कमला अर्याल-
कोरोना भाइरस ‘कोभिड–१९’काबीच पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत) सम्ममा अधिकांश बैंकहरुले खराब कर्जाको अनुपात घटाएका छन् ।
कारण खराब कर्जाको अनुपात बढ्ने आँकलन गरिए पनि बैंकहरुले ऋण असुलीमा राम्रो प्रगति गरेका कारण खराब कर्जाको अनुपात घट्न गएको हो । कोरोनाका कारण गत वर्ष ४/५ महिना बैंकहरुले खुलेर काम गर्न पाएनन् । बैंकिङ्ग प्रणालीमा २ खर्ब भन्दा बढी तरलता (लगानी योग्य रकम) थुप्रिएर बस्यो । बैंकहरुले लगानी गर्न पाएनन् । तर गत साउन/भदौतिरबाट बैंकहरुले विस्तारै लगानी गर्न थालेका थिए ।
त्यसबेला देखि गत चैत मसान्तसम्म बैंकहरुको लगानी आक्रमक रुपमै विस्तार भएको थियो । सम्पूर्ण व्यापार व्यवसाय संचालन भएकाले बैंकले ऋणीबाट ऋणको साँवा तथा किस्ता असुल गर्न पनि समस्या भएन । त्यसैले बैंकले खराब कर्जाको अनुपात घटाउन सफल भए ।
‘व्यापार व्यवसाय राम्रोसँग चलेपछि असुली पनि त्यहि स्पीडमा गयो, त्यसैले एनपीएलको अनुपात घटाउन सकियो ।’ बैंकर्स संघका उपाध्यक्ष (कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत)अनिलकुमार उपाध्यायले भने । गत वर्ष बैंकिङ प्रणालीमा तरलताको पनि अभाव भएन । बैंकहरुले प्रशस्त लगानी गर्न पाए । त्यसैले बैंहरुले ऋण असुलीमा राम्रो प्रगति गरेका कारण खराब कर्जाको अनुपात घटेको हो ।
यदि व्यापार व्यवसाय राम्रोसँग संचालन हुन नसकेको भए बैंकहरुलाई ऋणको साँवा ब्याज असुलीमा समस्या पर्ने थियो । साँवा ब्याज असुलीमा समस्या परेको भए बैंकको खराब कर्जाको अनुपात बढेर जान्थ्यो । तर संकटकाबीच पनि बैंकहरुले राम्रो प्रगति गर्न सके । गत वर्ष लकडाउन हुँदा बैंकको साँवा तथा किस्ता तिर्न ऋणीले ९६ अर्ब रुपैयाँ बराबर कर्जा पुनरसंरचना तथा पुनरतालिकिकरण गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
कुन बैंकको खराब कर्जा कति ?
चालू आर्थिक वर्षको चैत मसान्तसम्म १९ वटा वाणिज्य बैंकले खराब कर्जाको अनुपात घटाएका छन भने ८ वटा बैंकहरुको खराब कर्जाको अनुपात बढेको छ । त्यसैगरी, सेन्चुरी,सनराइज, सिटिजन्स,ग्लोबल आएमइ,कुमारी,माछापुच्छ्रे,स्टान्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकहरुको भने खराब कर्जा बढेको छ । हेरौँ कुन बैंकको खराब कर्जा कति घट्यो । सबै बैंकहरुको खराब कर्जा प्रतिशतमा राखिएको छ ।
बैंक चालू आव गत आव
राष्ट्रिय वाणिज्य बैंक ३.६२ ३.६५
कृषि विकास बैंक ३.०८ ३.६५
नेपाल इन्भेष्टमेन्ट बैंक २.३२ २.६७
नेपाल बैंक २.२९ २.६४
एनसीसी बैंक २.०५ २.७५
प्रभु बैंक २.४८ २.९५
एनएमबी बैंक १.९७ २.४८
नेपाल बंगलादेश बैंक १.९१ २.७६
मेगा बैंक १.३१ १.३२
सिभिल बैंक १.१३ २.९६
बैंक अफ काठमाडौं १.०१ १.५३
सिद्धार्थ बैंक ०.८८ २.२४
प्राइम बैंक ०.८६ ०.९७
हिमालय बैंक ०.८१ १.११
लक्ष्मी बैंक ०.७१ १.७८
नबिल बैंक ०.४८ ०.६३
एनआइसी एसिया बैंक ०.४७ ०.७५
सानिमा बैंक ०.२१ ०.३६
एभरेष्ट बैंक ०.१२ ०.२०
के हो खराब कर्जा ?
बैंक वित्तीय संस्थाले निश्चित समयका लागि कुनै ऋणीलाई दिइएको कर्जा तोकिएको समयमा उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ (एनपिएल) लोन पनि भनिन्छ ।
राष्ट्र बैंकले कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै,१ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई सुक्ष्म निगरानी (वाच लिष्ट)मा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यस्तै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको सावा ब्याज भुक्तानी नगरेमा त्यस्तो खालको कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरिएको छ । यस्तो कर्जाको प्रोभिजन ५० प्रतिशत राखिएको छ । त्यसैगरी,१ वर्षभन्दा बढी ऋणको साँवा ब्याज भुक्तानी हुन सकेन भने त्यस्तो ऋणको शत प्रतिशत प्रोभिजने गरेर राष्ट्र बैंकले त्यस्तो कर्जालाई खराब कर्जामा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया