निषेधाज्ञामा कसरी बाँचिरहेका छन् पशुपंक्षी ? (भिडियोसहित)

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित देशका ७५ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञाका कारण हुँदा खाने वर्ग मात्रै होइन हुनेखाने वर्ग समेत मारमा परेका छन् । हुँदा खाने वर्गलाई बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे परेको छ भने हुने खाने वर्ग पनि आम्दानी ह्वात्तै घटेपछि चिन्तामा छन् ।

निषेधाज्ञाले मानव समुदायको जीवनशैली अस्तब्यस्त भैरहँदा, मानिसमै निर्भर रहेका सहाराविहिन पशुपंक्षीहरु कसरी बाँचिरहेका छन् त ?

यहि जिज्ञासासहित रिपोर्टिङमा निस्केको मलाई सिंहदरवारको पश्चिम गेटको दृश्यले सोचमग्न बनायो । करिव एक घण्टा त्यहाँ बस्दा झण्डै दुई दर्जन जति कुकुर भेला भए । आ–आफ्नो समूहमा बसिरहेका कुकुरहरु एकअर्कालाई आफू बसेको ठाउँमा आउन दिँदैन थिए । त्यसैले कुकुरहरु झगडा गर्दै सडकमा पुग्थे । सवारी ब्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले तीनलाई सडकबाट धपाएर किनारा लगाउँथे । तर उनीहरु के मान्थे र । यताको कुकुर धपाए उताको सडकमा जान्थे, उताको कुकुर धपाए यताको कुकुर सडकमा आउँथे । ट्राफिक प्रहरी कुकुर धपाउन गएको मौका छोप्दै सवारी चालकहरु ट्राफिक नियम मिचेर हुँइकिन्थे ।

सिंहदरबार अगाडिकै सडकको यो दृश्यले काठमाडौं उपत्यकामा रहेका सडक कुकुरहरुको नाजुक अवस्थालाई चित्रण गर्छ । निषेधाज्ञाका कारण मानवीय गतिविधि नभएपछि सडक कुकुरहरुले भोक मेट्न पाएका छैनन् । त्यसैले उनीहरु खानेकुराको आशमा मानिसको पछि पछि लाइन लाग्न थालेका छन् ।

कुकुर मात्रै होइन निषेधाज्ञाका कारण छाडा छाडिएका बाँदरदेखि साँढे र चराचुरुंगीहरुले पनि भोक मेट्न पाएका छैनन् । यसकारण उनीहरु मानववस्तीमा पस्न थालेका छन् ।

पशुपंक्षीविद् बाबुराम थापा निषेधाज्ञाका कारण पशुपंक्षीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको बताउँछन् । जंगली भन्दा पनि घरेलु पशुपंक्षीहरु मारमा परेको उनको भनाइ छ । उनले खानेकुरा फाल्नुको सट्टा जम्मा गरेर पशुपंक्षीलाई दिन आग्रह गरेका छन्।

जो वर्षाैदेखि भुस्याहा कुकुरको साहारा बने

विगत १८ वर्षदेखि सडक कुकुरहरुको हेरचाह गर्दै आएकी नेहा श्रेष्ठको दैनिकी घाइते कुकुरहरुको स्याहार गर्दै र आहार जुटाउँदै बित्ने गरेको छ । निषेधाज्ञाका समयमा काठमाडौंका बिभिन्न ठाउँ डुलेर सडक कुकुरलाई खाना खुवाउँदै आएका उनले आफ्नो टोलमा रहेका ५० वटा कुकुरलाई भने दिनहँु खाना खुवाउँदै आएकी छन् ।

नेहाको यो अभियानलाई साथ दिँदै आएकी छिन्, छोरी एरिकाले पनि । उनी पनि आफूहरुको अभियानमा छिमेकीहरुले पनि साथ दिएकोमा खुशी छिन् । सडक कुकुरहरुका बारेमा सोच्ने मानिस निकै कम रहेको भन्दै उनले खानेकुरा फाल्नु भन्दा घर अगाडि राखिदिन आग्रह गर्छिन् ।

यी आमा छोरी जस्तै विगत २५ वर्षदेखि सडक कुकुरको भोक मेट्दै आएका बसुन्धराका मनिष राईले अहिले आफ्नो कारलाई कुकुरको खाना बोक्ने साधनका रुपमा परिणत गरेका छन् । उनी अहिले काठमाडौंका विभिन्न ठाउँमा पुगेर बिहान र बेलुका सडक कुुकुरहरुलाई खानेकुरा खुवाउँदै आएका छन् ।

बिस्कुट, कुखुराको टाउको,खुट्टालगायतका खानेकुरा खुवाउँदै आएका उनको दैनिक खर्च २ देखि ३ हजार रुपियाँसम्म हुन्छ । यो खर्च उनी आफैंले ब्यहोर्दै आएका छन् । सडक कुकुरहरुको विजोग अवस्था देखेपछि आफूले नियमित रुपमा खाना खुवाउँदै आएको उनको भनाई थियो ।

कुकुरले आँफै खोसेर लुटेर खाने नभएकाले सडक कुकुरलाई हेला नगर्न उनको आग्रह छ । उनले खानेकुरा नफालिकन कुकुरलाई दिन उनले आग्रह गरेका छन् । निषेधाज्ञामा तीव्रगतिले सवारीसाधन चलाउनाले धेरै कुकुरको ज्यान गएको भन्दै उनले सतर्कताका साथ सवारी हाँक्न पनि आग्रह गरेका छन् ।

जो वर्षाैदेखि बाँदरको साहारा बने

मानववस्ती आसपास बस्ने बाँदरहरुले पनि निषेधाज्ञापछि पर्याप्त मात्रामा खान पाएका छैनन् । त्यसैले उनीहरु खानाको खोजीमा मानववस्तीमा प्रवेश गर्न थालेका छन् । त्यसो त कतिपयले भने बाँदरहरुको भोक मेट्दै आएका पनि छन् । तीमध्ये एक हुन्, बालाजुका मुकुन्द रिजाल ।

काठमाडौं महानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष समेत रहेका उनले बाँदरलाई मानवको पूर्खा मानिने भएकाले पनि आफ्नो झुकाव बढेको बताए ।

उनले स्वयम्भू, तपोवन, बाइसधारा लगायतका ठाउँमा रहेका बाँदरहरुलाई खानेकुरा खुवाउँदै आएका छन् । रिजालले बाँदरलाई छोकडा, विस्कुटलगायतका खानेकुरा खुवाउँदै आएका छन् । बाँदर धेरैलाई मन नपर्न सक्छ । तर रिजाल भने बाँदरले पनि माया दिने बताउँछन् ।
प्रकृतिलाई माया गरे मात्रै प्रकृतिले पनि माया दिने उनको भनाइ छ । उनले बाँदरका अलावा, गाई, कुकुरदेखि पशुपंक्षीको भोक मेट्ने अभियान नै चलाउँदै आएका छन् । त्यतिमात्रै होइन उनकै अभियान अन्तर्गत निषेधाज्ञा लागू भएदेखि नै बालाजुको गंगाहल नजिकै निःशुल्क खाना खुवाइदै आएको छ ।

काठमाडौं उपत्यकामा मात्रै २० हजार भन्दा बढी सडक कुकुर रहेको अनुमान गरिन्छ । छाडा छाडिएका पशु चौपायाको संख्या पनि बढ्दो छ । धार्मिकस्थलहरु समेत बन्द भएपछि परेवालगायतका चराचुरुंगीले अघाउञ्जेल खान पाएका छैनन् । यी पशुपंक्षीप्रेमीले भने झैं आफ्नो घरको भान्छामा उब्रेको खाना मात्रै घर अगाडि राखि दिने हो भने पनि यो महामारीमा उनीहरुको प्राण जोगिन सक्छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?