फेरि मारमा पर्‍यो उद्योग क्षेत्र : खपत हुन छाडेपछि उत्पादन घटाईँदै

कमला अर्याल /काठमाडौं –

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै उद्योग व्यवसाय पुनः प्रभावित हुन थालेको छ ।

कोरोनाको पहिलो संक्रमणले थला परेका उद्योग तथा व्यवसाय क्षेत्रले लय समात्न नपाउँदै दोस्रो लहरका कारण थप प्रभावित हुन थालेको हो ।

कोरोनाको दोस्रो लहरका कारण अहिले सरकारले ५१ भन्दा बढी जिल्लाहरुमा पूर्ण वा आंशिक निषेधाज्ञा जारी गरेको छ। जसका कारण उद्योग व्यवसाय सहज रुपले सञ्चालन हुन पाएका छैनन् । सरकारले उद्योग क्षेत्र चल्न दिने निर्णय गरे पनि निषेधाज्ञाका कारण उद्योगमा काम गर्ने कर्मचारी आवतजावत गर्न समस्या भएका कारण उद्योग धन्दा चलाउनै गाह्रो भएको छ।

उद्योग व्यवसाय सञ्चालन भएर उत्पादन भएपनि बजार बन्द हुँदा खपत हुन सकेको छैन। काठमाडौं उपत्यका लगायतका मुख्य शहरका अधिकांश मानिसहरु आ–आफ्ना घर गएका छन् । मुख्य शहरहरुमा यतिबेला मानिसको चाप कम छ। जसले गर्दा उत्पादनको माग पनि घटेको छ। अधिकांश क्षेत्र बन्द रहेकाले उत्पादन खपत हुनै छाडेपछि उद्योगहरुले उत्पादन घटाउन थालेका छन् । ‘उत्पादन मात्रै गरेर के गर्ने ? खपत छैन । त्यसैले उद्योगले उत्पादन घटाउन थालेका छन् ।’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लोकपथसँग भने ।

अहिले मुस्किलले ५० प्रतिशत मात्रै उद्योग सञ्चालनमा छन् । तिनै उद्योग पनि राम्रोसँग संचालन हुन सकेका छैनन् । कोरोनाको पहिलो लहरमा डटेर सामना गरेको उद्योग व्यवसाय क्षेत्र दोस्रो लहरबाट निकै हतास भएको छ । उद्योग व्यवसायीहरु कहिलेसम्म यस्तो अवस्था रहने हो भन्ने चिन्ता गर्न थालेका छन्।

‘उद्योग व्यवसाय टिकाउनै हम्मे हम्मे भयो।’ उपाध्यक्ष श्रेष्ठले भने। ऋणको साँवा ब्याज तिर्ने म्याद असार मसान्त नजिकिँदैछ । व्यवसाय नै नचलेपछि बैंकको ब्याज तिर्न असमर्थ हुने भन्दै व्यवसायीले बैंकको ब्याज छुट दिन माग गरेका छन् । ‘बैंकले ऋणको ब्याजमा छुट दिनुपर्छ । अन्यथा उद्योग बचाउन गाह्रो हुन्छ।’ श्रेष्ठले भने।

कामदारमा फैलिँदो त्रास

वैशाख महिनाका केही सातामै उच्च रुपले बढेको कोरोना भाइरसको संक्रमणका कारण उद्योग क्षेत्रमा काम गर्ने कमदारमा त्रास फैलिएको छ । काम गर्न आउन पनि उनीहरु हिच्किच्याइरहेका छन् । पछिल्लो समय जुन रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ, सोही रुपमा कामदारको आत्मबल पनि कमजोर हुँदै गइरहेको छ। तत्काल कामदारको आत्मबल बढाउन सकिएन भने त्यसले आपुर्तिमै समस्या पर्ने उद्योगी बताउँछन् । कामदारलाई सहज रुपमा काम लगाउन सकिने अवस्था नभएको श्रेष्ठको भनाई छ । कोरोना संक्रमण बढ्दै गइरहेको उद्योग क्षेत्र पूर्ण रुपले सञ्चालन नभएकोले कामदार घटाउनुपर्ने अवस्था आएको महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

देशैभर जस्तो निषेधाज्ञा भएकाले मजदुरलाई आवतजावत गर्न समस्या भएको उनको भनाई छ । कामदारहरु आफैँ पनि बिरामी परेकाले उनीहरमा त्रास फैलिएको उद्योगी तथा व्यवसायी अञ्जन बताउँछन् ।

खाद्यान्न उद्योगहरुलाई पनि समस्या

खाद्यान्न आम मानिसका लागि अपरिहार्य दैनिक उपभोग्य वस्तु हो । सरकारले गत वर्षको कडा लकडाउनमा पनि खाद्यान्न वस्तु उत्पादन गर्न अनुमति दिएको थियो । यसपाली पनि आद्यान्न तथा सर्जिकल सामान उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् । खाद्यान्न उद्योगमा काम गर्ने अधिकांश मजदुर भारतीय छन् । निषेधाज्ञाका कारण अधिकांश कामदार घर गएका छन् । त्यसैले पनि काम गर्न समस्या भइरहेको खाद्यान्न  उद्योगी तथा व्यवसायी गुणनिधि तिवारीले बताए। स्वदेशी उत्पादनले नधान्ने भएकाले धान भारतबाट ल्याएर उद्योग सञ्चालन गरिरहेको उनको भनाई छ ।

सरकारी निकाय र उद्योगबीच समन्वय नहुँदा थप समस्या

सरकारले गरेको निषेधाज्ञाका कारण उद्योग व्यवसाय क्षेत्रमा काम गर्ने कर्मचारीले सास्ती भोग्नु परेको छ । सवारी साधनमा आवतजावत गर्न समस्या भइरहेको छ । यस्तो संकटका बेला जोखिम मोलेरै खाद्यान्न उत्पादन गरेर बजारमा लैजाँदा हरेक चोक चोकका गाडी चेकिङ हुन्छन् । खाद्यान्न पुर्‍याएर रित्तो फर्किने गाडीहरु समातिन्छन् । कयौँ पटक छुटाउने प्रयास गर्दा पनि रेस्पोन्स नहुने गरेको व्यवसायीको गुनासो छ।

उद्योग क्षेत्रमै कर्मचारी राख्न असम्भव

जुन जुन उद्योगहरुमा बासस्थानको व्यवस्था पहिले देखि नै गरिएको छ, त्यस्ता उद्योगहरुमा नै कर्मचारी राखेर काम गर्न संभव हुने उद्योगी अन्जन बताउँछन् । अन्यथा सबै उद्योगहरुले उद्योगमै कर्मचारी राखेर काम गराउन सक्ने अवस्था नभएको उनको भनाई छ । ठूला ठूला उद्योगहरुका हजारौँ कर्मचारी काम गरिरहेका हुन्छन् । त्यतिका कर्मचारीहरुलाई उद्योगमै राखेर काम गर्न समस्या हुने उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?