माधव नेपाललाई प्रतिगमन किन सधैँ आधा सच्चिए झैँ लाग्छ ? (भिडियोसहित)

१७ वर्ष काफी हुन्छ, एउटा राजनीतिक व्यक्तिलाई बुझ्न। एमाले महासचिव थिए, माधव कुमार नेपाल । राजा ज्ञानेन्द्र शाहविरुद्ध पाँच दल कांग्रेस, एमाले, जनमोर्चा, नेमकिपा र सद्भावना सडकमा संयुक्त आन्दोलन चलाइरहेको थिए। आन्दोलन आफ्नै चालमा थियो । त्यसलाई पाँच दलले राजाको प्रतिगमन विरुद्धको आन्दोलन नाम दिएको थियो। त्यो दिन थियो, जेठ २०। वर्ष २०६१। महासचिव नेपालको आदेशमा सडक संघर्षबाट अचानक एमाले रफुचक्कर भयो । उसका कार्यकर्ता बलिरहेको मसाल निभाएर आन्दोलनबाट बाहिरिए । अनि नेपालले भने,‘ प्रतिगमन आधा सच्चियो ।’

उनी यहीँ रोकिएनन् । राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिमण्डलमा भरतमोहन अधिकारीको नेतृत्वमा एमालेका नेताहरुलाई मन्त्री बन्न पठाए । एमालेका घनश्याम भुसाल लगायत युवा नेताहरुले गणतन्त्र र संविधान सभाको उच्चारण गर्दा ‘धेरै फूर्ति नगर्नोस्, कारवाही गरिदिउँला’ भन्न भ्याए।

तर लगत्तै राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा सत्ताको लगाम आफ्नो हातमा लिए। देउवादेखि नेपालसम्मलाई नजरबन्दमा राखे । ‘टुलुटुलु हेरेर नबस्ने’ राजाको सक्रिय शासन शुरु भयो ।

‘प्रतिगमन आधा सच्चियो’ भन्दै फाल हालेर सरकारमा सहभागी हुनु नेता नेपालको गल्ती प्रमाणित भयो ।अब १७ बर्षपछि अर्थात् आजका दिन एमालेका तीनै नेता नेपालको राजनीतिक गतिविधि हेरौँ ।

२०७७ पुस ५ मा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिए । यसलाई अन्य दलले जस्तै स्वंयम नेपालले पनि प्रतिगमनको संज्ञा दिए । यसमा उनले कुनै ढुलमुले चरित्र देखाएनन् । हाकाहाकी भने । सबैले सुने । यसपछि नेपाली राजनीतिमा अर्को घुम्ति आयो । २०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र बीचको एकतालाई स्विकार गरेन । दुवै दल पुर्ववत रुपिमा ब्यूतियो । माओवादी केन्द्र आफ्नो घर फर्कियो । एमाले पनि।

ओलीले २०७७ फागुन २८ मा नेपालसहित उनका पक्षमाथि देशब्यापी रुपमा कारवाहीको डण्डा चलाए।

विवाद चल्दै गयो । नेपालले समानान्तर ढङ्गले पार्टी चलाउने प्रयास गरे । केही सिप लागेन । नेपालले वैशाख २७ मा पार्टी अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाए ।

प्रस्तावमा उनले आफूहरुमाथिको कारवाही फिर्ता लिनुपर्नेदेखि २०७५ जेठ ३ मा पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ को स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने लगायतका मागहरु राखे।
प्रस्ताव स्विकार नगरिए आफ्नो पक्षका सांसदहरुले राजिनामा दिने चेतावनी नेपालको थियो। ओलीले प्रस्तावको कुनै वास्ता गरेनन्।
त्यहीदिन अर्थात् वैशाख २७ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत परिक्षण गरे। नेपाल समुहका सांसदहरु संसदमा अनुपस्थित भएपछि ओली अल्पमतमा परे।

ओली अब असहज स्थितीमा पुगे। नेपालको शर्त नमाने प्रधानमन्त्री पद हातबाट फुस्किने निश्चित थियो। कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्ने देखियो । यदि नेपाल पक्षका सांसदले राजिनामा दिएको भए, देउवाको सिंहदरबार सवारी पक्का थियो।
यसैले ओलीले वैशाख ३० मा नेपालसँग वार्ता गरे। नेपालका शर्तहरु मान्ने आशय प्रकट गरे। लिखत केही गरेनन् । मौखिक वचन दिए । नेपालले ‘प्रतिगमन आधा सच्चियो’ भन्ने शैलीमा ‘केही दिनका लागि राजिनामा टर्‍यो’ भने।
नेपालले आफ्ना सांसदलाई राजिनामा दिनबाट रोके। देउवाको नेतृत्वमा बहुमत संख्या पुग्न सकेन । ओलीको प्रधानमन्त्री पद जोगियो । भलै उनी बहुमतबाट अल्पमतको प्रधानमन्त्रीमा आइपुगे ।

त्यसको अर्को दिन अर्थात् वैशाख ३१ मा ओली–नेपाल पक्षबीच सिंहदरबारमा भएको दोस्रो वार्ताले ‘पार्टीलाई एकताबद्ध बनाएर लैजान एमालेलाई २०७५ जेठ २ मा फर्केर समस्याको समाधान गर्ने सहमति’ गर्दै ‘समस्याको समाधान खोज्न कार्यदल बनाउने निर्णय’ गर्‍यो ।
जेठ २ मा ओली र नेपाल पक्षबाट पाँच पाँच जना रहनेगरि वार्ता कमिटी बन्यो । तीन दिनको समयसिमा तोकियो ।
ओलीको दाउमा नेपाल फसिसकेका थिए । ओलीसामुू लत्रिनु वास्तवमा नेपालले उनीसमक्ष गरेको आत्मसमर्पण नै थियो। किनकी अब एमालेभित्र नेपालका लागि ‘राम्रो दिन’ आउने सम्भावना देखिँदैन।

ओलीसँग मौखिक सहमति भएपछि अब के नेपालले भन्दै आएको प्रतिगमन पुरै सच्चियो वा आधा यदि ओलीले नेपालका अब अन्य कुनै महत्वपूर्ण मागमा अनिच्छा देखाए के हुन्छ ?

हिजो आफैँले प्रतिगमनकारी, लोकतन्त्रविरोधी भनेका ओलीले पार्टीलाई तीन वर्षअघि माओवादी केन्द्रसँग एकीकरण हुनुपूर्वको स्थिती अर्थात् २०७५ जेठ २ को स्थितीमा पुर्‍याउन नमाने नेपालसँग विकल्प के छ ?

किनकी ओलीले पार्टी एकताको पहल गरिदिन आग्रह गर्न आउनेहरुसँग पटक पटक ‘आफू धेरै अघि बढिसकेकोले पछाडि फर्किन नमिल्ने’ बताउँदै आएका थिए ।

नेपालले नबुझेको कुरा के पनि हो भने प्रचण्डजस्तै ओली पनि उपयोगवादमा विश्वास राख्छन् । अहिले आफूलाई असहज पर्दा नेपालको साथ लिए पनि जतिबेला उनले आवश्यकता महसुस गर्दैनन त्यतिबेला नेपालको शर्त मान्न उनी राजी हुने छैनन् । संविधान मान्न त अनकनाउने ओलीले नेपालसमक्ष मौखिक रुपमा व्यक्त गरेको वाचा सबै पूरा गर्छन् भन्ने पनि छैन। ओली मनमा ईख पाल्ने राजनीतिककर्मी हुन् । नेकपामा छँदा आफूलाई नेपाल र प्रचण्ड मिलेर साधारण सदस्यबाट समेत निष्कासन गरेको उनको स्मृर्तिमा यति चाँडै धुमिल नहुन सक्छ । किनकी उनले एमाले पुनःस्थापना हुनासाथ नेपालसमूह माथि कारवाहिको डण्डा चलाएर आफ्नो स्वभावबारे जानकारी दिइसकेका छन्।

यो १७ वर्षमा पूर्वप्रधानमन्त्री नेपालले राजाको प्रतिगमन भोगे। अहिले आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयलाई पनि प्रतिगमन नै ठहर गरे । ओलीले फेरि पनि एमालेका ‘विद्रोही’जतिलाई पार्टीमा खास भाउ दिएनन् भने नेता नेपालले कस्तो निर्णय लिन्छन् उनीसँग भन्नका लागि तीन कुरा छन्–प्रतिगमगन आधा सच्चियो, प्रतिगमन पुरै सच्चियो वा फेरि प्रतिगमन भयो।

राजाको प्रतिगमनलाई आधा सच्चिएको भनेका नेता नेपालसँग अब ओलीसमक्ष आत्मसमर्पण गर्ने वा विद्रोह गरेर अलग दल खोल्ने बाहेक अब अर्को विकल्प छैन ।

विगतमा जस्तै आफ्नो दोषको भारी अरु कसैको टाउकोमा बिसाउन पाउने छुट यी ६९ बर्षिय पाका नेतालाई हुने छैन। नत्र नसच्चिएको प्रतिगमनलाई आधा सच्चियो भन्ने नेतालाई नेपाली राजनीतिमा ‘माधव नेपाल’ भनिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?