायीहरुको हातमा छैन । यसैले यहाँ कसैले पनि म यो देशको धनी ,नीति निर्माता, ठुलो मान्छे भनेर फुर्ति गर्नु पर्दैन ।
ब्यक्तिगत प्रश्न,७० बर्ष पुग्नुभयो । तपाईको उमेरका व्यक्तिहरु तिर्थ व्रत जाने गर्छन । यो उमेरमा औसत नेपालीहरु थारो भैसी जस्ता हुन्छन् ।

पत्रकारितामा तपाईको निरन्तर सक्रियताको पछाडी कुन उर्जाले काम गरेको छ ? उर्जाको स्रोत के हो ?

धेरैले पत्रकारितालाई पेशा बनाएर आए । केटाकेटी उमेरदेखि नै पत्रकारिता मेरो लागि पयासन भयो । म राजनीतिक कार्यकर्ता थिए तर मैले पत्रकारितामा हात हाले । मैले चुरोट छोडे । म त्यस्तो चुरोट खाने मान्छे । म आफैलाई पनि अचम्म लाग्छ । तर पत्रकारिता चाँही मैले छोड्ेनै सकिन ।

तपाईको पत्रकारिता जीवनमा त्यस्तो कुनै रोमान्चक क्षण छ जुन तपाईको स्मृर्तिमा अझै पनि ताजै छ ?

दुखद क्षणहरु त धेरै होला । मैले पत्रकारिता गरेको ५० वर्षभन्दा बढी भइसक्यो । अहिले पनि त्यो रोमान्चक क्षण कतिबेला आउछ भनेर पर्खिराखेको छु । आइ एम वेटिङ ।

एउटा पत्रकारको ठूलो उपलब्धि के हो ?

उसको आत्मसन्तोष हो । कसैले नाम लेओस् नलेओस् तर मैले यति त गरेँ भन्ने आत्मसन्तोष नै एउटा पत्रकारको ठुलो उपलब्धि हो । यो उसको पुरस्कार पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?