कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सको पीडा- ‘१२ घण्टा पीपीईमा गुम्सिएर सेवा दिन्छौँ’ (भिडियो अन्तर्वार्ता)

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले नेपाललाई पनि उत्तिकै सताएको छ । यतिवेला नेपालका अधिकांश स्वास्थ्य संस्थाहरु कोरोनाका विरामीले भरिएका छन् । मुलुक कोरोनाले आक्रान्त बनिरहँदा आज ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस मनाईदैछ । सिमित स्रोत साधन र जनशक्तिका भरमा नेपालमा नर्सहरुले कसरी काम गरिरहेका छन् ?

“१२ घण्टा पीपीईमा पसिना चुहाएर काम गर्दा हामी शारिरीक रुपले त थकित हुन्छौ। नै साथसाथै समाजको अपहेलित दृष्टिकोणले हामीलाई मानसिक तनाव पनि थपिएको छ । हामी, तपाई र तपाईकै परिवारका लागि खटिरहेका छौं त्यसकारण सकारात्मक सोचौं ।” यो पीडा र आग्रह विगत एक वर्षदेखि पाटन अस्पतालको कोभिड वार्डमा कार्यरत नर्स सृक्की शर्माको हो ।

उनी त्यतिबेलादेखि कोरोना संक्रमितको उपचारमा संलग्न थिइन,जतिबेला कोरोना भन्नासाथ छि छि र दूरदूर गर्ने परिस्थिती थियो । त्यसैकारण अस्पतालमा भर्ना भएका विरामी उनीहरुकै भरमा हुन्थे । यस्तो कठिन परिस्थिती झेल्दा झेल्दै सृक्की आफै कोरोना संक्रमित भइन् । उनी मात्रै होइन उनका भाइ पनि कोरोनाबाट संक्रमित हुन पुगे ।

तर उनले आफू संक्रमित भएको कुरा सार्वजनिक गर्न सकिनन् । किनकी त्यसबखत स्वास्थ्यकर्मी हेर्ने नजरिया नकारात्मक थियो । कतै कोठाबाट निकाल्ने त कतै होस्टेल नै तोडफोड गर्ने जस्ता गतिविधिहरु भईरहेका थिए । समुदायको यस्तो सोचले उनको चित्त दुखेको छ । स्वस्थ्य समाजका लागि क्रियाशिल ब्यक्तिप्रति समाजले घृणित दृष्टिकोणले हेर्दा आफूहरुको कामको उचित मुल्याकंन नै नभएको जस्तो लाग्ने उनी बताउँछिन् ।

तर, आफूले स्याहार गरेका विरामीले सहयोग गर्न तत्परता देखाउँदा भने निकै गर्व र खुशी लागेको उनले सुनाइन् । “मलाई त्यतिबेला खुशी लाग्यो जतिवबेला म कोभिड संक्रमित भएर बेडमा थिएँ, मैले उपचार गरेका बिरामीहरुले मलाई तपाईका लागि हामी छौं भनेर फोन सन्देश पठाउँदा मेरो आत्मबल बढ्यो ।”


कोरोनाबाट निको भए पश्चात पनि उनी कोभिड वार्डमै कार्यरत छिन् । एक वर्ष अघि र अहिले अस्पताल भर्ना भएका विरामीको लक्षण र प्रकृति फरक भएको उनको अनुभव छ । “पहिलेका विरामीमा श्वासप्रश्वासका समस्या कम थिए,अहिले धेरैजसो विरामीमा अक्सिजन नपुगेको स्थिती छ,” उनी भन्छिन् ।

सृक्की आफैँ चाहिँ कोरोनाबाट कसरी निको भइन् त ? भन्छिन्, “पहिलो कुरा पर्याप्त निद्राको खाँचो छ । यस्तै सकारात्मक सोच,पौष्टिक आहार, व्यायाम पनि महत्पूर्ण कुरा हो ।”

धेरै मानिसले विलासी जीवन बिताउँन खोज्दा यस्तो जीवनशैलीले गर्दा अन्य समस्याहरु आउँन सक्ने उनको बुझाई छ ।
कोरोनाका विविध लक्षणमध्ये खानाको स्वाद हराउनु पनि मुख्य लक्षण हो । चाँडै स्वाद थाहा पाउनका लागि चाहिँ के गर्ने त ? “यो कुरा धेरैलाई थाहा नहुन सक्छ कोदोको सुप खाँदा स्वाद चाँडै फर्किदो रहेछ ।” उनले आफनो अनुभव सुनाइन् ।

अस्पतालमा एकातिर बिरामीहरुको पीडा, अर्कोतिर आफन्तहरुको आक्रोस । यसकारण स्वास्थ्यकर्मीहरुलाई काम गर्न निकै गाह्रो हुने गरेको तितोसत्य पनि सृक्कीले सुनाइन् । “आफ्नो विरामीलाई मात्रै हेरोस् भन्ने हरेकको चाहना हुन्छ तर हामी विरामीको जटिलता अनुसार सबैलाई पालैपालो हेर्नुपर्छ, हरेक बेडमा बसेका बिरामीलाई आफ्नै आमाबुवा सम्झेर उपचार गर्नुपर्छ,” उनले भनिन् ।

निषेधाज्ञा अटेर गरेर नक्कसी कार्ड भिर्दै लखरलखर हिड्नेहरुप्रति सृक्कीको ठूलो गुनासो छ । “प्रहरीको आँखा छलेर केही हुँदैन, कोभिडको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ त्यसकारण नियमको पालना गरौं,”उनी भन्छिन् ।

नर्सिङ पेशामा गर्नुपर्ने परिश्रम र यसको पारिश्रमिकमा पनि उनको झिनो गुनासो छ । त्यसैकारण धेरै जसोले विदेश जानकै लागि नर्सिङ अध्ययन गर्ने गरेको उनको बुझाइ छ । लगानी अनुरुप प्रतिफल नहुने गरेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

यही प्रसँगमा उनी ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित फ्लोरेन्स नाइटिङ्गेललाई सम्झिन्छन् । भन्छिन्, “फ्लोरेन्स नाइटिङ्गेलले मान्छेलाई नर्सिङ पेशा बुझ्न १ सय ५० वर्ष लाग्छ भन्नु भएको थियो,अहिले बुझ्दैछन् ।” कोरोना महामारीमा जस्तै अन्य समयमा पनि स्वास्थ्यकर्मीको मर्म बुझिदिनु पर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?