थपियो निषेधाज्ञा : काठमाडौंमै अलपत्र पर्नुभएको छ भने यसो गर्नुहोस्

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै देशका विभिन्न स्थानमा अहिले निषेधाज्ञा गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकाभित्रमा गरिएको निषेधाज्ञाको २७ दिन भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।

निषधाज्ञामा किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत खोल्न पाइने छैन । तर सागसब्जी, माछामासु र दूधका पसलहरु भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

साथै निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नयाँ आदेश अनुसार कारवाही गरिने बताइएको छ ।

निषेधाज्ञाका कारण पर्यटन कल-कारखान यातायात शैक्षिक क्षेत्र लगाएत सबै क्षेत्र ठप्प छन् । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन दिइएको छैन । बिनाकाम बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राख्ने र एक सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ ।

दैनिक जीवन यापनका लागी काठमाडौंमा बसोबास गर्ने, अध्यनका क्रममा काठमाडौं आएकाहरुलाई काठमाडौंमा बस्न गार्हो हुने गरेको छ । सार्वजनिक सवारी साधन नचल्दा घर(गाउँ) फर्किने बाटो पनि बन्द भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित हाल देशभरका ७५ वटै जिल्लामा निषेधाज्ञा जारी छ।

गत वर्ष भएको लकडाउनका कारण धेरै मानिसले हिडेरै १० दिन लगाएर घर पुगेको पिडा हामीले सामाजीक सञ्जालहरुमा देखेका थियौं । सोही प्रक्रिया फेरि नहोस भनेर पास वितरण गर्ने गरेको र पास भएका यात्रूहरुलाई आफ्नो घरसम्म जान दिइने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले लोकपथलाई बताए ।

‘धेरै जना अलपत्र परे भन्दै दुख पोख्नु हुन्छ । काठमाडौंमा काम सबै बन्द भए पेट पाल्नै गर्हो छ भन्नेहरु धेरै जना भेट्ने गरेका छौँ । अलपत्र पर्‍यौँ गाउँकसरी फर्किने भन्दै गुनासो गर्नुहुन्छ ।’ एसएसपी भट्टराईले बताए ।

‘अहिले पनि यसरी अलपत्र परेका मानिसहरू घर फर्किरहेका छन्। सार्वजनिक सवारी मार्फत नै उनीहरू घर फर्किएका छन् । हामीले सोही हिसावले व्यवस्थापन गरेका छौँ । अलपत्र परेका मानिसहरू घर फर्किन चाहेमा जिल्ला प्रशासनबाट पास दिएको हुन्छ । सोही पासका आधारमा सार्वजनिक सवारीमा भाडा तिरेर आफ्ना घर जाने गरेका छन् ।’ एसएसपी भट्टराईले बताए ।

एसएसपी भट्टराईका अनुसार अहिले दैनिक ६ सय देखी ७ सय सम्म मानिसहरु प्रशासनबाट पास लिएर घर फर्किने गरेका छन् । काठमाडौं उपत्यकाबाट दैनिक २ देखि ३ हजारसम्म सवारी साधन बाहिरिने गरेका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ । त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?