सशस्त्र द्धन्द्धदेखि कोरोना महामारीसम्म भोगेकी असई शान्ति भन्छिन्, ‘जनयुद्धभन्दा भाइरससँगको लडाईँ अप्ठेरो’

बिप्लव जमकटेल/काठमाडौं ।

‘रोक्नुहोस् त ।’

सेतो ग्लोब्स लगाएका उनका हात हुँईकिएका सवारी साधनतर्फ संकेत गर्दैछन् ।

सवारी चालकसँग भौतिक दूरी कायम गर्न उनी सर्तक छिन् ।

दुई मिटर वरैबाट भन्छिन्, ‘तपाईको कार्ड यता फर्काउनुहोस् त ?’ सवारी चालक सरकारले तोकेको अत्यावश्यक को लिस्टमा परेका व्यक्ति हुन् या होईनन् । उनी कन्फर्म हुन चाहन्छिन् ।

उनी अर्थात् महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली काठमाडौंमा कार्यरत प्रहरी सहायक निरिक्षक असई शान्ति थापा ।

लोकपथको टिम रिर्पोटिङका लागि थापाथली पुग्दा त्यहाँको सवारी चेकिङको लागि असई थापासहित ड्यूटीमा खटिएका थिए, ९ जना प्रहरी । असई थापाले नेपाल प्रहरीमा कार्यरत भएर जनताको सेवा दिन थालेको २२ वर्ष पूरा भइसकेको छ । उनका श्रीमान पनि प्रहरी सेवामा छन् । उनी काठमाडौं महाराजगन्जमा कार्यरत छन् । उनीहरुका एक छोरी छिन् ।

‘अरु त ठिकै थियो, कोरोनाको दोस्रो लहरको डर मानिसमा निकै कम छ । पहिले जस्तो मानिसमा गम्भीरता नै छैन ।’ उनी दुखी सुनिन्छिन् ।उनले थपिन्, ‘हामी सडकमा उभिएर जानेबुझेका कुरा सेयर गर्ने, नियम पालना गर्न लगाउने गरिरहेका छौँ ।’

निकैबेर अनुरोध गर्दापनि उनले कुराकानी गर्ने अनुमति दिईनन् ।

उनले थापाथलीस्थित प्रहरी कार्यालयको बोर्ड देखाईदिँदै त्यहाँ गएर कुरा गर्न सुझाईन् । तर हामी चाहन्थ्यौँ सडकको यथार्थ बाहिर आओस् । त्यसैले निकैबेर उनको अनुमति कुरेपछि उनी कुराकानीको लागि तयार भईन् ।

सडकमा ड्यूटिमा खटिँदा अरु समय र कोरोना कालमा के फरक हुँदोरहेछ ?

पहिलो प्रश्न सुनेपछि उनले बिहान भर्खरैको घटना सुनाउँदै भनिन्, ‘अझैपनि केहि चालकले चिउँडोमा मास्क लगाएको देखिन्छ । मानिसहरु आधा किलो स्याउ किन्न पनि भीडभाडमा गइरहेका छन् ।’

अत्यावश्यक सवारी साधन र काम विशेषले पासका आधारमा हिँडडुल गर्न दिईएका सवारीसाधनका बीचमा घुसेर कहिलेकाहिँ अत्यावश्यक बाहेकका सवारी विभिन्न नक्कली परिचयपत्र बोकेर पनि आउँछन् । यस्तो विषम परिस्थितीकाबीच यस्तो हालत देख्दा निकै दुख लाग्छ ।

मुलत सडकमा उनले देखेका दृश्य यस्ता छन् :

मास्कको उचित प्रयोग भौतिक दूरी र सुरक्षा तथा सावधानी अपनाएको देखिँदैन ।

कुनै सवारी रोक्दैनन्, प्रहरी चेकि देख्नेबित्तिकै बाटो मोडेर हानिन्छन् ।

कुनै सवारी छलाएर जान खोज्छन् ।

कतिपय सवारी भाग्छन् पनि तिनलाई हामी अर्को जक्सनमा पक्रिन्छौँ ।

‘कुनै सवारीचालक रिसाएर गाली र आक्रोश पनि व्यक्त गर्नुहुन्छ । तर हामी त्यस्ता कुराबाट विचलित हुँदैनौँ, हामीलाई अनुमति भएका सवारी मात्रै सञ्चालन गर्ने दिने गरेका छौँ ।’

त्यसो त २२ वर्ष राष्ट्रसेवकको रुपमा आफ्नो जीवनको महत्वपूर्ण समय खर्चेकी शान्तिले तत्कालिन माओवादी जनयुद्ध पनि नभोगेकी होईनन् ।

१० वर्ष लामो समय चलेको सशस्त्र जनयुद्धदेखि एक वर्षदेखि विश्व आक्रान्त बनाएको कोरोनाको महामारीसम्म भोगेकी शान्तिलाई किन पो हो? यो महामारी अनौठो र जटिल लागेको छ ।

भ्याक्सीन लगाईसकेको व्यक्तिमा समेत दोहोरिएर संक्रमण हुनु, डबल म्युटेन्टसहितको नयाँ नयाँ प्रकृतिको भाइरस समयक्रममा बदलिएको स्वरुप, छिमेकी मुलुकलाई पुर्‍याएको अप्ठेरो, विश्वलाई आक्रान्त पारेको यो भाइरस निकै जटिल लाग्यो उनलाई । त्यसैले उनी ड्युटिमा खटिएका बेला नागरिकलाई यो भयावह अवस्था बुझाउन खोज्छिन् ।

उनको अगाडी लस्करै आएका एम्बुलेन्सलाई बाटो खाली गर्ने ईशारा गरेर पास गराउँदै उनी कुराकानी जोड्छिन्, ‘देख्नुभयो अक्सिजनको हाहाकार, बेड पाईएन, चिकित्सक अभाव भनेको कुरा त सुन्नुभएको थियो नि । बाटोमा एम्बुलेन्सको लाईन छ । रहरले त होईन नी । आम नागरिकले यति कुरा बुझिदिनुहोस् ।’

देश र जनताको सेवामा अहोरात्र खटिन्छु भनेर कसम खाएकी असई शान्तिको आफ्नो व्यक्तिगत जीवन पनि छ । स्थायी ठेगाना तनहुँ भएपनि उनको परिवार काठमाडौं सामाखुसीमा बस्छ । शान्तिको एक छोरी कक्षा ५ मा पढ्छिन् । ‘श्रीमान् पनि प्रहरी सेवामा भएका कारण धेरै सहकर्मी र जनताको साथमा रहनुपर्छ । हामी पनि सुरक्षित भएर परिवार पनि बचाउनुपर्छ । डर हुन्छ ।’ उनी सचेत छिन्।

ड्यूटी सकिएर घर गएपछि सबै कपडा परिवर्तन गरी सरसरफाई गरेर मात्रै छोरीको नजिक जान्छन् यो जोडी।

१५ मिनेट कुराकानीका क्रममा समेत शान्ति निकै हतारिसकेकी छिन्। उनले नेतृत्व गरेको ९ जनाको समूह दिनभरको ड्युटीमा सिर्फ पानीको भरमा रहन्छन् । ड्युटी सकिएपछि सरसफाई गरेर मात्रै नास्ता खाईन्छ, हजुर । यो बीचमा हामी सबैजना निकै अप्ठेरोमा हुन्छौँ । भावुक सुनिईन् ।

टिभी हेर्न /रेडियो सुन्न पहिलेजस्तो भ्याउन्नन् उनी । दिनभर सडकमा यताउता गर्दा फतक्कै गलिन्छ । त्यसैले मोबाईलमा हेरेर समाचार थाहा पाउँछिन् उनी । अनलाईनहरुको अफवाहसँग समेत सचेत रहेकी शान्ति सकभर समसामयिक गतिवीधिबारे अपडेटमा चाहिँ नछुटौँ भन्नेमा दृढ छिन् ।

‘यो महामारी कहिलेसम्म जान्छ थाहा छैन ।’ उनले बिदा हुनै लाग्दा भनिन्, ‘सबैजनालाई सुरक्षित बस्न र नियम मान्न भनिदिनुहोस् है ?

उनी मुसुक्क मुस्कुराईन् सायद, मास्कले छोपिएको उनको अनुहार प्रष्टै देखिएन तर उनका आँखाले यस्तै संकेत गर्‍यो ।

लेखकबाट थप :

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्नै मुस्किल, पशुपति परिसरमा जे देखियो (फोटोमा हेर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?