कतै हामी सेनिटाइजरको नाममा विष त दल्दै छैनौँ ?

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले मास्क लगाउन, बारम्वार हात धुन र सेनिटाइजर प्रयोग गर्न अनुरोध गर्दै आएको छ । यसको अहिलेसम्म कुनै औषधि पत्ता नलागेकाले सामाजिक दूरी कायम गर्नु, मास्क लगाउनु, साबुन र सेनिटाइजर प्रयोग गर्नु नै उत्तम उपाय भएको विश्व स्वास्थ्य संगठनको ठहर छ।

त्यसैले त आम सर्वसाधारणले घर र कार्यालयमा मात्रै होईन गोजीमा समेत सेनिटाइजर बोक्न थालेका छन् । सर्वसाधारणमा सेनिटाइजरको भर र विश्वास यतिधेरै धेरै गढिएको छ कि यसको प्रयोगपछि कोरोना लगायतका भाइरस लाग्दै लाग्दैन ।

कोरोना महामारीे गर्दा अधिकांश मानिस घरभित्र बसिरहेका छन् । तर केही ब्यवसायीहरुले भने यो महामारीलाई मौकामा परिणत गरेका छन् । त्यसैले त उनीहरु जनस्वास्थ्यमाथि खेलवाड गर्दै मोटो रकम कुम्ल्याउन पल्किएका छन् ।

यसरी महामारीलाई पैसा कमाउने मौका बनाएर पछिल्लो समय हिरासतमा पुगेका तीन ब्यक्ति हुन्, सुनसरीको रामधुनी नगरपालिका–१ घर भई हाल ललितपुरको इमाडोलस्थित शितलहाइटमा बस्दै आएका २६ वर्षीय आशिष प्याकुरेल, काठमाडौं महानगरपालिका–१३, बाफल बस्ने राकेश अग्रवाल र कमल अग्रवाल ।

प्रहरीले बालाजुस्थित उत्सव डिटर्जन कस्मेटिक उद्योग र ललितपुरको इमाडोलस्थित कारखानामा छापा मारेर ठूलो मात्रामा अवैध, नक्कली र विषाक्त सेनिटाइजर सहितका सामग्रीहरु बरामद गरेपछि यसको रहस्य खुलेको हो ।

यसरी सफल भयो इमाडोल ‘अपरेशन’

कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो चढिरहेका वेला ‘बजारमा नक्कली र हानिकारक सेनिटाइजरहरु छ्याप्छ्याप्ती’ रहेको सूचना महानगरीय अपराध महाशाखा काठमाडौंमा पुग्यो । सूचना पाएलगत्तै महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले ‘इन्टेलिजेन्स’ टीम परिचालन गरे । उनीहरुले बजारमा उपलब्ध शंकास्पद सेनिटाइजरहरु संकलन गरी बैशाख २६ मा परिक्षणका लागि औषधि ब्यवस्था विभागको प्रयोगशालामा पठायो ।

चन्द्रकुवेर खापुङ, एसएसपी (प्रमुख, महानगरीय अपराध महाशाखा)
                                           चन्द्रकुवेर खापुङ, एसएसपी (प्रमुख, महानगरीय अपराध महाशाखा)

विभागले पनि त्यसको भोलिपल्टै प्रहरीबाट प्राप्त नमूना राष्ट्रिय औषधि प्रयोगशालामा पठायो । प्रयोगशालाले पनि आवश्यक परिक्षण गरी गत जेठ ५ मा विश्लेषण प्रतिवेदन विभागलाई पठायो । प्रतिवेदनको नतिजामा उल्लेख थियो, ‘प्रहरीले बुझाएको सेनिटाइजरमा मिथानल नामको बिषाक्त रसायन देखिएको, औषधि ब्यवस्था विभागले जारी गरेको ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६ बमोजिम गुणस्तरीय नभएको र यसको प्रयोग हुँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने ।’

विभागले गत जेठ ६ मा प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ‘आरसीपी इन्डष्ट्रि तथा यसले उत्पादन गरेका कुनैपनि उत्पादन विभागमा दर्ता नरहेकाले नियमानुसार त्यहाँबाट कारवाही अगाडि बढाउनु मनासिव हुने रायसहितको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

विभागको पत्र प्राप्त हुनासाथ महाशाखाको टोली अनुसन्धानमा जुट्यो । अनुसन्धान थालेको तीन दिनपछि अर्थात् जेठ ९ मा प्रहरीले उक्त विषाक्त सेनिटाइजर बनाउने कारखाना नै फेला पार्‍यो ।

कारखाना पुग्दा जे देखियो

ललितपुर महालक्ष्मी नगरपालिका–४ शितलहाइटमा रहेको यो कारखानामा जेठ ९ को दिउँसो प्रहरीले छापा मारेको हो । त्यसका लागि महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ, महाशाखाकै प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मी, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य, जिल्ला प्रशासनका प्रतिनिधिलगायत त्यहाँ पुगेका थिए।

कारखानामा पुग्दा त्यहाँका स्थानीय अचम्मित देखिए । प्रहरीको भ्यान र भीडले उनीहरुको उत्सुकता चुलिँदै गएको मुहारमा स्पष्टै देखिन्थ्यो । कतिपय स्थानीय कारखानामै आएर जिज्ञासा मेट्दै थिए । छिमेकमै विशाक्त सेनिटाइजरको उत्पादन भईरहेको प्रहरीको जवाफले स्थानीय आश्चर्यचकित थिए ।

कारखानामा ३० जना भन्दा बढी कामदारहरु सेनिटाइजर र फेशसिल्ड बनाउन ब्यस्त थिए । प्रहरी पुगेपनि उनीहरुले आफ्नो काम भने रोकेका थिएनन् । फेशसिल्ड बनाउन ब्यस्त उनीहरुले आफूहरू केही दिनअघि मात्रै काम गर्न आएकाले केही पनि थाहा नभएको बताए । निकै हतास मुद्रामा देखिएका उनीहरुले न आफ्नो परिचय दिन माने न त कारखानाको विषयमा जानकारी नै।

कारखानामा न कुनै प्रयोगशाला छ न तै कोही विशेषज्ञ नै । कामदारहरुले आफ्नै तरिकाले सेनिटाइजर र फेशसिल्ड बनाइरहेका थिए ।
बजारमा पठाउन तयारी अवस्थामा राखिएको सेनिटाइजर, त्यसको कच्चा पदार्थ र फेशसिल्डले गोदाम भरिभराउ थिए । गोदाममा सेनिटाइजर भर्न ल्याएका ग्यालिन, बट्टा, विभिन्न घातक केमिकलका ड्रमहरु थिए ।

गोदामबाट करिव एक करोड ८० लाख रुपैंया बराबरको सामान बरामद गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले करिव ३० हजार लिटर भन्दा बढी सेनिटाइजर र यसको केमिकल बरामद गरेको छ भने कारखानाका संचालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । कारखानाले सामान ओसारपसारमा प्रयोग गर्दै आएको दुई वटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कारखानामा थुप्रै प्रकारका सामानहरु ठूलो संख्यामा रहेकाले एकिन तथ्यांक आउन अझै केहीदिन लाग्ने प्रहरीको भनाइ छ।

कारखानामा पुगेका एसएसपी खापुङले उक्त कारखानाबाट उत्पादित सेनिटाइजर घातक रहेको र कहिँकतैबाट स्वीकृती समेत नलिएको जानकारी दिए । संचालक प्याकुरेलले आफ्नो गल्ती समेत स्वीकारेको बताउँदै एसएसपी खापुङले लोकपथसँग भने, “संचालकले नै गल्ती स्वीकारेको अवस्था छ, अब हामी प्रक्रिया अघि बढाउँछौं ।” प्रहरीले उक्त कारखाना सिल गरेको छ ।

यो कारखानामा उत्पादित प्लस ७५ सेनिटाइजर, फेशसिल्ड लगायतका सामाग्रीहरु काठमाडौंको त्रिपुरेश्वरस्थित होलसेलबाट बिक्रि वितरण हुँदै आएको थियो ।

आशिसले करिब तीन महिनादेखि उक्त गोदाम सञ्चालन गर्दै आएका थिए । शीतल हाइटको तीनतले घर र कम्पाउन्ड भाडामा लिएर उनले स्यानिटाइजर लगायतका सामग्री उत्पादन गर्दै आएका थिए । यहाँ उत्पादित केही सेनिटाइजरमा ‘आरसिपी, पर्साद्वारा रिप्याकेजिङ गरिएको’ भनी उल्लेख गरिएको छ ।

के छ मापदण्ड ?

औषधि ब्यवस्था विभागले सेनिटाइजरको मापदण्ड नै जारी गरेर उद्योगहरुलाई पालना गर्न निर्देशन दिँदै आएको छ । सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल हुनुपर्ने विभागको मापदण्डमा उल्लेख छ ।

यसका साथै गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने, उपयुक्त लेबल र ढुवानी गर्दार्का मापदण्डलाई पनि अनिवार्य पालना गर्नुपर्ने, कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने मापदण्डमा उल्लेख छ ।

तर, बजारमा उपलब्ध कतिपय सेनिटाइजरमा उक्त मापदण्ड पूरा नभएको पाइएको विभागले जनाएको छ । साथै विभागले मापदण्ड पालना नगर्ने र मिथानोल लगायत विषाक्त रसायन मिश्रित सेनिटाइजर कम्पनीहरुलाई कारवाही समेत गरेको छ । साथै विभागले गुणस्तरीय स्यानिटाइजरको मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले गत वर्ष गरेको एउटा परीक्षणमा बजारमा पाइने ब्राण्ड र लेबल उल्लेख नभएका सेनिटाइजरमध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको थियो ।

सक्कली सेनिटाइजर कसरी चिन्ने ?

बजारमा छ्याप्छ्याप्ती नक्कली र विशाक्त सेनिटाइजर रहेकाले सेनिटाइजर खरिद गर्दा विशेष ध्यान दिनुपर्ने देखिएको छ । अन्यथा कोरोनाबाट जोगिन प्रयोग गरेको सेनिटाइजरले ज्यान पनि लिन सक्छ।

औषधि ब्यवस्था विभागको मापदण्ड अनुसार सेनिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुन जरुरी छ । यस्तै आफूले खरिद गर्न लागेको सेनिटाइजर विभागमा दर्ता भए वा नभएको पहिल्याउनु पर्छ । त्यसपछि सेनिटाइजरको उत्पादन मिति, एक्सपायर मिति, मूल्य पनि ख्याल गर्नुपर्छ । यस्तै गरी आफूले खरिद गरेको सेनिटाइजरमा के–के कच्चापदार्थहरु प्रयोग भएको छ भन्ने पनि ख्याल राख्नुपर्छ ।

यसका साथै सेनिटाइजरमा जोकी एथेनल, प्रोपेनल र आइसो प्रोपेनल पनि हुने गर्छ । जसले गर्दा भाइरसको प्रोटिन नष्ट गर्छ । बजारमा अल्कोहल फ्रि–सेनिटाइजर पनि बजारमा उपलब्ध छ। यसमा एन्टिसेप्टिक हुने भएकाले एन्टी माइक्रोबायर एजेन्टस वा बेजाकोनियम क्लोराइड हुन्छ।

सुगन्धितभन्दा एथेनल बेस्ड सेनिटाइजर प्रयोग गर्नु उपयुक्त मानिन्छ । स्यानिटाइजरमा अल्कोहलको वासना हुनुपर्छ ।

के यस्तो सेनिटाइजरले ‘ब्ल्याक फङ्गस’ हुन्छ ?

छिमेकी मुलुक भारतको गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेशलगायत गरी १५ राज्यमा ब्ल्याक फङ्गसका बिरामी भेटिएका छन् । हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको बिरामी भेटिएका थिए । भारतमा अहिलेसम्म कुल ९ हजार ३ सय भन्दा बढी बिरामी भेटिएका छन्।

भारतीय चिकित्सकहरुका अनुसार यो रोगका बिरामीहरुमा नाक दुख्ने, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने जस्ता लक्षण देखिएका छन् ।

यो रोग किन लाग्छ त भन्ने विषयमा विशेषज्ञहरु एकमत हुन सकेका छैनन् । यद्यपि कतिपयले भने नक्कली र हानिकारक सेनिटाइजरका कारण पनि ब्ल्याक फङ्गस हुन सक्ने बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भने सेनिटाइजरकै कारण ब्ल्याक फङ्गस हुने कुरा प्रमाणित नभएको बताउँछन् । देश अनुसार फरक प्रकृतिको रोग देखा पर्ने गरेको भन्दै डा मरासिनीले भने, “नक्कली सेनिटाइजरकै कारण ब्ल्याक फङ्गस हुन्छ भन्ने कुरा प्रमाणित भएको छैन, देश अनुसार फरक फरक रुपमा यो रोग देखा पर्ने गरेको छ ।”

शरीर कमजोर भएका, अक्सिजन दिँदा प्रयोग गरिने पानी र कोरोनाविरुद्ध प्रयोग हुने विभिन्न औषधिको प्रयोगले ब्ल्याक फङ्गस हुने चर्चा छ ।

डा. मरासिनीले विषाक्त र नक्कली सेनिटाइजररको प्रयोगले ज्यान समेत जाने बताए । “मेथानल मिश्रित सेनिटाइजर खायो भने मृत्यु समेत हुन्छ,” उनले भने । यस्ता सेनिटाइजरहरुले एलर्जीलगायतका समस्या हुने उनको भनाइ छ । बजारमा पाइने सेनिटाइजरहरु राम्ररी विचार पु¥याएर मात्रै प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

सरकार माफियाको चँगुलमा फस्यो: उपभोक्ता अधिकारकर्मी

सरकारी अनुगमन प्रभावकारी नभएको फाइदा ब्यापारीले उठाएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले औषधि ब्यवस्था विभाग लगायतका सरोकारवाला निकाय मौन बस्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भईरहेको बताए ।

बजारमा दर्जनौं गुणस्तरहिन मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरु निर्धक्क विक्रि वितरण भईरहेको भन्दै उनले भने, “बजारमा दर्जनौं गुणस्तरहीन सेनिटाइजर बिक्रि वितरण भईरहेका छन्,तत्काल अनुगमन गरी कारवाहीको दायरामा ल्याउनुपर्छ।”

गुणस्तरहिन मास्क, सेनिटाइजर लगायतको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमा एलर्जी लगायतका समस्याहरु देखिएको उनले बताए । सरकारी संरक्षण भएकै कारण औद्योगिक क्षेत्रभित्रकै उद्योगहरुमा गुणस्तरहीन सेनिटाइजर उत्पादन हुन थालेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?