यसरी प्रभावकारी बनाउन सकिन्छ कोरोना नियन्त्रण

लोकपथ
728
Shares

सागर सुवेदी

पहिलो घटना- 

काठमाडौंमा बसोबास गर्ने एक मित्रले एक साता अगाडी मलाई कल गरेर आफु कोरोना संक्रमित छु कि झैँ लागेको बताउनुभयो । उहाँका सम्पूर्ण कुरा सुनेपछि म प्रस्ट भँए,उहाँलाई कोरोना संक्रमण भैसकेछ । मैले उहाँलाई सल्लाह दिँए,‘तपाईलाई संक्रमण भैसकेको छ भन्ने कुरामा म प्रस्ट छु, तथापी तपाई पीसिआर गर्न कुनै ल्याबमा जानुहोस ।’

मेरो सुझाव स्वीकार गरियो । तर ल्याब भएको ठाँउसम्म कसरी जाने भन्ने प्रश्न आयो । हिँडेर या मोटर साइकलमा जाँउ भने जान सक्ने अवस्था छैन । कुनै ट्याक्सी प्रयोग गर्ने हो भने चालकलाई सर्दा उनीमार्फत भाइरस अरु फैलिने खतरा हुने भयो । अर्को कुनै उपाय छैन ।
मेरा ती मित्रले काठमाडौंमा चिने जानेका डाक्टरसँगसँगै स्वास्थ मन्त्रालयसम्म कल गरेर आफ्नो समस्या राखे । चिनेका डाक्टरले यो अवस्थामा केहि सहयोग गर्न नसक्ने भन्ने जवाफ दिए । स्वास्थ मन्त्रालयको हटलाइनमा कल गरेर समस्या राखे । उताबाट जवाफ आयो,‘तपाईलाई संक्रमण देखिएको पुष्टी भएमा हामीले केहि गर्न सक्छौ, संक्रमणको आशंका मात्रै हो भने केहि सहयोग गर्न सक्दैनौ ।’
ती मित्रले कुनै उपाय नपाए पश्चात परिवारको सहयोगमा अस्पतालसम्म जानका लागी टयाक्सी बोलाए । टयाक्सी चालकलाई आफुमा संक्रमण हुनसक्ने बताउँदा त्यहाँ सम्मको साधारण भाडा ३ सय ५० रुपियाँ भएपनि एक हजार रुपियाँ दिएको खण्डमा मात्र लैजाने बताए पश्चात त्यसै ट्याक्सीमा चढेर ल्याब भएको ठाँउमा पुगे ।

ल्याब भएको ठाँउमा पनि पिसिआर परीक्षण गर्ने सयौँको लाइन रहेछ । त्यसैमा हवाई यात्रामा विदेश जानेहरु पनि रहेछन् । त्यहि लाइनमा कष्टसाथ उभिएपछि करिब ६ घण्टा पश्चात पिसिआर गर्ने पालो आयो ।लाइनमा उभिएका हरुको मनोविज्ञान आफु कोरोना संक्रमित हुने डर भन्दापनि कतै रिपोर्ट पोजिटिभ आयो भने फ्लाइट छुट्छ कि भन्नेमा बढी केन्द्रित रहेछ ।

मित्रले सामाजिक दुरी राखेर लाइन लागौँ भन्दा त्यहाँ सुन्ने कसले ?मित्रको ६ घण्टाको लाइन बसाइमा कतिजना संक्रमित भए होलान् भन्ने प्रश्नले म अवाक बने ।

अर्को दिनमित्रले कल गरे,मैले अनुमान गरेजस्तै उनी भाइरस पोजेटिभ रहेछन ।

अर्को घटना

अमेरिकाबाट नेपाल बिदा मनाउन गएका मेरा अर्का मित्र आफ्ना चारजना परिवारमा तीनजना संक्रमित भयौँ भनेर खबर गरे। उनको फ्लाइट पर्सि हुँदा आज टेस्ट गर्दा परिवारका सदस्यको रिपोर्ट पोजेटिभ आएको रहेछ ।

शरीरमा केहि असाधारण परिवर्तन भएको महसुस भएपछी काठमाण्डौंको होटलमा कष्टकर बसाई बस्नु भन्दा आफ्नो घर चितवन फर्किनुस भन्ने मेरो सल्लाह स्वीकार्दै गाडीको खोजीमा लागेछन् । चितवन जानका लागि गाडी रिजर्ब गर्न सम्भब नहुने भए पश्चात कुनै टयाक्सी बोलाई बस पार्कसम्म पुगेछन् । त्यहाँ उनले एक माइक्रोबस फेला पारेछन । माइक्रोबस पहिला नै भरिएको रहेछ । उनीपनि चितवन जाने भन्ने कुरा बताए पश्चात चालकले प्रतियात्रु ३ हजार दिएको खण्डमा गाडीमा चढाउने भनेको कारण मेरा मित्रले चार जना व्यक्तिको भाडा १२ हजार तिरेर माइक्रो चढेछन् ।

यो कुरा सुनेपछि मैले मित्रलाई सम्झाए,‘अमेरिकामा बसेर संस्कार सिकेको परिवार भएर यस्तो नराम्रो कामगर्ने ?’ मेरो प्रतिक्रियापछि उनको जवाफथियो,–काठमाडौंदेखि भरतपुर सम्मको यात्रामा नखोक्ने कोहि थिएनन् । बरु म र मेरो परिवार संक्रमित भएपनि ठुलो समस्यामा थिएनौं, अमेरिका र युरोपबाट आंकलन गर्न सकिने अवस्था काठमाडौँमा छैन । यहाँ कसैलाई मतलब नै छैन । हाम्रो बाध्यताका कारण मुस्किलले १० जना यात्रा गर्न सकिने माइक्रो बसमा १८ जनाले यात्रागर्दै भरतपुर आयौं ।’

मैले बीचमै उनको कुरा काटेर सोधेँ,‘थानकोट लगायत धेरै ठाँउमा प्रहरीले जाँच गरिरहेको छ, कसरी त्यतिका व्यक्ति एउटा माइक्रो चढेर यात्रागर्न सक्छन?’जवाफमा उसले भन्यो,‘बाध्यता हो सागर, प्रहरीले पनि कति यात्रुलाई ओराल्ने ? त्यसैमा नाकामा हुने प्रहरीसँग माइक्रो बस वालाको सेटिङ चल्दो रहेछ ।’

यी दुई प्रतिनिधि घटना हेर्दा चेन ब्रेक गरेर नियन्त्रण गरिने भाइरस नेपालभित्र कसरी बढिरहेको छ भन्ने प्रस्ट चित्र देखिन्छ । त्यसैमा म्युटेत भाइरसले आफुलाई बिस्तार गर्ने क्रिया सामान्य अवस्था भन्दा बढाएको हुन्छ । माथिका प्रतिनिधि घटना हेर्दा नेपालमा भाइरसको चेन ब्रेक नहुनुमा केहि तथ्यले काम गरेको देखिन्छ ।

जस्तै

–शासक वर्गको अभिभावकीय कमजोरी ।

–जनता स्वयंको लापर्वाही ।

–प्रहरी निगरानीको कमी ।

–जनताको बाध्यता ।

–सही शिक्षाको कमी ।

माथिका उदाहरण हेर्दा कोरोनाको चेन ब्रेकमा ठुलो कठिनाइ एकातर्फ छ भने पहिलो लहर जस्तै यसमा पनि बेसार पानी तथा गुर्जो खाएर नै निको हुने भ्रममा छन्,नेपाली ।

अर्कोतर्फ राज्यले गर्न सकिने आफ्नो कर्तब्य उचित ढङ्गले पालना गर्न नसकेको प्रष्ट देखिन्छ। सरकार टिकाइ राख्न र ढाल्न, ब्यस्त देशका प्रमुख पार्टी तथा नेताहरु आफुले अत्याधिक सुविधाजनक जीवन बिताउदै गर्दा आम नागरिकले कसरी जीवन यापन गर्दै छन् भन्ने हेक्का राख्न सकिरहेका छैनन् ।

विश्वका मै हुँ भन्ने देशको अर्थतन्त्र ध्वस्त बन्दै गर्दा भाइरससँग जुध्न अनेक उपायको खोजीका साथै खोप कार्यक्रम प्रभावकारी बनाउदै यसबाट मुक्त भएर कसरी जीवन सहज बनाउन सकिन्छ भनेर अध्ययन तथा उपायको खोजी भइरहेको छ । नेपालका नेताहरु भने सत्ता बचाउने तथा सत्ता ढाल्ने खेलमा छन् ।

मैले यहाँबाट एक ठुलो समस्या देखिरहेको छु । माथिका दुई प्रतिनिधि घटनाबाट नेपालमा इन्डियन भेरीयण्टको भाइरसले आफुलाई बिस्तार गर्दै गैरहेको बुझ्न सकिन्छ । यो भाइरस अस्पताल बाट पनि बिस्तार भैरहेको छ । जस्तो,बिरामी स्याहार गर्ने परिवारका सदस्यहरुले लगाउने कपडा, उनीहरुमा हुने सर सफाइको कमी,प्रभाब बिहिन मास्कको प्रयोग,सहयोग गर्ने परिवारको सदस्यको अस्पताल बाहिर आँउदा पर्न जाने खतरा लगायतका बिषयहरु छन् । यो भाइरस संक्रमित व्यक्तिसँग कुनै बन्द कोठामा १५ मिनेटभन्दा बढी २ मिटर नजिक बस्दा ९५ % सर्ने खतरा रहन्छ । यति कुरा थाहा हुँदाहुँदै पनि अस्पतालमा कार्यरत स्वास्थ कर्मीले विरामी तथा विरामीका आफन्तलाई सही सूचना नदिनु पनि एक समस्या देखिन्छ।

यस्ता महामारी पृथ्वीमा एकसय बर्षको अवधिमा दोहोरिएर आएको देखिएको छ ।भाइरस म्युटेट हुदै जांदा आफसे आफ निस्प्रभावी,मानव शरीरले यससंग जुध्न सक्ने प्रतिरोधात्मक क्षमतामा बृद्दि,खोप तथा यसको चेन ब्रेक एवं अत्याबश्यक अवस्थामा सपोर्टिभ थेरापीले नै यसबाट बच्न सकिन्छ ।

तर राज्यले संक्रमण बोकेर सार्र्वजनिक यातायातमा यात्रा गर्न बाध्यपार्ने अवस्था सिर्जना हुनु बिडम्बनापूर्ण लाग्छ ।संक्रमितको नामावली एकै ठाँउमा राखेर ती संक्रमण मुक्त नभइञ्जेल निगरानीगर्न सक्यो भने यसको चेन ब्रेक गर्न सकिन्छ ।

सन् २०१९ मा देखिएको कोरोना र अहिले आफ्नो रुप बदलेको ‘इन्डियन भेरियण्ट’ को संक्रमण हुनुमा धेरै फरक भएको पुष्टि भैसकेको छ । यस्तो अवस्थामा राज्यले प्रभावकारी रुपमा योजना नै बनाएर कार्यान्वयन गर्न तर्फ लागेको खण्डमा मात्र कोरोना नियन्त्रण गर्न सहज हुन्छ। अन्यथा राज्य र जनताले ठुलो नोक्सानी ब्यहोर्नु पर्ने निश्चित छ ।

(पेशाले नर्स सुवेदी मेडिसिन युनिभर्सिटी ग्राज,अष्ट्रीयामा पब्लिक हेल्थ बिषयमा अध्यनरत छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?