संवैधानिक राजतन्त्र जप्ने गिरिजाप्रसाद कोइराला यसरी भए गणतन्त्रवादी

गिरिजाप्रसाद कोइरालाका भतिज डा. शेखर कोइरालालाई अहिले पनि ती दिनहरु याद छन् । ती दिन अर्थात जतिबेला मुलुकमा गणतन्त्रको माग तीव्र रुपमा उठ्दै थियो ।

बाहिरबाट हेर्दा कोइराला केही असमन्जस स्थितीमा देखिन्थे । गणतन्त्र स्वीकार गर्ने कि परम्परागत संवैधानिक राजतन्त्रलाई नै निरन्तरता दिने । तर कोइरालाको मनमा गणतन्त्र स्थापनाको सपनाले घर बनाइसकेको थियो । यसैले उनले भतिज डा. शेखरलाई सम्झाउँदै थिए, ‘अहिले नै हामीले सिधै गणतन्त्र भन्नु हुँदैन ।’ स्वभाविक थियो, डा.शेखरले कारण खोजे । जवाफमा कोइरालाले तर्क दिए,‘अहिले नै हामीले गणतन्त्र भन्यौँ भने हामीलाई विदेशी र स्वंयम राजाले पनि अर्को अर्थमा लिन सक्छन् । कुरो बिग्रिन सक्छ ।’

त्यसो भए के गर्ने त ? डा.शेखर आफ्ना नेता तथा काकालाई सोध्दै थिए । जवाफमा कोइरालाले सुत्र अघि सारे । उनले भने,‘हामीले ‘पूर्ण प्रजातन्त्र’ भन्नुपर्छ । यसमा प्रचण्डजीलाई पनि मनाउनुपर्छ ।’

अब यो राजतन्त्रको काम छैन भनेर कोइरालाले आफ्ना निकटस्थतहरुलाई पनि स्पष्ट भनेनन्, केही संकेत भने गर्दै रहे । उनको चाहना गणतन्त्र स्थापना नै थियो ।

कोइरालाले जे चाहेका थिए,त्यो भयो पनि ।

संविधानसभाको पहिलो चुनावताकासम्म पनि विराटनगर पुगेर ‘बेबी किङ’ को आवश्यकता छ भनेर सार्वजनिक मन्तब्य दिइरहेका ८० वर्षीय गिरिजाले आखिर गणतन्त्रमा जाने निर्णय गरे ।

गणतन्त्र केवल तत्कालिन माओवादी विद्रोहीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्र देखेको सपना थिएन, ढिलै भए पनि कोइरालाले देखेको सपना पनि थियो त्यो । यसैले त १३ वर्षअघि आजकै दिन संविधानसभाको त्यो पहिलो बैठकलाई सम्बोधन गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री कोइरालाले भने, ‘आज मेरो सपना पूरा भएको दिन हो,राष्ट्रको पनि ।’

०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो । त्यसपछि राजा भएका ज्ञानेन्द्रले ०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरे । देशभरका टेलिफोन तथा मोवाइल लाइन काटिए । मिडियामा सेन्सरसिप लगाइयो । मौलिक हकमा छेकबार गरियो ।

सशस्त्र युद्ध लडिरहेको माओवादी र आन्दोलनरत सात राजनीतिक दलबीच ०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँ दिल्लीमा १२ बुँदे सहमति भयो । माओवादीले पनि हतियार बिसाएर शान्तिपूर्ण जनआन्दोलनमा सहभागी भयो ।

राजा ज्ञानेन्द्र विरुद्घको संयुक्त मोर्चामा राजनीतिक दल र माओवादी अटाए । उनीहरुबीच ०६२ मंसिर ७ मा भएको १२ बुँदे सहमतिले नेपालमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको बाटो खोल्यो ।

०६२/०६३ को जनआन्दोलन भयो । राजाले जनतासामु घुँडा टेके । कोइराला र प्रचण्ड एकआपसका लागि अपरिहार्य बन्दै गए । मुलुकमा सुस्तरी गणतन्त्रको माग घनिभुत हुँदै गयो । आखिर कोइराला र प्रचण्डबीच मिलेको रसायनले गणतन्त्र स्थापना भयो । राजतन्त्र बिदा भयो । दोस्रो संविधानसभाबाट ०७२ असोज ३ मा जारी संविधानले गणतन्त्र संस्थागत गर्‍यो ।

ज्ञानेन्द्रसँग ब्यक्तिगत खटपट र उनको हेपाहा प्रवृत्तिलाई सहन नसकेपछि कोइराला गणतन्त्रमा गएको बुझ्न सकिन्थ्यो । उता प्रचण्डको त दार्शनिकीमै गणतन्त्र थियो ।

त्यसो त कोइरालाले २०१४ मा संविधानसभाको सन्दर्भमा बीपी कोइरालाले भनेको कुरा पनि स्मरणमा थियो ।

बीपीले त्यसबेला भनेका थिए,‘यदि जनताका प्रतिनिधिहरूलाई राजा राख्न मन छैन भने राजालाई विधानमा स्थान दिलाउन खोज्नु अप्रजातान्त्रिक मात्र होइन, ठूलो राजनीतिक मूर्खता हुनेछ ।’

कोइरालालाई लाग्यो, कांग्रेसलाई पटक पटक धोखा दिएको राजासँग घाँटी जोडिरहनु अब आवश्यक छैन । उनले त्यही गरे ।

२०६२ को कांग्रेस महाधिवेशनमा पार्टीको विधानबाट संवैधानिक राजतन्त्र हट्यो । कोइरालाले यसमा कुनै टिप्पणी गर्न आवश्यक ठानेनन् । तर उनको इशारा बेगर त्यसो हुन सम्भव थिएन । राजतन्त्र हटाएपछि कृष्णप्रसाद भट्टराईले पार्टीबाट अलग हुने निर्णय गर्दा पनि कोइरालाले उनलाई मनाउने चाहना देखाएनन् ।

कोइरालाको मनमा राजतन्त्र हटाउने चाहना त्यसबेलादेखि नै गढिसकेको रहेछ भनेर बुझ्न कठिन छैन । संवैधानिक राजा हुन मन नगरेर सक्रिय राजतन्त्रको असफल अभ्यासमा लागेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने काम आखिर उनै कोइरालाले गरे ।
‘माले,मसाले र मण्डले एकै हुन’ भन्ने कोइरालाले जडसुत्रवादी भनिइने माओवादीसँग सहकार्य गरेर राजतन्त्र उखेले र मुलुकमा गणतन्त्र भित्र्याए । र,गणतन्त्रलाई कांग्रेसको पनि पुर्ख्यौली पूँजी बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?