देउवाका आफ्नै दुख छन्

ज्योतिषीले भनेजस्तै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा फेरि यसपटक पनि प्रधानमन्त्री हुन सक्लान् ? कि प्रधानमन्त्रीमा ओलीकै निरन्तरता होला ? प्रश्न अरु पनि छन् ।

वैशाख २७ मा प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सकेनन् । यसैदिन साँझ राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार वैशाख ३० गते राती ९ बजेभित्र बहुमत जुटाएर सरकार बनाउन दलहरुलाई आह्वान गरिन् ।

अब नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । चार पटक प्रधानमन्त्री बनिसकेका देउवा अब केहि दिन राजनीतिको केन्द्रमा छन् ।

प्रधानमन्त्री ओलीले बहुमत गुमाएको अर्को दिन वैशाख २८ देखि देउवाले आफ्नो दौडधुप बढाएका छन् । पार्टी पदाधिकारीहरुसँग गहन छलफल चलाएका छन् । गठबन्धन सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने निर्णय भएका छन् ।

माओवादी केन्द्र, एमालेको माधव नेपाल–झलनाथ खनाल समूह र जसपाको एउटा धार उपेन्द्र यादव–डा बाबुराम भट्टराईसँग भेटघाट गर्न थालेका छन् । तर देउवालाई थाहा छ, यी सबै भेटघाटको कुनै अर्थ छैन ।

किनकी,
देउवालाई रोक्न महन्थको दौड

माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम धार ओलीलाई फेरि प्रधानमन्त्री बनाएर उनको नेतृत्वमा हुने निर्वाचनमा लुरुलुरु हिँड्ने पक्षमा छैैन । यसका लागि उनीहरुका लागि देउवा नै दाहिना हुनुपर्छ । तर देउवाका पनि आफ्नै दुख छन् । दर्द छन् ।

देउवालाई थाहा छ, छिमेकी शक्तिको चलखेलले नेपाली राजनीतिमा कति अर्थ राख्छ भन्ने । किनकी हामीले भोग्दै आएको कुरा हो हाम्रो घरभित्रको राजनीतिमा नजिकका छिमेकीको चासो कुन हदसम्म हुन्छ । यस्तो चासो हस्तक्षेपको तहसम्म पनि हुने गरेका छन् ।

अहिले दक्षिणको शक्ति प्रधानमन्त्रीमा ओलीकै निरन्तरता चाहन्छ र उसकै नेतृत्वमा निर्वाचनमा जान चाहन्छ भन्ने सन्देश देउवाले पाईसकेका छन् । यसैले जसपाको एउटा धार महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले किन ओलीको काँध थापिरहेको छ भन्ने कुरा राजनीतिका खातिर खेलाडी देउवाले नबुझ्ने कुरै भएन । भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रहमण्यम स्वामीले नेपालका प्रधानमन्त्री ओलीले संसदबाट बहुमत गुमाएको भोलिपल्ट ट्वीट गरे । उनको आशय थियो, ‘ओली भारतको छनौट थिए । प्रचण्ड प्रधानमन्त्री भएको भए चीनले जित्थ्यो ।’
अर्थात् भारत ओलीलाई नै निरन्तरता दिन चाहन्छ, नत्र चीनले खेल्न सक्छ भन्ने उनको आशय बुझ्न सकिन्छ ।

तर यदि आगामी निर्वाचनमा ओलीले लोकप्रिय मतका साथ दुई तिहाई मत ल्याएर प्रधानमन्त्री बन्ने स्थिती देखियो भने भारतले के गर्ला ? त्यो अहिले सायद उसले सोचिसकेको छैन । अहिलेका लागि उसको रोजाई ओली नै हो । अर्को विकल्प पनि छैन ।

यही भएर भारतसँग नजिक रहेको जसपाभित्रको महन्थ पक्षले ओलीलाई बोक्ने आफ्नो कित्ता प्रष्ट गरिसकेको छ । जस्तो कि यस पार्टीका अध्यक्ष महन्थले वैशाख २७ राति नै विज्ञप्ति जारी गरे । उनले भने,‘….कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’

उनको स्पष्ट सन्देश हो, देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको जुन प्रयास भइरहेको छ, त्यसमा जसपाको समर्थन रहनेछैन ।

देउवाका लागि नयाँ सरकार बनाउन सिङ्गो जसपाको समर्थन आवश्यक छ । देउवा नेतृत्वको नयाँ सरकार गठनका लागि १२ मत चाहिन्छ, त्यही मत जसपाभित्रको महन्थ पक्षले नदिने घोषणा गरिसकेको छ ।

जसपाभित्रको यो धारले कसको इशारामा यस्तो निर्णय गर्यो ? भारतीय नेता सुब्रमण्यम स्वामीले जे संकेत गर्दैछन् अहिले जसपाको महन्थ पक्षले त्यही नै गर्दैछ । चार पटक प्रधानमन्त्री भएका देउवाले यति कुरा पनि नबुझेका होलान् ?

देउवाको रणनीति : सभापति हुने छिमेकी नचिढ्याउने

देउवाले छिमेकीको नाडी उहिले छामीसकेका थिए, जतिबेला उनलाई प्रधानमन्त्री बनिदिन माओवादी केन्द्रदेखि जसपाको उपेन्द्र पक्ष बुढानिलकण्ठ धाउँदै थियो । देउवाले त्यतिबेला बुझिसकेका थिए, ज्योतिषीले भने पनि हाल आफ्ना लागि सिंहदरबार टाढै छ । यसैले अहिले देउवाको ध्यान सिंहदरबारतिर हैन सानेपा केन्द्रित छ ।

आगामी भदौमा कांग्रेसको महाधिवेशन हुने भनिएको छ । देउवा सभापति पदमा निरन्तरता चाहिरहेका छन् । यो कुरा उनले लुकाएका पनि छैनन् ।

अहिले प्रधानमन्त्री पदका लागि आशक्ति देखाउँदा सभापति पद पनि गुमाउनुपर्ने खतरा उनले देखेका छन् । कांग्रेसभित्र रामचन्द्र पौडेल, शंशाक कोइराला, विमलेन्द्र नीधि र प्रकाशमान सिंहले पनि सभापति पदका लागि रहर गरेका छन् । उनीहरुले देखाएको यस्तो चाहनाको पछाडि कसले धाप दिइरहेको छ भन्ने पनि देउवाले बुझेका छन् ।

छिमेकीबाट पनि देउवालाई प्रधानमन्त्री बन्नका लागि ‘हरियो झण्डा’ नदेखाएकोले हतार हतार प्रधानमन्त्री बन्न खोज्दा त्यो टिकाउ हुँदैन भन्ने कुरा पनि देउवाले बुझेका छन् ।

यसैले सभापति पद जोखिममा राखेर भारतले नरुचाएको प्रचण्ड र जसपाको उपेन्द्र पक्षसँग मिलेर प्रधानमन्त्री हुने पक्षमा उनी छैनन् ।

माधवले चाहे पासा पल्टिन सक्छ

किन दौडधुप गरिरहेका छन् माधव नेपाल ? « Himal Post | Online News Revolution

उता माधव नेपाल समुह पनि स्पष्ट छैन, राजिनामा दिने वा नदिने भनेर । जबकी देउवादेखि प्रचण्ड अनि जसपाको एउटा धारले नेपाल समूहलाई राजीनामा सम्बन्धमा प्रष्ट गर्न आग्रह गरिरहेको छ । किनकी जबसम्म उनीहरुले राजिनामा दिँदैनन् तबसम्म देउवाका लागि बहुमत जुटाउन सम्भव छैन ।

ओली दाउ

देउवालाई बहुमत पुग्न नदिएर प्रधानमन्त्री पदमा आफ्नै निरन्तरताका लागि ओली जुन हदसम्म पनि जान सक्छन् । जसपाको महन्थ पक्षलाई तटस्थ राख्छन् र एमालेभित्रको माधव पक्षका सांसदलाई तत्काल कारवाही गर्दैनन् ।

ओलीले यस्तो चाल चाल्दा देउवाले संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन सक्दैनन् । यस्तो स्थितीमा ठूलो दलको हैसियतले ओली नै धारा ७६ (३) अनुसारको प्रधानमन्त्री बन्न सक्छन् । यतिबेला ओलीले पनि विश्वासको आवश्यक मत नपाउने पक्का । अनि त राष्ट्रपतिले धारा ७६ (५) अनुसारको सरकारको आह्वान गर्ने छिन् । अहिले संसदको गणित हेर्दा त्यतिबेला पनि आवश्यक बहुमत जुटाउन देउवाले सक्ने छैनन् । यसपछि ओलीले जे चाँहदै आएका छन् त्यहि हुन्छ । संसद विघटन हुन्छ । ओलीले चुनावमा जाने घोषणा गर्छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले वैशाख २७ गते संसदमा दिएको मन्तव्यको सार पनि यही थियो ।

देउवाले पनि यी सबै घनचक्कर बुझेका छन् । ओलीको चालबारे पनि जानकार छन् । यसकारण संसदीय राजनीतिका यी माहिर खेलाडीले सिंहदरबार सवारीमा लालसा देखाएका छैनन् ।

यो अलग कुरा हो कि कांग्रेसलाई सत्तामा पुर्‍याउन प्रयास गरेजस्तो भने उनले गरिरहेका छन् । त्यसैको एउटा कडी थियो, वैशाख २८ मा बसेको कांग्रेस पदाधिकारीको बैठक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?