महन्थले बागमतीमा सेलाएको मधेश मुद्दा (भिडियो रिपोर्टसहित)

हेमन्त ऋतुको पहिलो महिना । हो, त्यो मंसिर थियो । काठमाडौंमा चिसो बढीसकेको बेला । तर त्यही बखत तराई मधेश सत्तालाई केही भन्न खोज्दै थियो । आन्दोलनको रापतापले तराई जर्‍याकजुरुक उठ्दै थियो । यो साढे १३ वर्षअघिको कुरा हो  धेरैको स्मृतिमा ताजै होला ।

गिरिजाप्रसाद कोराला थिए, प्रधानमन्त्री । कांग्रेस सभापति पनि । भइदियो के भने कोइरालाका प्रिय महन्थ ठाकुरले पार्टीको कोषाध्यक्ष र विज्ञान तथा प्रविधिमन्त्री पदबाट अकस्मात् राजीनामा दिए । प्रधानमन्त्री तथा पार्टी सभापतिको हैसियतले कोइरालाले महन्थको राजीनामा बुझे । कोइरालाका लागि स्तब्ध पार्ने घटना थियो । किनकी जो व्यक्तिले निरन्तर ४८ वर्ष कांग्रेस बाहेक केही नसोचेर राजनीति गर्‍यो, त्यो व्यक्तिले अचानक कांग्रेस कसरी परित्याग गर्‍यो ? धेरैले प्रश्न गरे । अनेकले अनेकथरी अनुमान लगाए । धैरेले धेरै प्रकारको आशंका गरे ।

कांग्रेस त्यागेको एक महिनामै महन्थले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)  गठन गरे । मधेश आन्दोलनको नेतृत्व गरे । चुनाव लडे । कहिले हारे । कहिले जिते । अनेक उथलपुथल पछि अहिले महन्थ जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा छन् । महन्थले लगाम समातेको जसपा अहिले संसदीय राजनीतिको केन्द्रमा छ । तर भइदियो के भने पार्टीको लगाम उनको हातमा मात्र रहेन । पार्टीभित्रैको अर्को धार उपेन्द्र यादवले पनि शक्ति अभ्यास गर्न थालेपछि यो पार्टी विभाजनको डिलमा पुगेको छ ।

प्रतिनिधिसभाका ७८ वर्षीय यी पाका नेताको पार्टीले वैशाख २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा के गर्छ ? अहिले सबैको कौतुहल यही छ । त्यसदिन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन खोजेका छन् । प्रतिनिधिसभाको गणितमा अहिले एमालेको माधव नेपाल समूहजस्तै जसपा पनि निर्णायक शक्ति हो ।

न घर न आफ्नो परिवार यी सुकुम्बासी नेतासँग गुमाउनका लागि केही छैन । उनको एउटै चाहना हो, संविधानमा मधेश पनि सम्बोधन होस् ।

महन्थको नियति पनि कस्तो मधेशले विगतका आन्दोलनदेखि नै केही माग उठाउँदै आयो । तर ती मागप्रति असहिष्णु भनेर महन्थ लगायतका मधेस केन्द्रित दलहरुबाट आलोचित ओलीबाटै संविधान संशोधन लगायतका थाती रहेका मुद्दाहरु पुरा हुन्छ भन्ने आशमा छन्, महन्थ अहिले।

Mahanta Thakur Elected RJPN Parliamentary Leader | New Spotlight Magazine

कुनैबेला कांग्रेसभित्र सभापतिको- मायामात्र होइन, सम्मान र प्रतिष्ठा पनि थियो महन्थको । तर त्यति हुँदाहुँदै पनि कांग्रेसलाई ‘जय नेपाल’ भनेर हिँड्ने बेला महन्थको गुनासो थियो, गिरिजाबाबु मधेशप्रति संवेदनशिल हुनुहुन्न । तर गिरिजाप्रसाद कोइरालाभन्दा पनि एक कदम अगाडी बढेर ओलीले मधेशले उठाएका मागप्रति संवेदनहीन टिप्पणी गर्दै आएका छन्।

बहुपहिचान मूलक  संघीयतामा जाने भनेर आफ्नो पार्टीको घोषणापत्रमा राख्नु गल्ती भएको कुरा ओलीले कहिले पनि लुकाएका छैनन् । उनै ओलीबाट मधेस मामिला संवोधन हुन्छ भन्ने कुरा महन्थले कसरी विश्वास गरे ? राजनीतिमा जे पनि हुन सक्छ। ओलीले प्रधानमन्त्री पद जोगाउनका लागि मधेसका सबै माग पूरा गर्छन् भन्ने विश्वास होला, सायद महन्थलाई।

थरुहट र मधेस आन्दोलनका क्रममा पक्राउ परेका रेशम चौधरीलगायत अन्य राजबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग बोकेर बालुवाटारमा महन्थले प्रधानमन्त्री ओलीसँग पटक–पटक भेट गरेका छन् । उनी ओलीप्रति सकारात्मक देखिन्छन् पनि ।

तर जसपाकै अर्का नेता उपेन्द्र यादवदेखि डा.बाबुराम भट्टराईको समूहले भने ओलीको प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी करार दिँदै आएको छ ।

Samajbadi Party pulls out of government, Upendra Yadav resigns

यही अलग अलग दृष्टिकोणले महन्थको पार्टीमा कित्ताकाट छ। राजनीतिक ज्योतीषहरु भन्दैछन्,अब जसपा नफुटी धरै छैन । महन्थले राजनीतिमा जे चाहे कहिले पाएनन् । उनले कांग्रेसमा महामन्त्री चाहेका थिए, त्यो पाएनन् । सभामुख हुने वचन पनि पाए, पूरा भएन । राष्ट्रपतिमा उनको नाम आयो, हुने बेला अरुले नै त्यो सर्वोच्च पद पायो ।

अहिले पनि महन्थलाई सहमतिको प्रधानमन्त्री बनाउने र उनकै नेतृत्वमा चुनावी सरकार गठन गर्ने कुरा उठाउने गरिएको छ । आश्वासन बग्रेल्ती पाएका छन् ।यसैले होला,अहिले महन्थले जे खोजिरहेका छन् त्यो चेकमा होइन, क्यास अनि उधारो होइन नगद मागिरहेका छन् ।

विवेकको भाषा बोल्ने अनि राजनीतिक साख पनि उत्तिकै भएका नेता हुन् महन्थ । तर अहिले नियतिले उनी नयाँ संविधानका निर्माता मध्येका एक ओलीको कोटरीमा पुगेका छन् । मधेशलाई अधिकार दिलाउने जीवनभर देखेको सपनाको ब्यवस्थापन ओलीबाटै हुन्छ भन्ने आशा लिएका छन्,महन्थले । तर जुन कुरा गिरिजाप्रसाद कोइरालाबाट पाएनन् त्यो चिज ओलीले दिन्छन् भन्ने कुरामा उनले देखाएको विश्वास आफैँमा अविश्वसनीय  छ ।

स्रोतका अनुसार, महन्थले संविधान संशोधनको मुद्दा छाडिसकेका छन् । रेशम चौधरीको रिहाई सम्भव छैन भन्ने कुरा पनि उनले बुझिसकेका छन् । आफ्ना केही कार्यकर्ताको मुद्दा फिर्ता र रिहाई बाहेक महन्थका लागि मधेस मुद्दा गौण बनिसकेको छ।

मधेसमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको शक्ति बढ्न नदिन महन्थलाई कांग्रेस त्याग्न लगाएर उनकै नेतृत्वमा तमलोपा गठन गर्न दक्षिणले निर्देशन गरेको आरोप पूरानै हो । अहिले त्यही शक्तिले महन्थलाई ओलीसँग एकाकार हुन लगाएको आरोप नयाँ हो ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पद जोगाउन महन्थले आफ्ना निकट सर्वेन्द्रनाथ शुक्ला मार्फत् जुन भूमिका खेले त्यसले ओली–महन्थबीचको पछिल्लो बन्धन कति कसिलो हुँदै गएको छ भन्ने संकेत गर्छ ।

किनकी दक्षिण छिमेकीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपेन्द्रलाई एकसाथ कमजोर बनाउनुछ । यसका लागि महन्थलाई प्रचण्ड र उपेन्द्रको कित्तामा पुग्नबाट रोक्नुछ।

स्रोतको दाबी पत्याउने हो भने आगामी निर्वाचनमा ओली नेतृत्वको एमालेसँग महन्थले चुनावी तालमेल गर्ने,चुनाव जित्ने । ओली फेरि प्रधानमन्त्री अनि महन्थ राष्ट्रपति हुने । अहिले उनले पाएको आश्वासन यही हो । कुरा नगदको गरे पनि महन्थ उधारोमै भए पनि यसैमा राजी छन् ।

यो आरोप हो कि सत्यता वा महन्थले भोग्दै आएको प्रारब्धको नयाँ श्रृंखला!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?